२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खोला खुल्यो, बाटो छेकियो

पानीले भत्कदै गरेको कपनको चखुन्चाखोला किनारका बाटो। काठमाडौं महानगरपालिकाले अघिल्लो शुक्रबारबाट खोला खोल्नेकाम सुरु गरे पनि व्यवस्थापनमा ढिलाइ गर्दा सर्वसाधारण समस्यामा परेका छन्। तस्बिरः गुणराज लुइँटेल-नागरिक

आकाशमा बादल देख्नेबित्तिकै कपन चखुन्चाखोला किनारका सर्वसाधारण त्रसित हुन गरेका छन्। त्यसमा पनि आइतबार राति परेको ठूलो पानीले खोला खोलेपछि किनारा भत्काउन थालेको छ। यसले झनै आत्तिने बनाएको छ।  

‘अब त आकाशमा बादल लागे पनि डर लाग्छ,’बुढानीलकण्ठ नगगरपलालिका–१० की पार्वती विष्ट भन्छिन्, ‘खोला किनारमा थुपारिएको माटोको भेल कोठामा छिर्न थालिसक्यो।’सडक किनार पनि भत्किन थालेकाले हिँडडुलमा समेत समस्या पर्न थालेको उनले बताइन्। महानगरले खोल्न हतारो गरेजस्तै बनाउन पनि थालेको भए समस्या केही समाधान हुने उनको भनाइ छ।  

बूढानीलकण्ठतिरका बासिन्दाले किनारामा पहिरो जानथालेपछि नाकाबन्दीकै स्थिति व्यहोर्न थालेको बताएका छन्। काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाबीचको आपसी समन्वय अभावले स्थानीयलाई मर्कामा पारेको छ। बूढानीलकण्ठतर्फकाले हिँड्ने बाटो मात्र नपाएका होइनन् उल्टै तिनका धारामा पानी पनि आउन छाडेको छ। बूढानीलकण्ठ नगरपालिका–१० का वडाध्यक्ष नवराज भट्टराईको पनि यो परिस्थिति आएकोमा असन्तुष्टि छ। एकलौटी ढंगबाट खोला खोल्न अग्रसर भएको काठमाडौं महानगरपालिकाले व्यवस्थापनमा भने कम चासो देखाएको उनी बताउँछ। महानगरले डोजर लगाउन हतार गरेको तर व्यवस्थापनमा चाहिँ ढिलाइ गरेको उनको आरोप छ।  

‘व्यवस्थापनमा ढिलाइ हुँदा सर्वसाधारण समस्यामा परेका छन्,’उनले भने, ‘कुनै पनि बेला बस्ती डुबानमा पर्ने सम्भावना बढेको छ।’केटाकेटी र जेष्ठ नागरिकको आगमनमा निकै समस्या परेको बताउँदै उनले फोहोर पानीका कारण रोग फैलने सम्भावनमा पनि उत्तिकै बढेको बताए। अघिल्लो शुक्रबारबाट खोला खोल्न थालेपछि साइडवालको अभावमा किनार भत्किन थालेको भट्टराईले बताए। त्यस्तै ढल र खानेपानीका पाइप खुला भएका कारण थप जोखिम बढेको उनी बताउँछन्। ‘एकाएक सुगम ठाउँ दुर्गम भएको महसुस भएको छ,’ उनी भन्छन्, ‘बाटो भत्कँदा नाकाबन्दीजस्तो महसुस भएको छ।’  

उनले अघिल्लो शुक्रबार भएको सहमतिका कतिपय कुरा अझै पूरा नभएको समेत बताए। ‘त्यही दिन वारपार गर्ने बेलिब्रिज पुलको समेत व्यवस्था गर्ने सहमति थियो,’उनले भने, ‘यतिबेला सर्वसाधारण ढोकाबाट बाहिर निस्कन सक्ने अवस्थामा नरहेको उनले सुनाए।’काम सुरु गर्न सहमतिमा लचक भएको महानगर खोला खोलेपछि पन्छिन थालेको उनको गुनासो छ।  

काठमाडौं महानगरपालिका प्रवक्ता नवीन मानन्धर भने निर्माण कार्यको लागि नापजाँच प्रक्रिया सुरु भइसकेकाले छिट्टै टेण्डरमा जाने बताउँछन्। वर्षात्का कारण अहिले समस्या केही बढी देखिए पनि चाँडै समाधान हुने उनको दाबी छ। ‘कपनमा समस्या त खोला नखोल्दा पनि थियो,’उनले भने, ‘तत्कालका लगि दुवै पक्षले मिलेर समाधान निकाल्नु पर्छ।’उनले भने, ‘बूढानीलकण्ठतिरको समस्या त्यतैबाट समाधान गर्ने हो। काठमाडौंतिरको समस्या हामी हेर्नेछौं।’ यता वडाध्यक्ष भट्टराई भने समाधानका लागि तत्काल काम गर्नुपर्ने बताउँछन्। ‘दीर्घकालीन काम विस्तारै होला, तर अहिले जोखिम हटाउन तत्काल पहल गर्नुपर्छ,’ उनी भन्छन्, ‘अन्यथा कुनै पनि बेला ठूलो जोखिम हुन सक्छ।’

प्रकाशित: ५ भाद्र २०८० ०२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App