१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

जसले नेपाली पत्रकारिताको कद उँचो बनाए

नेपाली पत्रकारिता जगत्मा परिचित एवं सम्मानित नाम हो– राजेश्वर नेपाली। प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानित नेपालीको पत्रकारितामा अतुलनीय योगदान छ। नेपालीलाई वरिष्ठ पत्रकार, पत्रकारिताका धरोहर, लोकतान्त्रिक आन्दोलनका योद्धालगायत उपाधिबाट सम्मान दिइन्छ। यी योद्धाले जिन्दगीमा धेरै संघर्ष जिते तर सोमबार राती जिन्दगीसँगको संघर्षमा पराजित भए।

२००२ भदौ १९ मा जनकपुरधाम उपमहानगरपालिका २३ बेलामा बुबा रामदुलार साह र आमा इन्द्रमणि देवीबाट जन्मिएका नेपालीले ७८ वर्षको उमेरमा २०८० भदौ ११ गते राति देहत्याग गरे। राजेश्वर तीन दाजुभाइ र तीन दिदीबहिनीमध्ये माहिला छोरा थिए।

राजेश्वर मूलतः पत्रकारितामा संलग्न थिए। उनी २०१८ बाट पत्रकारितामा आबद्ध थिए। नेपाल सन्देश पत्रिकाबाट सुरु गरेर राष्ट्रपुकार, विश्वदीप, नेपाल टाइम्स, नेपाल वाणीलगायत पत्रिकामा काम गरेका थिए।

राजेश्वरले लोकमत (साप्ताहिक २०४०) लगायतका पत्रिका सम्पादन गरेका थिए। यसका साथै उनले प्रथम मिथिला कवि विद्यापति स्मारिका (२०५६), नेपाल भारत सम्बन्ध (पुस्तक २०४९), नेपाल के हिन्दी कवि और कविताए (२०५३) र नेपाल मे हिन्दी की अवस्था (२०५३ पुस्तक) आदिको सम्पादन पनि गरेका थिए।

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका राजेश्वरले नेपाली साहित्य उत्थानमा समेत उल्लेखनीय योगदान पुर्याएका छन्। २०२० सालदेखि साहित्यमा प्रवेश गरेका राजेश्वरले लेखेका २५ कृतिमध्ये पुकार (२०२५), प्रेरणाप्रद सहिदहरू (२०५५), मिथिला मैथिली (२०५७), नेपाल नेपाली (२०५९), बम नही विचार क्रान्ति (२०६२), लोकतन्त्रको लालिमा (२०६९), नव नेपाल (हिन्दी २०६९) आदि हुन्। खण्डकाव्यमा गरिबको व्यथा (२०६८) र निरपहाय मानव (२०६८) छन्।

यसैगरी उनका कथा कृतिमा सोहागिन (मैथिली २०६१), कनिआ काकी (मैथिली २०६१), प्राचीन जनकपुरधाम एक विवेचना (२०५९), प्रेरणाप्रद प्रजातन्त्र सेनानीहरू (२०६१), पत्रकारिता मेरो पूजा (आत्मवृत्तान्त हिन्दी (२०६२), क्रान्तिकारी सर्युग चौधरी (जीवनी हिन्दी २०६९) हुन्।

यसैगरी राजेश्वरको सम्पादनमा नेपाल भारत सम्बन्ध (२०४९), नेपाल के हिन्दी कवि और कविताए (२०५३), नेपाल मे हिन्दी की अवस्था (२०५३) र विद्यापति स्मारिका (२०५६) आदि हुन्।

२०४६ सालको जनआन्दोलनपछि २०४७ सालमा वरिष्ठ पत्रकारहरू मणिराज उपाध्याय, मदनमणि दीक्षितसँगै प्रेस काउन्सिल नेपालको सल्लाहकारमा नेपाल सरकारले मनोनयन गरेर राजेश्वरलाई सम्मान गरेको थियो। २०४८ सालमा गठित प्रेस काउन्सिलको सदस्यमा पनि उनी मनोनीत भएका थिए।

