पहिरोले अवरुद्ध बनाएको मदन भण्डारी लोकमार्ग २४ घण्टापछि संचालनमा आएको छ।
अविरल वर्षाका कारण उदयपुर गढी गाउँपालिका ६ मौवासीस्थित पक्की पुलनेर पहिरो गएर शुक्रबार दिउँसोदेखि अवरुद्ध भएको लोकमार्ग निरन्तर मर्मतपछि शनिबार साँझदेखि संचालनमा आएको हो।
बिहीबार रातिदेखि लगातार वर्षा भइरहँदा मौवासी खोलामा निर्मित पुलको एप्रोच सडक पहिरो गएर पुरिन पुग्दा यातायात अवरुद्ध हुन पुगेको हो। पछिल्लो २ वर्षयता स्थानीयको लाइफलाइन बन्दै गएको यो लोकमार्ग पूर्वबाट राजधानी आउजाउको मुख्य मार्ग बन्न पुगेको छ। पहिरोले सडक अवरुद्ध हुन पुगेपछि पछिल्लो २४ घण्टायता सयौँ साना ठूला सवारी साधन अलपत्र परेका थिए भने हजारौँ यात्रुको बिचल्ली भएको थियो।
यात्रुको समस्या देखिएपछि सडक सुचारु गर्न चौतर्फी दबाब परेसँगै मदन भण्डारी लोकमार्ग कार्यालय, प्रहरी प्रशासन र यातायात व्यवसायी मिलेर सडक मर्मत गर्ने क्रम शुक्रबारदेखि नै सुरु भएको थियो। तर, निरन्तर पानी परिरहेका कारण शुक्रबार पहिरो पन्छाउन नसकेर सडक सुचारु गर्न सकिएको थिएन।
शनिबार भने वर्षा रोकिएको मौका पारेर बिहानैदेखि पहिरो पन्छाउने काम गरेपछि साँझ ५ः०० बजेदेखि सडक सुचारु भएको हो। मदन भण्डारी लोकमार्गकोसमेत रेखदेखको जिम्मा लिएको गाईघाट दिक्तेल सडक योजना कार्यालय प्रमुख गोपाल खकुरेलले यात्रुको अस्तव्यस्त अवस्था पार लगाउन रातारात प्राविधिक खटाएर पहिरो पन्छाएको बताए।
पहिरोले सडक अवरुद्ध भएका कारण सयौँ सवारी साधनमा ओहोर दोहोर गर्ने हजारौँ यात्रु अलपत्र परेको पाइएपछि पर्याप्त जनशक्ति र उपकरण प्रयोग गरेर सडक सुचारु गरेको उनले बताए।
‘हामीले पूर्व र पश्चिम दुवैपट्टिबाट लोडर र एक्स्काभेटर प्रयोग गरी छिटो छिटो काम गर्दा २४ घण्टामै सडक सुचारु गर्न सफल भयौँ’ डिई खकुरेलले भने ‘अहिलेलाई एकतर्फी सडक खुलेको छ।'
अझै मर्मत कार्य जारी रहेको र वर्षा रोकिएको खण्डमा आइतबारसम्ममा दुईतर्फी सडक खुलाउन सकिने उनले बताए। वर्षा भइरहेको र अझै केही समय नरोकिने हुनाले सडक भत्कने सम्भावना कायम रहेकाले मर्मत गर्न एउटा एक्स्काभेटर र आवश्यक जनशक्ति तैनाथ राख्ने पनि खकुरेलले बताए। लगभग ५० मिटर पहिरोले १ सय मिटर सडक पुरिएपछि अवरुद्ध हुन पुगेको थियो।
मदन भण्डारीसँगै अघिल्लो दिनदेखि नै अवरुद्ध हुन पुगेको सिद्धिचरण लोकमार्ग पनि शनिबार दिउँसोदेखि खुलेको छ। निरन्तर वर्षाकै कारण मिर्चैया–कटारी–घुर्मी सडक पनि शुक्रबार दिउँसोदेखि अवरुद्ध हुन पुगेको थियो। स्थानीयवासी, नगरपालिका र कटारी–घुर्मी सडक योजना कार्यालय कटारीको संयुक्त पहलमा मर्मत गरेपछि लोकमार्ग सुचारु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। लोक मार्गको कटारी नगरपालिका ११ को बेतिनीदेखि १४ को लेखानीसम्मका विभिन्न ठाउँमा आधा दर्जन पहिरो गएर सडक अवरुद्ध हुन पुगेको थियो।
योजना कार्यालयका प्राविधिक कुमार प्याकुरेलका अनुसार अवरुद्ध सडक मर्मत गर्दै पहिरो पन्छाइएपछि सुचारु भएको छ। तर, वर्षा निरन्तर भइरहेकाले कुनै पनि बेला पहिरो गएर फेरि सडक अवरुद्ध हुने खतरा उत्तिकै रहेको उनले बताए।
सिराहाको मिर्चयादेखि कटारी–घुर्मी हुँदै ओखलढुंगा जोड्ने सो लोकमार्ग आवश्यक मर्मत सम्भार नहुँदा जीर्ण र ध्वस्त भइसकेको छ। मिर्चयादेखि कटारीसम्म सामान्य रहे पनि कटारीदेखि घुर्मी खण्डको ४७ किलोमिटर खण्ड भने भर्खर खनेको कच्ची धुले सडकभन्दा गए गुज्रेको अवस्थामा पुगेकाले बारम्बार अवरुद्ध हुँदै आएको स्थानीयले बताएका छन्।
प्रकाशित: ९ भाद्र २०८० १३:४८ शनिबार





-600x400.jpg)