स्याङ्जाको वालिङ नगरपालिका-८ जैसीपँधेरास्थित अकला नमूना साना किसान कृषि सहकारीद्वारा उत्पादित छुर्पी अमेरिका निर्यात हुँदै आएको छ।
सहकारीका अध्यक्ष पुण्यप्रसाद अर्यालले सहकारीले कृषकबाट दूध संकलन गरेर विभिन्न प्रकारका परिकार उत्पादन गर्दै आएको समेत बताए।
‘हामीले यहाँ संकलित दूधबाट छुर्पी, पनिर, दही, नौनी घ्यू, आइसक्रिम लगायतका वस्तु उत्पादन गर्दै आएका छौं, छुर्पी अमेरिका निर्यात हुँदै आएको छ’, उनले भने, ‘दूधबाट बनेका परिकार स्थानीय बजारमा बेचेर पनि काठमाडौं निर्यात गर्ने गरेका छौं।’
उनले विशेष गरेर सहकारीले उत्पादन गरेको छुर्पी मात्र अमेरिका निर्यात हुने गरेको दाबी गरे। यहाँको दुग्ध संकलन केन्द्रमा वालिङ नगरपालिकासहित दक्षिणी पर्वतबाट समेत कृषकले दूध जम्मा गर्ने गरेका छन्।
‘साना किसान कृषि सहकारीले सञ्चालन गरेको डेरीमा दैनिक आठ सयदेखि एक हजार एक सय लिटरसम्म दूध संकलन हुन्छ’,उनले भने, ‘दैनिक २५ देखि ३० किलोसम्म छुर्पी उत्पादन हुँदै आएको छ, दूधको सिजनमा छुर्पीको उत्पादन धेरै नै हुन्छ।’
अध्यक्ष अर्यालले प्रतिकिलो छुर्पीलाई एक हजारदेखि एक हजार एक सय रुपैयाँसम्म पर्ने बताए। उनले दूधबाट उत्पादित परिकारको बजारीकरणका लागि समस्या नभएको बताए।
सहकारीका प्रबन्धक लक्ष्मी पोख्रेल रेग्मीले प्रतिलिटर दुई रुपैयाँ ५० पैसा दूधमा दिएको अनुदानले कृषक व्यावसायिक गाईभैंसीपालनमा आकर्षित हुँदै गएको बताए।
‘कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री, लहरे बालीका बीउबिजन, घाँसका बिरुवा वितरण गर्दै आएका छौं’, उनले भने, ‘बाख्रापालक कृषकलाई बोयर बोका, एक सय ५० किलोदेखि माथि अदुवा लगाउने कृषकलाई किलोमा २५ रुपैयाँ अनुदान दिंदै आएका छौं।’
प्रबन्धक रेग्मीले प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजनासँगको सहकार्यमा गत आर्थिक वर्षमा १० कृषकलाई ‘भैंसी अनुदान कार्यक्रम’ अन्तर्गत ५० प्रतिशत अनुदान उपलब्ध गराएको बताए। उनले २८ कृषकलाई ‘भकारो सुधार कार्यक्रम’ अन्तर्गत अनुदान वितरण गरिएको समेत बताए।
२०७५ मा स्थापन भएको सहकारीमा दुई हजार आठ सय ५० शेयर सदस्य छन्। सहकारीले चालु आर्थिक वर्षमा पशुधन सुरक्षण कार्यक्रम अन्तर्गत निःशुल्क पशु बीमा कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ। कृषि पेसातर्फ किसानलाई आकर्षित गर्दै रोजगारीको सिर्जना गर्ने उद्देश्यले कृषकलाई अनुदान दिंदै आएको प्रबन्धक रेग्मीको भनाइ छ।
‘हिजोआज वित्तीय संस्थाहरूले ऋण लगानी गर्ने र ब्याजमार्फत मुनाफा आर्जन गर्ने परम्परा छ’, उनले भने,‘यो अवस्थामा परिवर्तन ल्याएर कृषकलाई आत्मनिर्भर र स्वरोजगार बनाउने योजना अनुसार सहकारीले काम गरिरहेको छ।’
रेग्मीले सहकारीले कृषकमुखी कार्यक्रम सञ्चालन गर्दा वैदेशिक रोजगारमा जान ठिक्क परेकाहरू रोकिने गरेको बताए। उनले कृषकलाई अकला नमूना साना किसान कृषि सहकारीमा जोडिएर स्वरोजगार बन्न आग्रह गरे।
प्रकाशित: १० भाद्र २०८० ०७:४३ आइतबार