२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आस्थाकै भरमा अडेको बडीमालिका

बडीमालिका क्षेत्र। तस्बिर: नागरिक

बडीमालिका धार्मीक आस्थाको धरोहर, प्राकृतिक सुन्दरताले भरिएको धर्तीको स्वर्ग। लाग्छ प्रकृतिले वरदान दिएको अनुपम उपहार हो, बडीमालिका क्षेत्र। ४ हजार २ सय मिटर उचाइमा अवस्थीत विशाल फाँटहरु, आँखाले समेत नियाल्न नसकिने खेत जस्तै देखिने दृश्य भएका गराहरु हेर्दा कसैले हातले बनाए झै लाग्छन्।

शब्दले जति सुन्दरताको ब्याख्या गरेपनि अपूर्ण नै हुन्छ बडीमालिका। जति हेरेपनि आँखा थाक्दैनन्, जति रमाउँदा पनि मन अघाउदैन्। जति समय खर्चिएर घुमेपनि २२ पाटन क्षेत्र घुमाइ अधुरै हुन्छ। पुग्नेहरुले सुदूरको स्वर्गकै उपमा दिने गरेका छन्। प्रकृति जति प्यारो र आकर्षण मानव मनका लागि अरु केही होइन रहेछ, बडीमालिका क्षेत्र पुगेपछि बल्ल थाह हुन्छ। त्यहाँ पुगेपछि सबैजसोले यही अनुभूत गर्छन्। र भन्छन्।

तर विडम्बना बडीमालिका क्षेत्र पुग्न, बस्न र फर्किन अति कठिन र कष्टकर छ। आस्था बोकेर जानेहरु दुख कष्ट पोख्दैनन्। थकाइ लुकाउन खोज्छन्। तर प्रकृतिकै आनन्द लिन पुग्नेहरु असहज यात्रामै हैरान हुन्छन् र दुख कष्ट सहन नसकि अर्को पटक नफर्किने निधो गरि घर फिर्ता हुन्छन्। यी सबै हुनुको एउटै कारण हो, बडीमालिका क्षेत्रको यात्रामा न सुविधा छ, न सहजता नै। न त कुनै संरचना नै बनेको छ।

ठाडो उकालो र भीरको बाटो। लामो श्वास फेर्न मिल्ने अवस्था नै हुन्न, त्रिवेणी पाटन क्षेत्र नपुगेसम्म। बाजुरा सदरमुकाम मार्तडीबाट करिब २ दिनको पैदल पछि मात्रै त्रिवेणी पाटन क्षेत्र पुगिन्छ। करिब ३२ किलोमिटर बढी उकालो बाटोमा न आराम गर्न मिल्ने चौतारा छन्, न बास स्थानका लागि धर्मशाला नै। न त कुनै अतिथी बासका लागि संरचना नै निर्माण भएका छन्। शौचालय, खानेपानी, होटल बास त धेरै टाढाको कुरा।

बडीमालिका क्षेत्र पुग्दासम्म र त्यहाँबाट नाटेश्वरी झर्दासम्म कुनै स्थानमा खानेपानीको प्रवन्ध गरिएको छैन्। खोला भेटिएमा पानी खान मिल्छ, नभए उकालोको सास्ती र कष्टकर यात्रामा पानीको प्यास समेत मेटाउन पाइदैन्। न विरामी पर्दा भरपर्दो उपचार विधीको व्यवस्था नै छ। न ज्यान सुरक्षाका लागि अरु व्यवस्था नै।  

प्रकृतिको आनन्दले त्रिवेणी पाटनमा केही समय वा घण्टा दुख बिर्सन सहज भएपनि फेरि उकालो चढ्दा, पालमुनी रात काट्दा, हेरि नसक्नु चट्टानदार ओरालोको यात्रा गर्दा फेरि कष्टले थप दुखि तुल्याइ हाल्छ।  

