२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बनाएको सिलौटो बिक्न छाड्यो, घर चलाउने कसरी ?

‘सिलौटो बनाएरै दिन बित्थ्यो, ग्राहकको माग थेग्न सकिदैँनथ्यो। परिवारका पाखुरा चल्ने सबै  सदस्य यही काममा लागिरहन्थ्यौं दिनको ५ हजार रुपैयाँसम्म कमाइ हुन्थ्यो’ २२ वर्ष अघिका सुनौला दिनहरू सम्झदै मञ्जु थवही भन्छिन्। आजभोलि त उनका लागि ती दिनहरू जस्ता भएका छन्। ‘कमाइ ठण्डाराम जस्तै भएको छ। पेशामा टिक्न समेत धौ–धौ परेको छ। अहिलेको अवस्थाबारे उनी भन्छिन्, ‘तीन दिन भयो बोहनीसमेत भएको छैन। बनाएर राखेको यहि १० वटा सिलौटा पनि कहिले बिक्ने हो थाहा छैन।’  

वीरगञ्ज बजारदेखि सीमा पारी रक्सौल जाने मेन रोडको सडक छेउमा देख्न ढुङ्गाबाट बनाइएका विभिन्न आकारका सिलौटाहरू देख्न सकिन्छ। बुट्टा भरिएका सिलौटाहरू हेर्दा जति आकर्षक देखिन्छन्, किनबेच भने नगन्य जस्तै छ। ‘पहिलेपहिले घरघरमा सिलौटा लिएर जाँदा घरधनीले पैसा, चामल, दाल पनि दिन्थे। एक दिनको कमाईले दुई तीन दिन खान पुग्थ्यो’, सुनिता देवी भन्छिन्, ‘अहिले त त्यो परम्परा पनि हराइसक्यो। यहाँबाट पनि सिलौटो किन्ने मान्छ पाउन पनि मुस्किल छ।’  

वीरगञ्ज महानगरपालिका छपकैया–२ को मेनरोडको पश्चिम पट्टि सडक छेउमा रहेका ४ ओटा छाप्रामा लोपोन्मुख थवही जातिले सिलौटो बनाउने र बिक्री गर्ने गर्छन्। यो उनीहरूको पुख्र्याैली पेशा हो। बुबा, हजुरबुबाहरूको पालादेखि नै गर्दै आएको यो पेशा जोगाउन उनीहरूलाई गाह्रो परेको छ।  

मसला पिस्ने मेसिन र मिक्स्चरको प्रयोग बढेसँगै थवही जातिले ढुङ्गाबाट तयार गर्दै आएका सिलौटा बिक्न छोडेको छ। मञ्जु थवही भन्छन्, ‘पहिला घर घरमा सिलौटामा मसला पिस्थे, अहिले बिजुलीबाट चल्ने मिक्स्चर र मेशिन आइसक्यो। हाम्रो पेशा र व्यापार चौपट भयो ।’व्यापार चल्न कम भएपछि अहिले दुई छाक टार्न समेत समस्या हुन थालेको उनको भनाइ छ ।  

वीरगञ्जको छपकैयाछाप्रामा ५० जना थवहीको बसोबास छ। देशै भर रहेका थवही जातिको पुख्र्यौली पेशा नै ढुङ्गा काटेर सिलौटा, जाँतो र ओखल बनाउने हो। जाँतो र ओखल त अब लोप हुने तहमा पुगेका छन् भने सिलौटोको प्रयोग पनि घट्दै गएको छ। त्यसको मारमा वीरगञ्जका मात्र होइन, देशभरका नै थवही परेका छन्।  

