१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

हेलो सरकारमा गुनासो गरेको २४ घण्टा भित्रैमा सम्बोधन

हेलो सरकारमा आएको गुनासो २४ घण्टाभित्रमै सम्बोधन हुन थालेको छ।

आइतवारबाट सिंहदरवारमा २४ घण्टामा ३ सिफ्टमा सञ्चालनमा आएको हेलो सरकारमा जनताले गुनासो गरेको २४ घण्टाभित्रमा समस्याको सम्बोधन हुन थालेको हो। कार्यक्रमको आइतवार शुभारम्भ गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले दोलखा जिल्लाको बिगु गाउँपालिकाको वडा नं.–४ सिङ्गटीमा मानव बस्तीभन्दा माथि रहेको ठूलो ढुङ्गोका कारण ३२ घरधुरी जोखिममा परेको जनगुनासो सुन्दै उक्त गुनासो सम्बोधनका लागि रक्षा सचिव किरणराज पौडेललाई निर्देशन दिए थिए।

प्रधानमन्त्रीको निर्देशनपछि आइतवार बेलुका नै नेपाली सेनाको टोली सिङ्गटीमा पुगेर सोमवार बिहानैदेखि कार्यप्रारम्भ गरेको रक्षासचिव पौडेलले जानकारी दिए।

पौडेलका अनुसार बस्तीमाथि रहेको ढुङ्गो बिस्फोट गरी हटाउने कार्य सुरू गरिएको र उक्त कार्यक्रम सम्पन्न गर्न एक हप्ता जति समय लाग्नेछ। पौडेलले भने, ‘‘प्रधानमन्त्रीको निर्देशनलगत्तै नेपाली सेनाको टोली सम्बन्धित स्थानमा पुगेर काम सुरू गरिसकेको छ। ढुङ्गो निकै ठूलो छ, एकैपटक बिस्फोट गर्दा ढुङ्गाले बस्तीमा असर पर्न सक्छ। त्यसैले बस्तीलाई असर नपर्नेगरि ढुङ्गो हटाउने कार्य भइरहेको छ।’’

आइतवार हेलो सरकारको २४ सै घण्टा सेवा शुभारम्भ गर्ने कार्यक्रममा दोलखाका सेवाग्राहीले बस्तीमाथि पहिरो आई ठूलो ढुङ्गो अड्किएर बसेको र सो ढुङ्गाको कारण ३२ घरधुरी विस्थापित हुनुका साथै सरकारी संरचनाहरूसमेत जोखिममा रहेको गुनासो टिपाएका थिए।

प्रकाशित: १८ भाद्र २०८० ११:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App