फर्किने बेला तल झर्ने बाटो हात खुट्टा सँगै राखेर हिँड्नु पर्छ, घाँसमा अल्झिएर अर्थात, हिलोमा चिप्लीए ज्यानको टुक्रा समेत रहने अवस्था छैन्। कतिपयले देवीको दर्शनमा मिलेको चण्डीपण्डीसहितको खाना बासका लागि बोकेको झोला समेत हराएर आउनु पर्ने बाध्यता छ। यी सबै असहजता, असुविधा र अफ्ठ्यरो हेर्दा लाग्छ बडीमालिका आस्थाले मात्रै अडेको छ।

बडीमालिकामा प्राचीन कालदेखि नै हो जनैपूर्णिमा र गंगादशहराको दिन मेला लाग्छ। यही मितिबाट पुजा पाठ सुरु गरिएको भन्ने एकीन छैन्। तर बाजुराका स्थानीय सुमेशर उपाध्यायको पालादेखि पुजापाठ हुदै आएको आधिकारिक दस्तावेज छ। जो हालका पुजारी नेत्रराज उपाध्याय खलकको १४ पुस्ता अघिका पुर्खा हुन्।  

श्री साखे संवत १३४३ र १३४८ मा बडीमालिका मन्दिरको मत्गल्य गोत्रका ब्राह्मण बडीमालिकाका मुल पुजारी हुने भन्ने प्रमाण छ। यो मिति हेर्दा पनि बडीमालिका क्षेत्रमा परापूर्वकाल देखि नै पुजापाठ हुदै आएको भन्ने पुष्टी हुन्छ।  

उसोत वि.स.१८८३ मा राजा रणबहादुर शाहद्धारा लाल मोहर लगाएरै राष्ट्रिय धार्मीक आस्थाको क्षेत्रका रुपमा प्रमाणित गरेको प्रमाण पुजारी परिवारसँग छ। पुर्खाको अर्तिलाई विश्वास मान्ने हो भने लाल मोहर लगाइसकेपछि राजा रणबहादुर शाह स्वयमले बडीमालिकाको दर्शन गरेको भन्ने पनि भनाइ छ।

यी र यस्तै प्रमाण र भनाइ हेर्दा बडीमालिका क्षेत्र आज मात्र होइन सदियौंदेखि महत्व र महिमाको क्षेत्र हो, भन्ने प्रष्ट हुन्छ। राजा महेन्द्र, वीरेन्द्रदेखि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले समेत अवलोकन र पुजा पाठ गरेको क्षेत्र हो। तर यति लामो समय राज्यका कार्यकारीहरुकै उपस्थिति हुनु र उपलब्धी शुन्य देखिनु दुखद विषय छ।  

मत्गल्य गोत्रका ब्राह्मण बडीमालिकाका मुल पुजारीले नै पुजा लगाउने हक हुने प्रमाण उल्लेख छ। विशेष कुनै व्यक्ति वा परिवारलाई नै तोकेर पुजा अधिकार दिइएको छैन्। बाजुरा त्रिवेणी ९ पैमा निवासीले पाउने गरि उल्लेख छ। सुन्नमा आए अनुसार अमर सिंह थापा र भीमसेन थापाले समेत दर्शन गरेको भन्ने पुर्खाहरुको सूचना भएपनि लिखित भने छैन्।  

बडीमालिका क्षेत्रको प्रवद्र्धन र विकास गर्न सके यहाँका स्थानीयले धुप बचेर नै जीवन गुजारा गर्न सक्ने अवस्था छ। तर बडीमालिका क्षेत्रलाई आस्थाको केन्द्र मात्र नभई आकर्षणको केन्द्र नबनाएसम्म न त दर्शनार्थी बढ्नेछन्, न त कुनै थप आम्दानीको अवस्था सिर्जना हुने देखिन्छ।

सुन्दरताले स्वर्ग जस्तै लाग्ने बडीमालिका संरचना, सुविधा र असहजताले कठिनपूर्ण यात्राको गन्तव्य हो। बाटोको असहजता, बसाइको व्यवस्थापन नहुँनु र राज्यको बेवास्ता हेर्दा बडीमालिका सुन्दरताले भन्दा आस्थाले मात्रै अडेको छ। बालकदेखि वृद्धाहरु समेत नयाँ उर्जा र साहस सहीत बडीमालिका यात्रा गरिरहेकै छन्।  

