‘ए बाख्रा पो चराइरहेको हो? के बाख्रा चराएर दिन बिताएको ? समय कहाँबाट कहाँ पुगिसक्यो। फलानाको केही काम छैन, त्यही बाख्रा चरायो बस्यो। अहिले आएर पनि के पशुपालनमा लागेको होला, विदेश नगएर? विदेशमा डलर छापेर चिल्ला गाडीमा हिँड्नुको मजा के थाहा?’
यस्ता प्रश्नलाई वास्ता नगरी आफ्नो व्यापार-व्यवसायलाई उज्ज्जव बनाउँदै लैजाने महोत्तरी एकडाँडा नगरपालिका-४, हलखोरीका मनोज रायले भने, ‘अरूको नोकरी नगरी आफ्नै जहान-परिवारसँग बसेर महिनाको न्यूनतम ५०/६० हजार कमाउनुको आनन्द छुट्टै छ। समाजले अरूको चाकडी गर्दै नोकरीबाट १५/२० हजारको तलब खानेलाई हेर्ने दृष्टिकोण सुन्दर होला तर आफ्नै व्यवसायमा परिश्रम गरी आनन्द मनले धन कमाउनुको मज्जा बेग्लै छ।’
नेपालमा पैसा कमाउन सकिँदैन तर विदेश छिर्न सके अथाह पैसा कमाउन सकिन्छ भन्ने सोचले युवामा राम्रै घरजम गरेको छ। यो सोच विपरीत पछिल्ला वर्षमा विदेशबाट फर्केपछि नेपालमै उद्यम गर्नेको संख्या बढ्दै छ।
मलेसियामा करिब १० वर्ष संघर्ष गरेका राय यसका एक उदाहरणीय व्यक्ति हुन्। पशुपालनमा २५ पाठापाठीबाट सुरु गरेको व्यवसायले परिवारजनलाई खुसी मात्रै दिएको छैन, वार्षिक आम्दानी करिब ६ लाख रूपैयाँ पनि दिएको छ। हाल १ सय ३० वटा बाख्रापालन गरेको उनले बताए।
उनले मुख्यतया ६ जातका बाख्रा पाल्ने गरेका छन्। जहाँ अफ्रिकन बोएर, खरी, सिरोही, बारबरी र स्थानीय बाख्रा पाल्ने गरेको उनले बताए। उनका अनुसार तराई क्षेत्रमा बाख्रापालन गर्दा बढी फाइदा छ। ‘तल्लो तथा मध्य पहाडी क्षेत्रमा खरी, उच्च पहाडी क्षेत्रमा सिन्हाल तथा उच्च हिमाली क्षेत्रमा च्याङ्ग्रा जातका बाख्रापालन गर्दा उत्कृष्ट हुन्छ,’ उनले भने, ‘१/२ वर्ष बाख्रापालन फस्टाउन नसक्ला तर केही समयपछि विदेशमा कमाउने पैसा स्वदेशमा नै कमाइन्छ। ६ वर्ष अघिबाट सञ्चालन गरेको पशुपालनले भरपुर आनन्द दिएको छ। त्यही आम्दानीले घरपरिवार धान्नुका साथै छोराछोरी पढाउँदै परिवारसँग रमाएको छु ।’ २०७९ सालमा मात्र ५५ वटा बाख्रा काठमाडौंमै बेचबिखन गरेको उनले बताए।
नेपालमा पैसा कमाउन सकिँदैन तर विदेश छिर्न सके अथाह पैसा कमाउन सकिन्छ भन्ने सोचले युवामा राम्रै घरजम गरेको छ। यो सोच विपरीत पछिल्ला वर्षमा विदेशबाट फर्केपछि नेपालमै उद्यम गर्नेको संख्या बढ्दै छ।
‘विदेशमा एक्लै रोजगारीका लागि गइन्थ्यो भने स्वदेशमा मबाहेक ६ जनालाई रोजगारी दिएको छु। यसमा मलाई गर्व छ,’ उनी आफ्नो पेसासँग खुसी हुँदै भन्छन्।
समाजले हेर्ने दृष्टिकोणलाई सम्झँदै उनले भने, ‘परिश्रम गर्नेलाई इज्जत होइन, चोरीचकारी गरेझैं व्यवहार छ। कृषि तथा पशुपालन गर्ने व्यवसायीलाई हेर्ने नजर नराम्रो छ। यस्ता कुदृष्टि र कुविचार भएको समाजलाई परिवर्तन कसले गर्ने?’ उनले थपे, ‘मिहिनेत गर्नेलाई समाजले प्रोत्साहन गर्नुभन्दा बढी निरुत्साहित गर्ने चलन छ।’
मलेसियाबाट फर्केका रायको सोच नेपालमै केही उद्यम गर्नुपर्छ भन्ने थियो। गाउँमै ४/५ वटा बाख्रा पाल्ने छिमेकीबाट प्रेरित भएर बाख्रापालन उद्यमी बन्न सफल भएको रायले बताए।
