९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

सप्तरीमा सर्पको बिगबिगी

राजविराज – सप्तरीमा हालै वर्षासँगै आएको बाढीका कारण जिल्लाका विभिन्न भागमा बाढी पसेपछि अहिले सर्पको बिगबिगी बढेको छ। 

पछिल्लो पटक सप्तरीको विभिन्न नगरपालिका र गाउँपालिकामा सयौँ व्यक्तिलाई सर्पले टोकेको बताइएको छ । खोलानाला र नदीमा पानी पसेपछि आफ्नो बासस्थान गुमाएर बगेर आएका सर्पको बिगबिगी बढेको जिल्लावासीको भनाइ छ। 

खासगरी बाढी प्रभावित जिल्लाको रम्पुरा मल्हनिया, सकरपुरा, मैनाकडेरी, तिलाठीलगायतका ठाउँमा सर्पको बिगबिगी बढेको हनुमानर कंकालनी नगरपालिका–१४ बस्ने चन्दन यादवले बताउनुभयो । सो क्षेत्रलगायत जिल्लाको अधिकांश ठाउँमा पनि सर्पले टोक्ने गरेकाले अस्पतालमा पनि दैनिक सर्पदंशकै बिरामी उपचारका लागि आउने गरेको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालले जनाएको छ। 

जिल्लाको एक मात्र सरकारी अस्पतालका रुपमा रहेको अञ्चल अस्पतालमा दैनिक २० देखि ३० जना सर्पदंशको बिरामी आउने गरेका छन् । लगातारको वर्षाका कारण सर्पको बिगबिगी बढेपछि अहिले पछिल्लो तीन–चार दिनदेखि सर्पले टोकेका बिरामी दिनहुँ अस्पतालमा भर्ना हुने गरेकाले श्ययाको समेत अभाव भएको अस्पताल प्रशासनले जनाएको छ। 

घरसहित सर्वस्व गुमाएपछि छाक टार्न समस्या परेको परिस्थितिमा सर्पबाट सताइएपछि बिरामी बोकेर अस्पतालसम्म पुर्‍याउन पनि कठिन भएको बाढीपीडितले बताएका छन् । प्रायजसो फुसको घरको धुरीमा बस्ने करेत सर्पको बिगबिगी बढेपछि स्थानीयवासी भयभित हुनाका साथै रात काट्न पनि कठिन भएको तिलाठी निवासी निरजकुमार झा (मुक्ति)ले बताए। अहिले जिल्लाको विभिन्न ठाउँमा गर्मी बढेपछि तराई मधेसमा देखिने गोमन, हरहारा, ढोरियालगायतका विषालु सर्प जताततै देखा पर्न थालेको राजविराज–४ का सञ्जय चौधरीले बताए। 

जिल्ला जनस्वास्थ्य कार्यालयले सर्पको टोकाइमा प्रयोग हुने एन्टी स्नेक भेनम पर्याप्त रहेको जानाएको छ । रासस 

प्रकाशित: ७ भाद्र २०७४ ०६:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App