भदौ १३ गते यो वर्षको पुजा लाग्यो। जनैपूर्णिमाको दिन यात्रुहरु फर्किएर घर पुगेका छन्। बडीमालिका क्षेत्रको यो पटकको यात्रा मौसमका कारण निकै सहज र रमाइलो भएपनि दुई जनाले ज्यान गुमाउनु परेको छ। लेक लागेर १ जना र भीर बाट खसेर एक जना गरि २ जनाको मृत्यु भएको छ।  

राष्ट्रिय सरोकारको क्षेत्रमा परिवारको बोलवाला

बडीमालिका क्षेत्र राष्ट्रिय सम्पत्ती हो। तर त्यहाँ सीमित व्यक्तिको बोलवाला र पहुँच छ। आएको श्रोत साधानदेखि मेला पर्वमा पुजारी बाहेकको अधिकार देखिदैन्। रहेक वर्षको मेला संकलन हुने दान वापतको रकम र सम्पत्तीको पनि हिसाब नै छैन्।

गंगादशहरामा सेनाको उपल्लो स्थानको व्यक्तिबाटै सरकारका तर्फबाट पुजा पाठ हुन्छ, चण्डीपण्डी चढाइन्छ। तर त्यो पनि पुजारीकै हक लाग्छ र अरुले थाह नै पाउँदैनन्। तर पुजार नेत्रराज पाध्याय भने धेरै रकम नै नउठ्ने गरेको विगतदेखि नै बताउँदै आएका छन्।

अघिल्लो वर्ष हालसम्मकै बढी भक्तजनहरु आएको दाबी पुजारी खलकको थियो। २०७९ मा नगद रकम ४ लाख ८२ हजार संकलन भएको थियो। त्यसमा ९ जना ब्राह्मण, भरिया, त्यो अवधीको खानाबास त्यसैमा सकिएको दाबी थियो। यो पटक पनि विगतको तुलनामा धेरै व्यक्तिहरु बडीमालिका यात्रामा गएका छन्। बडीमालिकाको सम्पत्ती बारे बाहिर भने जस्तो र प्रचार गरिएजस्तो नभएको पुजारी खललको दाबी छ।

डोटी गौंडाबाट गोर्खाला र जुम्लाबाट चन्द्रनाथको पल्टन आउने गरेको छ। सरकारका तर्फबाट त्यो चिनारीमा पनि पुजारी परिवारकै मातहतमा हुने गरेको छ। सुन चाँदीसहितका गहना पनि चढाइन्छ, सदियौंदेखि त्यसको कुनै हिसाब नै नराखिएको सर्वसाधारणको आरोप छ। पुजारी परिवार भने आफूहरु नै राज्यको अपेक्षामा परेको गुनासो गर्ने गरेका छन्।

यो पटक बाजुराबाट पनि आधिकारिक सरकारी पुजा टोली बडीमालिका यात्रामा गएको छ। बडीमालिका नगरपालिका र जिल्ला प्रशासन कार्यालय बाजुराको टोली नै आधिकारी सरकार पुजासहित यात्रामा छ। सरकारी पुजा गर्नेहरुले सुनको छत्र वा चिनो चढाउने गरेका छन्।  

संरक्षणमा सरकार र सरोकारवाला दुबै मौन  

माधव कुमार नेपाल प्रधानमन्त्री हुँदा बडीमालिकालाई संरक्षित क्षेत्र बनाउने प्रस्ताव नीति तथा कार्यक्रममा आयो, तर कार्यान्वयन भने भएन्। आस्थाकै भरमा मात्र टिकेको बडीमालिका क्षेत्रको संरचना निर्माण र सहजताका लागि निर्णायक छलफल नै भएको छैन्।