नम्र र शिष्ट बोली एवं व्यवहार, दृष्टिमा समानता र सदाशयता, यिनै गुणले राजेश्वर नेपालीको कद ऊँचो बनाएको थियो। नेपाली, मैथिली र हिन्दी भाषा एवं साहित्यमा कलम चलाउँदै आएका उनी आफ्नो लेखनमा प्रजातन्त्र, मानवता, शान्ति र राष्ट्र प्रेमलाई प्राथमिकतामा राख्थे।

राजेश्वरको मूल पेसा पत्रकारिता भएपछि उनी बहुआयामिक व्यक्तित्व थिए। उनी नेपालको प्रजातान्त्रिक आन्दोलनका एक सशक्त योद्धा थिए। नेपाली पत्रकारिताका जिउँदा इतिहास थिए। मिथिला संस्कृतिका एक विज्ञ थिए। नेपाली, मैथिली र हिन्दी साहित्यका पोथी (ग्रन्थ) थिए।

डेढ वर्षयता थलिएर ओछ्यान परेका थिए– राजेश्वर। उनले लामो समय भारतको नयाँदिल्ली र नेपालका विभिन्न अस्पतालमा उपचार गराए, तर पनि रोग निको हुन सकेको थिएन।

पत्रकारितालाई मूल पेसा बनाएका राजेश्वर पेसालाई धर्म ठान्थे। पूर्णकालीन पत्रकारितामै रमाउने उनीजस्ता समर्पित पत्रकार विरलै भेटिन्छन्। उनलाई पत्रकारिताको इतिहास पुरुषसमेत भनिन्छ।

मूलतः जनकपुर क्षेत्रमा भिजेर पत्रकारिता गर्ने राजेश्वरको योगदानको चर्चा जनकपुरधाम अर्थात् मधेसमा मात्र सीमित छैन, बरु सम्पूर्ण नेपाल र सीमाञ्चलमा पनि आदरपूर्वक ‘नेपालीजी’ का रूपमा उनी चिनिन्छन्। धेरैलाई उनको पूर्ण र वास्तविक नामबारे जानकारी नहुन सक्छ, तर राजेश्वर ‘नेपालीजी’ पत्रकारका रूपमा नेपाल र सीमाञ्चलमा चिनिन्छन्। उनी सबै समाजमा सर्वस्वीकृत थिए र रहिरहनेछन्। त्यसो त उनको रुचि मैथिली, हिन्दी र नेपाली साहित्यमा थियो। उनी राजनीतिमा पनि रुचि राख्थे तर उनी बढी चिनिए पत्रकारिता क्षेत्रबाटै पत्रकारकै रूपमा।

पत्रकार जगत्ले उनको योगदान स्वीकार गर्यो र सम्मान तथा पुरस्कार अर्पण गर्यो तर राज्य र सरकारले भने उनलाई कदर गर्न सकेन। उनी अस्वस्थ भएर घरको ओछ्यानमा अचेत रूपमा पल्टिइरहँदा राज्यबाट सम्मानजनक उपचार र सहयोग पाएनन्। राजनीतिसँग नजिकको साइनो भएकाहरू सहज र सुविधाजनक उपचार प्राप्त गर्न सक्षम भइरहेको नेपालको परिदृश्यमा राजेश्वर ओझेल पात्रकै रूपमा बिदा भए। राज्यले उनलाई नदेखे झैं गरी आँखा चिम्लिरह्यो।

