८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

अबिरल वर्षाले सिद्धिचरण लोकमार्ग फेरि अवरुद्ध

क्याप्सनः सिद्धिचरण लोकमार्गको लामीडाँडास्थित सडकमा खसेको पहिरो । तस्विरः महेश्वर

लगातारको वर्षाका कारण उदयपुरको सिद्धिचरण लोकमार्ग फेरि अवरुद्ध हुन पुगेको छ। शुक्रबार विहानदेखि अवरुद्ध लोकमार्ग निरन्तर ६ घण्टा लामो मर्मतपछि शनिबार दिउँसोदेखि सुचारु भएको थियो। तर, सुचारु भएको १२ घण्टा नबित्दै ठाउँठाउँमा पहिरो खसेपछि आईतबार विहान ५ः०० बजेदेखि फेरि सडक अवरुद्ध हुन पुगेको हो।  

सिराहाको मिर्चयादेखि कटारी–घुर्मी ओखलढुंगा जोड्ने सो लोकमार्गको कटारी नगरपालिका १४ नं. वडाको लामीडाँडा मन्दिर आसपास आधादर्जन ठाउँमा पहिरो खसेको छ। पहिरोले ठूलठूला ढंगा सडकमा झरेर तेर्सिएका काराण् सडक अवरुद्ध हुन पुग्दा सयौँ साना ठूला सवारी साधन रोकिएर यात्रु अलपत्र परेका छन्। प्रत्यक्षदर्शी स्थानीय कुमार प्याकुरेलका अनुसार घुर्मीदेखि ५ किलोमिटर वर (पूर्व)मा पर्ने लामीडाँडा क्षेत्रमा राति नै पहिरो खसेको हो।  

सडक अवरुद्ध पार्नुका साथै पहिरो अझै खस्ने संभावना भएकाले सो लोकमार्ग भएर हिड्न जोखिमपूर्णसमेत भएको उनले बताए। वर्षा भईरहेकाले पहिरो जाने क्रम चलिरहेको र कुनै पनि बेला पहिरो खस्न सक्ने हुँदा सो रुट भएर चल्ने गाडीहरु जोखिमपूर्ण रहेको प्याकरेलले बताए। ‘सडकमा पहिरोले बडेमानका ढुंगाहरु झारेर तेस्र्याएको छ, अझै पहिरो जाने क्रम चलिरहेको छ’ घट्नास्थलमै रहेका प्याकुरेलले भने ‘ कुनै पनि बेला पहिरो खस्न सक्ने हुनाले रोकिएका गाडी र यात्रुहरु पनि पहिरोको जोखिममै छन्।’

पहिरोले सडक अवरुद्ध भएको जानकारी पाएलगत्तै मिर्चया–कटारी–घुर्मी सडक योजना कार्यालयले मर्मत गर्ने तयारी गरेको जनाएको छ। अवरुद्ध सडकको पहिरो हटाउन स्काभेटर र प्राविधिक टोली पठाईसकेको योजना कार्यालयले जनाएको छ। घट्नास्थलमा केहीबेरमै स्काभेटर र प्राविधिक पुग्ने र मर्मत कार्य सुरु गर्ने कार्यालयले जनाएको छ। कार्यालयका अनुसार थप पहिरो नगएमा केही घण्टामै सडक सुचारु हुने गरी उपकरण र जनशक्ति परिचालन गरिने छ।  

बिहीबार रातिदेखि निरन्तर वर्षा भईरहदा यसअघि पनि सिद्धिचरण लोकमार्ग अवरुद्ध हुन पुगेको थियो। कटारी ११ को बेतिनीदेखि १४ को घुर्मी खण्डमा आधादर्जन बढी ठाउँमा पहिरो गएर अवरुद्ध सडक खुलाइए पनि शनिबार रातभरको वर्षाले फेरि पहिरो गएको हो।  

यता अविरल वर्षाले शुक्रबारदेखि नै अवरुद्ध भएको मदन भण्डारी लोकमार्ग शनिबार साँझदेखि सुचारु भएको छ । गाईघाट–कटारी खण्डमा पर्ने उदयपुरगढी गाउँपालिका ६ मौवासी खोलामा निर्मित पक्की पुलको पहुँच मार्गमा पहिरो जाँदा लोकमार्ग २४ घण्टासम्म अवरुद्ध हुन पुगेको हो। लोकमार्ग कार्यालयबाट खटेका जनशक्ति र दुईवटा स्काभेटरले रातारात पहिरो पन्छाएर सडक सुचारु गराएको लोकमार्ग कार्यालय प्रमुख (डिई) गोपाल खकुरेलले बताएका छन्।  

निरन्तरको वर्षाले यी दुई लोकमार्गबाहेक जिल्लाका आन्तरिक दर्जनौ सडकहरु अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा सदरमुकामसँग स्थानीयतहहरुको यातायात सम्पर्क विच्छेद हुन पुगेको छ भने स्थानीयलाई आउजाउमा बाधा पुगेको छ।  

प्रकाशित: १० भाद्र २०८० ०७:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App