सबैभन्दा पुरानो र शक्तिशाली शक्तिपीठ आफै ओझेलमा छ। असुविधा र असहजता बढी छ। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेको प्रमुख गन्तव्यमा समावेश गरेपनि आर्थिक लगानी र संरक्षणमा ठोस पहल नै छैन्। मार्तडी र त्रिवेणी दुईतिरबाट सडक निर्माण सुरुवाद गरिएको छ। त्यो बाहेक अर्को कुनै प्रयास र पहल भएको छैन्, भन्छन्, पुजारी नेत्रराज पाध्याय।  

पुजारी खलकका परिवारबाट पनि खासै चासो र चिन्ता देखिएको छैन्। वार्षिक चाड पर्वको चण्डीपण्डी लिने र त्यहीमा चित्त बुझाउने बाहेक अर्को ठोक पहलमा पुजारीहरु लागेकै छैनन्। त्रिवेणी नगरपालिका ९ पैमामा पुजारी बस्ने घर नजिकै होम कुण्ड निर्माण गरिएको छ। जाने बाटो समेत सरकारकै लगानीमा बनाएको थियो। तर बडीमालिका जाने आउने बाटो भगवान भरोसाको छ।

प्रधानन्यायधिस चोलेन्द्र समशेर जबराले पैमाबाट जाने बाटोको तीन ठाउँमा अतिथी बास व्यक्तिगत लगानीमा बनाएका छन्। त्यो नै हजारौं भक्तजनहरुका लागि प्रर्याप्त छैन्। संरचना र सहजताको अवस्था हेर्दा लाग्छ, बडीमालिका क्षेत्र सबैभन्दा दयालाग्दो छ।

अघिल्लो वर्ष त्रिवेणी नगरपालिकाले महायज्ञ लगायो, बुढीगंगा नगरपालिकाले नगर प्रमुख रामबहादुर बाँनीया, उपप्रमुख माया खड्काले त्रिशुल र घण्ट चढाए। यो नै बाजुराको तर्फबाट गरिएको पहिलो सरकारी गतिधिवी हो। यो पटक बडीमालिका नगरपालिकाले सयुक्त रुपमा पालिकाले आधिकारीक पुजा गरेको छ। यो बाहेक थप कुनै पक्षबाट सरोकार पनि नभएको गुनासो पुजारीहरुको छ। २०५८ सालमा बडीमालिका क्षेत्र प्रवद्र्धन संस्था गठन गरिएको थियो।

त्यो पनि संस्था ऐन अन्र्तगत सीमित सरोकार राख्ने व्यक्तिको मातहतमा भएकोले हाल सक्रिय देखिदैन्। यी सबै अवस्था हेर्दा संरक्षणमा कुनै पक्ष चिन्तीत छैन्। राज्यको लगानी शुन्य जस्तै छ, सरोकारवालको सक्रिय झनै दयालाग्दो देखिन्छ। कर्णाली सरकारका तर्फबाट बासका लागि संरचना निर्माणको प्रक्रिया थालिएको छ। त्यो पनि बाजुराको क्षेत्रमा कर्णालीको कब्जा गरिएको विषय बनाएर विवाद सुरु भएको छ।

हरेक वर्ष त्रिवेणी पाटन क्षेत्रमा सान्नी त्रिवेणी गाउँपालिकाले अस्थायी शौचालय र मन्दिरका स साना संरचना बनाउने गरेको छ। त्यो बाहेक अर्को सुरुवाद छैन्। बडीमालिका नगरपालिकाले मार्तडी क्षेत्रबाट सोतासम्म ट्याक खुला गरेको छ। त्रिवेणी नगरपालिकाले पनि पर्यटन बोर्ड मार्फत काम अघि बढाएको छ। केही अवरोध नभए अर्कोवर्षसम्म त्रिवेणी नजिक सडक बाटो पुग्ने अवस्थाले केही सहज हुने देखिन्छ।  