महात्मा गान्धीको जीवन र दर्शनबाट प्रभावित राजेश्वर सच्चा गान्धीवादीका रूपमा पनि चिनिन्थे। उनले भारतको मुजफ्फरपुरमा महात्मा गान्धीलाई भेटेका थिए। पोसाक पनि गान्धीकै जस्तो खादीको कुर्ता र सुतीको धोती लगाउँथे। उनले गान्धीकै प्रभावबाट जीवनलाई निर्देशित गरेका थिए। यसैको प्रभावले उनको स्वभाव आदर्शमुखी रहेको छ। तत्कालीन भारतको स्वतन्त्रता आन्दोलनमा लागेका उनी तत्कालीन राणाविरोधी आन्दोलनमा पनि सक्रिय थिए। सक्रिय राजनीतिमा लागेकै कारण उनी पटकपटक निर्वासित जीवन बिताउँदै ३७ पटक जेलसमेत परेका थिए।

राजनीतिमा पनि उनको फरक परिचय थियो। नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रारम्भिक दिनबाटै सक्रिय रहेका नेपाली प्रखर लोकतन्त्रवादी थिए। लोकतान्त्रिक आन्दोलनका क्रममा आस्थाका आधारमा पञ्चायतकालमा पटकपटक प्रशासनको कुदृष्टिको सिकार बनेका उनी आफ्नो लोकतान्त्रिक मूल्य–मान्यताविरुद्ध कहिल्यै पनि सम्झौता गरेनन्। जीवनभरि उनी आफ्नो राजनीतिक मूल्य, मान्यता, आस्था र विचारप्रति दृढ रहे।

उनी मधेस र नेपाली राजनीतिसँग सम्बन्धित अनेक जानकारीका विशाल संग्रह थिए। उनले सम्पूर्ण जानकारी र तथ्यहरू संरक्षण तथा संग्रह गरेर राखेका थिए। उनलाई सम्पूर्ण तथ्य एवं जानकारी कण्ठस्थ नै थियो।

औपचारिक जानकारीको आधिकारिक संग्रहको विशाल अभिलेखीकरणको भण्डार निर्माण गरेका थिए उनले। चाहे त्यो राजनीति होस् चाहे साहित्य अथवा पत्रकारिता, सबैको जीवित दस्ताबेज थिए राजेश्वर। यति मात्र होइन, समाज, व्यक्ति, स्थानीय विकाससँग सम्बन्धित जानकारीको पनि उनी गज्जबको स्रोत थिए।

स्वतन्त्रता सेनानी, वरिष्ठ पत्रकार, साहित्यकार, संस्कृतिविद् राजेश्वरको शालीन व्यक्तित्व, विनम्र व्यवहार र सादा जीवनको जति नै चर्चा गरे पनि थोरै हुन्छ। मानवीय व्यवहार, असल आचरण र दयालु स्वभाव प्रवृत्तिले नै मान्छे असल बन्छ, जुन गुण राजेश्वरमा पूरापूर थियो। नम्र र शिष्ट बोली व्यवहार, सबैलाई हेर्ने दृष्टिकोणमा समानता र सदाशयतापूर्ण गुणले राजेश्वरको कद उचाइमा पुर्याएको थियो। नेपाली, मैथिली र हिन्दी भाषा एवं साहित्यमा कलम चलाउँदै आएका राजेश्वर आफ्नो लेखनमा प्रजातन्त्र, मानवता, शान्ति र राष्ट्र प्रेमलाई प्राथमिकतामा राख्थे।

मिडिल स्कुलसम्म उनी आफ्नो थर ‘साह’ लेख्थे। पुस्तकालयमा विनोबा भावेको ‘जय जगत’ शीर्षकको किताब थियो। त्यो उनले पढे। त्यसमा जातपात छुट्याउने कामको विरोध गरिएको छ। उनी त्यसबाट प्रभावित भए र थरमा ‘नेपाली’ लेख्न थालेका हुन्। उनको नागरिकता, जग्गाजमिनका कागजात, सबै तहका प्रमाणपत्रमा नाम ‘राजेश्वर नेपाली’ नै छ।

 

प्रकाशित: १३ भाद्र २०८० ०२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App