केही वर्ष अघिसम्म जो कोहीको घरमा मिक्स्चर र बजारमा मसला पिस्ने मेसिनको सहज उपलब्धता थिएन। शुभ हुने धार्मिक विश्वासका कारण हिन्दुहरूको घरमा ढुङ्गाबाट बनाइएका सामग्रीहरूको प्रयोग हुन्थ्यो। लक्ष्मी पुजाको भोलि पल्ट सिलौटा ओखल जाँतोलाई लक्ष्मीको प्रतिकको रुपमा चामलको पिठोले हातको छाप बनाइ पुजा गरिन्थ्यो। यसरी परम्परागत रुपमा प्रयोग हुँदै आएका सिलौटो, लोहोरो, जाँतोको प्रयोग अनिवार्य जस्तै थियो। तर, ती कुरा अब कथा हुने अवस्थामा पुगेका छन्।  

वीरगञ्ज बिर्ताकी ललिता देवी सिलौटामा मसला पिस्न झन्झटिलो हुने र समय पनि बढि लाग्ने भएर बजारबाट मिक्स्चर किनेर ल्याएको बताउँछिन्। ‘विवाह गरेर आउँदा २० वर्ष अघि हातले मसला पिस्थ्यौ। त्यो बेला मेसिन पाउन गाह्रो भएपनि धेरै महँगो थियो। अहिले त दुई हजार रुपैयाँ जतिमा मेसिन पाइन्छ, जति खेर जे मसला पनि तत्काल बनाउन सकिन्छ, अनि किन चाहियो, सिलौटो र लोहोरो? उनी प्रश्न गर्छिन्। नगवाकी सरिता चौधरी बजारमा पिसेर नै थरिथरिका मसला आइसकेकाले सिलौटाको प्रयोग कम भएको बताउँछिन्। चौधरी कहिलेकाहीँ अचार बनाउँदा मात्र सिलौटोको प्रयोग गर्छिन्। उनी भन्छिन्, ‘सिलौटोबाट आउने मसलाको स्वाद आधुनिक मेसिनमा पाइँदैन। तर, रेडिमेड चिज हुँदाहुँदै सिलौटोतिर जाने मुडै कम हुन्छ।’  

मिक्स्चरको तुलनामा सिलौटा सस्तो पर्ने गर्छ। एउटा सिलौटाको बजार मुल्य अहिले ३ सय देिख १ हजार रुपैयाँसम्म रहेको छ। वीरगञ्जका व्यापारी मनोज सर्राफका अनुसार मसाला पिस्ने मिक्स्चरको दाम २२ सय देखि ६ हजारसम्म पर्छ। आवश्यकता अनुसार मिक्स्चर किन्न ग्राहक आउने भएपनि चाडपर्वको बेला धेरै बिक्री हुने गरेको सर्राफको भनाइ छ। मसला पिस्ने मेसिनका कारण धुलो मसला पनि बजारमा सहज रुपमा पाउन सकिन्छ। त्यसले गर्दा पनि सिलौटोको महत्व घट्दै गएको छ।  

भारतबाट ल्याइन्छ सिलौटो बनाउने ढुङ्गा

सिलौटा बनाउन चट्टानी ढुङ्गा चाहिन्छ। जसमा बालुवा निस्कने हुँदैन। यस्ता खालका ढुङ्गा नेपालमा पाउन सहज छैन। त्यसैले भारतको इलाहाबादको मिर्जापुर विन्ध्याचलबाट  खरिद गरेर ल्याएका ढुङ्गाको बढी प्रयोग हुन्छ।  

भारतबाट ढुङ्गा नेपालमा ल्याउँदा भन्सार कर लाग्छ। मञ्जुका थवहीका अनुसार एउटा १६ वाइ ३६ इन्चको ढुङ्गालाई ४ सय भारतीय रुपैयाँ पर्न जान्छ। ११ हजार नेपालीको ढुङ्गा ल्याए वापत ३ हजार रुपैया भन्सार कर तिर्नुपर्छ। त्यसपछि बनाइएका सामग्री बिक्री भएमा ५ हजार रुपैयाँ जति फाइदा हुन्छ। धेरै फाइदा नभएपनि सरकारी सहयोगले भरथेक बिक्री नहुने समस्या एकातिर छ भने अर्कातिर महङ्गीले गर्दा पनि पेशा व्यवसायलाई असर गरेको छ। ढुङ्गाको माग बढ्दै गएपछि सिलौटाका भाउपनि बढेको छ। त्यसले पनि व्यापारलाई असर गरेको उनीहरूको भनाइ छ।  