सुन्दरताले भरिएको धर्तीको स्वर्ग

५ महिना हिँउ र ४ महिना कुहिरोले ढाक्ने प्रकृतिको अनुपम उपहार जस्तै लाग्छ बडीमालिका। अछाम, बझाङ्ग, डडेल्धुरा र डोटी तथा कर्णाली प्रदेशका कालीकोट, मुगु लगायतका जिल्लामा यो दृश्य नियाल्न सकिन्छ।  

स्थानीयले यस क्षेत्रको धार्मिक तिर्थ स्थलमा रुपमा चिन्ने गर्दछन्। ४ महिना हिउँले ढाक्ने गर्दछ। वर्षादका अरु महिना भेडा च्याङ्ग्रा, घोडा खच्चड र भैसीहरुलाई चरिचरनमा प्रयोग हुन्छ।  

प्राकृतिक अनुपम सौन्दर्यताले भरिएको शक्ति पीठ बडीमालिका माईको दर्शन गर्नाले मनको इच्छा पुरा हुने विश्वास छ। सो क्षेत्रमा २२ वटा हरियाली फाँटहरु, दुईसय प्रजातीका रँगीचँगी, फूलहरु १ सय बढी जातीका बहुमुल्य जडिबुटिहरु, आश्चार्यजनक पौराणिक स्थहरु, हरियाफाँटहरुको बीचबाट बग्ने आकर्षक नदीहरुको सँगम स्थल त्रिवेणी क्षेत्र प्रमुख आर्कषण हुन्। बडीमालिकाको दर्शनपछि फर्किने सबै लुकेको स्वर्गको संज्ञा दिने गर्दछन्।  

शुद्ध आत्म भएका दर्शनार्थी मात्र पार गर्न सक्ने धर्मद्धार आस्थाको केन्द्र विन्दु जस्तै बनेको छ। बडीमालिका क्षेत्रमा हयिालीफाँटमा भँेडा र घोडा खच्चडका बथानहरु वर्षादका चार महिनासम्म देख्न सकिन्छ। लोपन्मुख प्रजातीका बन्य जन्तु तथा पशु पँक्षीहरु (डाँफे, मुनाल, कस्तुरी, झारल आदि) पनि भेटिन्छन्।  

पौराणिक समयमा राक्षस र भगवती बीच लडाई हुँदा बगेको रगतको अवशेष र राक्षसहरुलाई भगाएको स्थान सुरक्षित छ। यो दृश्य नियाल्न भारतको काशी, उत्तराअञ्चलका विभिन्न क्षेत्रबाट आउने गरेका छन्। खेतीवेती भन्ने स्थानमा धान रोप्नका लागि बनाएका गरा, धानको बीउ खेत जस्ताको तस्तै देखिने आश्चर्यजनक दृश्यले पनि दर्शनार्थीको मन लोभ्याउने गरेको छ।  

निसन्तानीलाई सन्तान, गरिबलाई धन, जस्तै मागेको वर पाइन्छ भन्ने धार्मीक विश्वास छ। यहि आकांक्षा लिएर वर्षेनी ५० हजारले दर्शन गर्ने गरेका छन्। बडिमालिका क्षेत्रमा मार्तडीबाट तीन दिनमा पुग्नु पर्ने मान्यता छ। बीचमा भैसी गोठ र पाल टाँगेर बस्नु पर्ने बाध्यता छ।  

त्रिवेणीमा पीतृकार्य पनि गरिन्छ। सो ठाउँमा कालीकोट र बाजुराले धर्मशाला निर्माण गरेपनि त्यो मासलाई धान्न सक्ने छैन्। दर्शनार्थीको आवास र बसोबासका लागि कुनै व्यवस्था गरिएको छैन्।

बडिमालिमा सबै थोक छ, प्रकृतिको अनुपम उपहार हो, भन्छन्, उद्योग वाणिज्य संघका अध्यक्ष देवबहादुर रोकाया। राजनीतिक स्तरबाट पनि जिल्लाका बडिमालिका लगायतका गन्तव्यको प्रवद्र्धनमा पहल गरिएको छैन्।  

प्रकाशित: १४ भाद्र २०८० ०९:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App