६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

डेढ दशकपछि नागरिकताको छानबिन

जिल्ला प्रशासन कार्यालय रौतहटले एक जनाको नेपाली नागरिकताको प्रमाणपत्रको छानबिन सुरु गरेको छ। भारतीय नागरिकले नक्कली कागजात बनाएर नेपाली नागरिकताको प्रमाणपत्र लिएको डेढ दशकभन्दा बढी समयपछि नागरिकताको छानबिन सुरु गरेको हो।

रौतहटको वृन्दावन नगरपालिका ६ सखुअवा धमौराका मोहम्मद तैयबको नेपाली नागरिकताको छानबिन सुरु भएको छ ।२०६४ मा मोहम्मद तैयबले झुठो विवरण पेश गरी गाउँमा खटिएको नागरिकता टोलीबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए । टोली प्रमुख नवराज चापागाईँले तैयबलाई नेपाली नागरिकता दिएका थिए।

झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको भनिएका तैयब भारतीय नागरिक भएको बुझिएको छ । तैयब भारतको बिहार प्रान्तको पूर्वी चम्पारण जिल्लाको ग्राम जुवाफर वार्ड नम्बर १ को स्थायी बासिन्दा भएको र तैयबसित भारतीय नागरिकता, राशन कार्ड, भोटिङ कार्डसमेत रहेको बुझिएको छ ।  तैयबले दुवै देशको सुविधा उपभोग गर्दै आएको स्थानीयवासीको भनाइ छ।तैयब भारतीय नागरिक भएको र झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको भन्दै स्थानीय मोबारक मिया कबाडीले जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरी दिएपछि तैयबको नेपाली नागरिकताको प्रमाणपत्रको छानबिन अगाडि बढेको हो। जिल्ला प्रशासन कार्यालय स्रोतका अनुसार तैयबको नागरिकताबारे छानबिन अगाडि बढाइएको छ।

२०६४ मा नागरिकता वितरण टोली खटेको समयमा विभिन्न गाउँबाट झुठो विवरण पेश गरी धेरै भारतीयले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको आशंकाबिच तैयबको नागरिकता प्रमाणपत्रको छानबिन अगाडि बढेको हो । तैयबसँगै परिवारका अन्य सदस्यले पनि झुठो विवरणकै आधारमा नागरिकता प्रमाणपत्र प्राप्त गरेको आशंका गरिएको छ। 

प्रकाशित: १८ भाद्र २०८० १५:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App