कृषियोग्य जमिनलाई बाँझो राखेर विदेशमा ४०/५० हजार कमाउनुभन्दा आफ्नै जन्मभूमिमा थोरै परिश्रम गरेर भरिपूर्ण आम्दानी गर्न सकिने रायको सुझाव छ। स्थानीय स्तरबाट कुनै पनि साथसहयोग नरहेको उनको गुनासो छ।
बाराको निजगण नगरपालिका ७ का सरोज कोइराला पनि रायजस्तै अर्का उदाहरणीय उद्यमी हुन्। उनी पनि वैदेशिक रोजगारपछि नेपालमै कृषि पेसामा मस्त छन्। दुबईमा तीन वर्षको बसाइपछि नेपाल फर्किएर केरा खेती तथा जडीबुटी उत्पादन पेसालाई अँगालेको उनले बताए।
कोइरालाको केरा खेती बाराको निजगढमा छ भने जडीबुटी उत्पादन सर्लाहीमा छ। उनी पनि रायजस्तै परिश्रम गर्न पछि हट्दैनन्। उनका अनुसार प्रत्यक्ष रूपमा १८ जनालाई रोजगारी दिएका छन् भने कुशल व्यवसाय समूह तालिम केन्द्रद्वारा १५ वर्षमा ११ हजार ७ सय ८८ जनालाई तालिम पनि दिएका छन्। बेरोजगार महिला तथा युवालाई इच्छाअनुरूपका सिप हासिल गराई उद्यमी बनाउने गरेको कोइरालाले बताए।
‘युवाहरू विदेशमा बिनापरिश्रम पैसा टिप्न पाइन्छ भन्ने सोच्छन्। विदेश जानका लागि ऋण काढेर लाखौंलाख रकम दलाललाई बुझाउँछन् तर उनीहरू त्यति रकम व्यवसाय सञ्चालन गर्ने आँट गर्दैनन्। काम चिन्न सके स्वदेशमै अथाह पैसा छ,’ कृषि–उद्यमी सरोज कोइराला बताउँछन्। उनले जडीबुटी व्यवसाय उत्पादन तथा प्रशोधन गर्ने तेल उद्योग पनि सञ्चालन गरेका छन्। उनका अनुसार २०५६ सालबाट सुरु गरेको केरा खेती र जडीबुटी व्यवसायबाट वार्षिक १२ देखि १५ लाख खुद नाफा हुन्छ।
‘केराको बिरुवा रोपेको १३ महिनाबाट उत्पादन सुरु हुन्छ,’ उनले भने, ‘मालभोग केराबाट राम्रो आम्दानी हुन्छ। मिहिनेत गरे जुन व्यवसायबाट पनि नेपालमा सुन फलाउन सकिन्छ। धेरै मानिसले व्यवसायमा हात हालेपछि ९० प्रतिशत काम सकेर हार मान्दै घाटामा गयो, व्यवसायमा फाइदा भएन भन्दै व्यवसाय छाड्छन्।’
बाकी रहेको १० प्रतिशत काम गर्न थाकेपछि जुन पनि व्यवसाय सुक्ने गरेको उनको अनुभव सुनाए। ‘केरा र जडीबुटीको बजारीकरण भने काठमाडौंमा नै गर्ने गरेका छौं। त्यति मात्र होइन, केराको थामबाट कागज र फाइबर पनि उत्पादन सुरु गर्दै छौं। यसको परीक्षण गरिसकेको छौं,’ उनले भने।
कोइरालाको केरा खेती बाराको निजगढमा छ भने जडीबुटी उत्पादन सर्लाहीमा छ। उनी पनि रायजस्तै परिश्रम गर्न पछि हट्दैनन्।
बेरोजगार व्यक्तिलाई तालिमले कुनै पनि पेसा अँगाल्न सहयोग गर्ने कोइरालाको भनाइ छ। ती उद्यमीले उत्पादन गरेका सामानको बजारीकरणको व्यवस्था राज्यले गर्नुपर्ने उनले बताए।
उनीहरूले उत्पादन गर्ने जडीबुटीमा मेन्था, क्यामोमाइल, सिट्रोनेला, लेमनग्रास, मसला पात, भिक्स पात आदि रहेका छन्। उनले जडीबुटीबाट राम्रो आम्दानी लिने गरेका छन्।
‘दुई बाली भिœयाएपछि खाली जमिनमा मेन्था खेती गरेर राम्रो आम्दानी भयो। यो खेती गर्न अन्य बालीभन्दा सजिलो रहेछ,’ उनले भने, ‘रोगको जोखिम नहुने, कम लगानीमा राम्रो आम्दानी हुने र अर्को बालीलाई फाइदा पुग्ने भएकाले जडीबुटी खेती विस्तार भइरहेको उद्यमी कोइरालाले बताए।
