२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

कोसीमा डिएसपीसहित ८६ सशस्त्र प्रहरी कारबाहीमा

फाइल तस्वीर

आचरणविपरीत काम गरेकोमा पछिल्लो एक वर्षयता कोसी प्रदेशमा ८६ जना सशस्त्र प्रहरी कारबाहीमा परेका छन्। आचारणविपरीत कार्य गर्ने दुई डिएसपी, दुईजना प्रहरी निरीक्षक र चारजना सईलाई विभागीय कारबाही चलिरहेको कोसी प्रदेशस्तरीय सशस्त्र प्रहरी बल बराह बाहिनी पकली सुनसरीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

डिआइजी अञ्जनीकुमार पोखरेलले कारबाही स्वरूप ४४ जनालाई नसियत, १६ जनाको ग्रेड रोक्का, सातजनाको बढुवा रोक्का, छ जना निलम्बन र पाँचजनालाई अब आइन्दा गल्ती नगर्नेगरी चेतावनी दिइएको बताए।

अढाई महिनाअघि सशस्त्र प्रहरी बल बराह बाहिनीबाट निरीक्षणका लागि सादा पोसाकमा खटिएको टोलीले झापाको मेचीनगरस्थित नेपाल–भारत सीमा नकलबन्दामा ड्युटीमा खटिएका सशस्त्रमाथि कुटपिट गर्ने एक प्रहरी निरीक्षक र अरू दुईजनालाई निलम्बन गरिएको छ। केही समयअघि सुनसरीकै कप्तानगञ्ज भारतबाट अवैध सामान भित्रिदा चाँसो नदिएकोमा डिएसपीसहित सम्पूर्ण सशस्त्र प्रहरीको यूनिट नै परिवर्तन गरिएको डिआइजी पोखरेलले बताए।

‘कोसी प्रदेशमा अहिले सशस्त्र प्रहरीले आफ्नो पेशागत मर्यादाविपरीत कुनै कारबाही गरेमा कुनै कम्प्रमाइज हुँदैन, ठाउँको ठाउँ कारबाही हुन्छ,’ उनले भने।

पछिल्लो समय सीमा क्षेत्रमा कार्यरत सशस्त्र प्रहरीमाथि वरिष्ठ अधिकृत खटाएर निगरानी गरिएको डिआइजी पोखरेलले बताए। ‘प्रहरीको आचारण सुधार गर्न पुरै अभियान थालिएको छ,’ उनले भने, ‘अहिले त कोही कसैले सामान्य गल्ती गर्दा पनि कोसी प्रदेशमा सुधारात्मक तालिम पनि अनिवार्य गर्न थालेका छौं।’

अहिलेसम्म सुधारात्मक तालिममा चार सयजना सहभागी भइसकेका छन्।

यसैबीच, सशस्त्र प्रहरीले कोसी प्रदेशमा चालु आर्थिक वर्ष डेढ महिनाको अवधिमा विपद्मा परेका ७० जनाको उद्धार गरिसकेको छ। आर्थिक वर्ष २०७९/८० मा छ सय २२ वटा घटना भएकोमा एक हजार पाँच सय ३८ जनालाई सशस्त्र प्रहरीले उद्धार गरेको थियो।

प्रकाशित: १८ भाद्र २०८० ०१:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App