१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

जुम्लामा केदारनाथ महोत्सव सुरु

जुम्लाको धार्मिक पर्यटन प्रवर्द्धन गर्न सिंजा केदारनाथ महोत्सव सुरु भएको छ। आइतबारदेखि सुरु भएको उक्त महोत्सव तीन दिनसम्म चल्नेछ।

महोत्सवको उद्घाटन कर्णाली प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री भीमप्रसाद शर्माले गरेका थिए। मन्त्री शर्माले जुम्ला धार्मिक पर्यटनको गन्तव्य भएकोले यसको संरक्षण र प्रवर्द्धनका लागि कर्णाली प्रदेश सरकारले जोड दिने बताए।

‘सिंजा खस भाषाको उद्गम स्थल हो, आफ्नै भाषा संस्कृति र धार्मिक रीतिरिवाज छन्। तिनीहरुको उचित संरक्षण प्रवर्द्धन र व्यापक प्रचारप्रसारले मात्र आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउन सकिने अवस्था रहन्छ। जसका लागि कर्णाली प्रदेश सरकार सदैव सकारात्मक भएर हातेमालो गर्न तयार छ।’ उनले भने।

साउन पूर्णी, एकादशी केदारनाथको मेला, भारा न्हान्य, गौजो काट्ने बर माग्ने मेलाका रुपमा सिंजा गाउँपालिका–४ बारेगाउँ नजिकैको केदारनाथ मन्दिरमा महोत्सव सुरु भएको हो।

महोत्सवमा जुम्लामै उत्पादित स्याउका स्टलहरु राखिएको छ। सिमी, राडीपाखीहरु, पुर्खाहरुले प्रयोग गर्ने विभिन्न काष्ठकलाका सामग्रीसमेत महोत्सवको आकर्षक वस्तु हुनेछन्। 

महोत्सवको पहिलो दिन पञ्जेवाजाको प्रस्तुतिसहित स्थानीय झाँकीसमेत प्रदर्शन गरिएको थियो। साथै काठेपिङहरु लगाएर महोत्सवमा रमाइलो गरिएको सिंजा गाउँपालिकाले जनाएको छ।

कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुले पनि प्रस्तुति दिएका थिए। महोत्सवमा रैथानेबालीबाट बनेका परिकार पनि बिक्रीका लागि राखिएको स्थानीय उमेश बुढाले बताए।

यसैबीच सिंजा गाउँपालिकाले महोत्सव संचालन गर्न भन्दै आइतबार सार्वजनिक बिदा दिएको थियो। महोत्सवले ओझेलमा परेको केदारनाथ मन्दिरको उजागर गर्ने सिंजा गाउँपालिका उपाध्यक्ष सितली रोकायाले बताइन्।

केदारनाथको ऐतिहासिक तथा धार्मिक महत्त्व छ। तर उचित प्रचारप्रसारको अभावमा ओझेलमा पर्ने गरेको छ।

महोत्सवले यस स्थानलाई धार्मिक पर्यटनको केन्द्र बनाउने लक्ष्य राखिएको छ। महोत्सवको अवसरमा खस पात्रोसमेत सार्वजनिक गरिएको थियो।

प्रकाशित: १० भाद्र २०८० १७:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App