‘जडीबुटी खेतीमा रोग लाग्दैन, यसमा कुनै किसिमको विषादी प्रयोग गर्न आवश्यक छैन,’ उनले फेरि थपे, ‘जडीबुटी खेतीलाई गाईवस्तुले पनि नोक्सान गर्दैनन्। यो खेतीले अर्को बालीका लागि मलको कामसमेत गर्छ। जडीबुटी खेती गरेमा फाइदा धेरै छन्।’
बेरोजगार व्यक्तिलाई तालिमले कुनै पनि पेसा अँगाल्न सहयोग गर्ने कोइरालाको भनाइ छ। ती उद्यमीले उत्पादन गरेका सामानको बजारीकरणको व्यवस्था राज्यले गर्नुपर्ने उनले बताए।
किसानलाई अनुदान तथा राहत दिने व्यवस्था गरे यो उत्पादन अझै वृद्धि हुने उद्यमी कोइरालाको भनाइ छ। ‘यसरी पशुपालन तथा कृषि कर्ममा लागेका उद्यमीलाई स्थानीय सरकारले प्राविधिक सहयोग बढाउन आवश्यक छ,’ उनले भने।
नवलपरासी सुनवल–४ का मोहनबहादुर कार्की पनि ८४ लाख लगानीका साथ आफ्नै व्यवसायमा व्यस्त रहेका छन्। उनले कर्णाली प्रदेशमा बाख्रापालन, लुम्बिनीमा भैंसीपालन, हेटांैडामा गाईपालन लगायत गोलभेंडा खेती, इलाममा बंगुरपालन व्यवसाय गर्दै आएका छन्। नवलपरासीको भैंसीफार्ममा अहिले १ सय २ वटा भैंसीका पाडापाडी रहेका छन्। त्यसैगरी उनले विभिन्न स्थानमा लोकल कुखुरा, हाँस, कालिज र टर्कीपालन पनि गरेका छन्।
‘हामीले नवलपरासीको सुनवल नगरपालिकामा मात्र २ सय लिटरभन्दा बढी दुध करिब २ सय ५० जना उपभोक्तालाई बेच्छौं,’ उनले भने, ‘हरेक साता मंगलबार १० ट्रक थारा भैंसी, राँगा, पाडापाडी काठमाडौंमा ममका लागि झार्ने गरेका छौं। मागअनुसार विभिन्न जिल्लामा कसले पाल्ने वा मासु खाने हिसाबले पाडा र भैंसी लैजाने गर्छन्।’
नेपालका गाईभैंसीमा देखिएको लम्पी स्किन रोगको महामारी अहिले तीव्र फैलिरहेको हुँदा उद्यमी कार्कीले दैनिक दुई घण्टाका दरले पशु विज्ञ डाक्टर पनि राखेका छन्।
अब उनको विदेश जाने सोच छैन तर सरकारको सहयोग केही नपाएको गुनासो गर्दै भन्छन्, ‘कृषिमा उत्कृष्ट बजेट छैन। नेपालमा पूर्वाधार विकास गर्नुभन्दा कृषि उत्पादनमा मुख्य बजेट छुट्याउनु पहिलो आवश्यकता हो ।’ कार्की मात्र नभई अन्य व्यवसायमा संलग्न व्यवसायीहरू पनि सरकारद्वारा सन्तुष्ट नभएको उद्यमी व्यवसायीहरूको गुनासो छ।
नेपालका गाईभैंसीमा देखिएको लम्पी स्किन रोगको महामारी अहिले तीव्र फैलिरहेको हुँदा उद्यमी कार्कीले दैनिक दुई घण्टाका दरले पशु विज्ञ डाक्टर पनि राखेका छन्।
‘विभिन्न देशबाट आउने सरसामानको भन्सार बढाउनेबित्तिकै नेपालमा बनेका हरेक सामानको उच्च सम्मानका साथ विदेशमा पनि बेचबिखन गर्न सकिन्छ,’ उनले भने, ‘सरकारले हाम्रो मर्म बुझिदिए विदेशमा जति पनि खपत हुने खाद्य तथा अन्य सामान नेपालमा नै उत्पादन गर्न सक्छौं।’
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०८० जेठ २६ गते नेपालका उत्कृष्ट व्यवसायी भन्दै वैदेशिक रोजगारबाट फर्केर नेपालमा उद्यम गरेका उद्यमीहरू राय, कोइराला र कार्कीलगायत ८ जनालाई राष्ट्रिय पुरस्कार तथा सम्मान पनि गर्यो। यद्यपि विदेशमा सिप सिकेर फर्केका व्यक्ति स्वदेशमै आफूले सिकेको सिपलाई प्रयोगमा ल्याउँछु भन्दा पनि सरकारले सेवासुविधा दिँदैन। यसप्रति सम्मानित उद्यमीहरूकै गुनासो छ।
प्रकाशित: ९ भाद्र २०८० ०३:१४ शनिबार