थवही लोपन्मुख जाति

सुनिता देवी भन्छिन, ‘लोपोन्मुख जाति भएकाले नागरिकताको आधारमा नेपाल सरकारले हामी सबैलाई महिनाको ४ हजार रुपैया दिने गरेको छ, यहि पैसा नै अहिले हामी सबैको सहारा बनेको छ।’ जेनतेन चलपनिसरकारबाट पाउने ४ हजार रुपैयाँ भत्ताले नयाँ पुस्ताको अवस्था नफेरिने उनीहरुको भनाइ छ।  

विकल्प खोज्दै 

अब ढुङ्गाको पेशाले मात्र धान्न सक्दैन भन्ने निष्कर्षले गर्दा थवहीहरू विकल्प खोज्न थालेका छन्। संगिता देवीले छोरालाई मोटरसाइकल मर्मतको काम सिकाउँदैछिन।  ‘छोरालाई अर्काे पेशामा नलगाउने हो भने कुनै दिन भोकै पर्ने अवस्था आउन सक्छ, उनी भन्छिन्, ‘अब परम्परा भनेर चल्नेवाला छैन।’ संगीताले जस्तै अरुले पनि छोराछोरीलाई वैकल्पिक पेशातिर अगाडि बढाउन चाहन्छन्। नयाँ पुस्ता अर्काे पेशामा जान सक्ने भएपनि विगतदेखि काम गर्दै आएकाहरू भने अरु पेशामा जान सहज छैन।’  

मञ्जु थवही भन्छिन्, ‘हामीहरूलाई खेती गृहस्थी केही आउँदैन। अब जाने कहाँ? कोदालो चलाउन भन्यो भने हामीले एक कदम चलाउन सक्दैनौ तर ढुङ्गा कुट्न दिनभरी छेनी हथौडी चलाउन सक्छौ।  

थवही समुदायको सरकारप्रति उनीहरूको तीनवटा अपेक्षा छन्। पहिलो पेशा बचाउन सहयोग गर्ला कि भन्ने, दोस्रो रोजगारीको व्यवस्था गरिदेला कि भन्ने र तेस्रो बस्ती निर्माणमा सहयोग गर्ला कि भन्ने। निर्मला भन्छिन्, ‘सरकारले विशेष कार्यक्रम ल्याएन भने सिलौटो बनाउने पेशा पनि कथा बन्न सक्छ।’  

वडा नं. २ का अध्यक्ष रेयाज आलमका अनुसार सरकारबाट पाउने भत्ताका लागि वडाबाट हुने सिफारिसका लागि आफूहरूले सक्दो सहयोग गरेको बताए। उनले लोपोन्मुख जातिका लागी घर निर्माण तथा अन्य सेवाक लागि पनि माग अनुसार वडाबाट सक्दो सहयोग गर्ने बताए।

यता वीरगञ्ज महानरका समाजिक शाखा प्रमुख राजिव गिरीका अनुसार लोपोन्मुख तथा अल्पसङ्ख्यक जातिका लागि विभिन्न किसिमका सिपमुलक तालिम प्रत्येक वडामा हुँदै आएको छ। बस्तिको समस्याको बारेमा अहिलेसम्म महानगरलाई कुनै जानकारी नआएकाले चाँडै नै थवही बस्तिको अवलोकन गरी आयआर्जन बढाउने किसिमको सिपमुलक तालिमको आयोजना गरिने प्रमुख गिरिले बताए। उनले बस्तिका मानिसहरूलाई घर तथा अन्य निर्माण कार्यका लागि वडा तथा नगर प्रमुख समक्ष आफ्नो प्रस्ताव पेश गर्ने जानकारी समेत दिए।  

प्रकाशित: २१ भाद्र २०८० ०६:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App