३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

नागछाँगाको प्रवर्द्धन गर्न मेला लगाइने

भोजपुरको रामप्रसाद राई गाउँपालिकामा रहेको धार्मिक तथा पर्यटकीयस्थल नागछाँगाको प्रवर्द्धनका लागि मेला लगाइने भएको छ। पर्याप्त प्रचारप्रसार नहुँदा अनौठो प्राकृतिक स्वरूप रहेको यो स्थान ओझेलमा परेसँगै यसको प्रवर्द्धन गर्न मेला लगाउन लागिएको हो। वडा नं २ धोद्लेखानी र वडा नं ६ को सिमनामा पर्ने यो स्थानमा यही भदौ ४ गते मेलाको आयोजना गरिएको हो।

प्रत्येक वर्षको नागपञ्चमीका दिन मेला लगाउने निर्णयसहित यो वर्षको लागि मेलाको तयारी गरिएको रामप्रसाद राई गाउँपालिका-६ का वडाध्यक्ष एकराज आचार्यले बताए। यहाँका दुई वडालाई समेटेर नागछाँगा संरक्षण एवं मेला व्यवस्थापन समिति गठन गरिने वडाध्यक्ष आचर्यको भनाइ छ।

‘हाम्रो ठाउँको प्रसिद्ध धार्मिकस्थल नागछाँगाको संरक्षणमा जुटेका छौं’, उनले भने, ‘यो संरक्षण तथा प्रचारप्रसार गर्न भदौ ४ गते मेलाको आयोजना गरेका छौं। यसलाई प्रत्येक वर्षको नागपञ्चमीमा लगाउने निर्णय समेत गरेका छौं। यसले यो क्षेत्रको प्रचारप्रसारमा टेवा पु¥याउने हाम्रो लक्ष्य हो।’

यहाँसम्म पुग्ने बाटालाई श्रमदानमार्फत मर्मत तथा सरसफाइ गरिने वडाध्यक्ष आचार्यले बताए। नागछाँगा, गंगाखोला, गोल्मेभिर, थामडाँडा लगायतका धार्मिक र पर्यटकीयस्थलको प्रचारप्रसारमा वडा कार्यालयले काम गरिएको उनको भनाइ छ।

नागछाँगाको किंवदन्तीको खोजअनुसन्धान गरिरहेको वडाध्यक्ष आचार्यको भनाइ छ। ‘परापूर्वकालमा सक्कली नाग बस्ने गरेको किंवदन्ती पनि छ’, उनले भने, ‘नजिकै रहेको गोल्मा राजा गोल्मा रानीको भिरको राक्षस आएर मार्न खोजेपछि नाग अलप भएको बूढापाकाले बताउने गरेका छन्। यसको किंवदन्तीको खोजीमा लागेको छौं।’

दुई वडाको सिमनामा रहेको यो स्थानमा विकासमा एक भएर लागेको वडा नं २ का  वडाध्यक्ष राजकुमार तामाङले बताए। स्थानीय स्तरका धेरै मानिस यो ठाउँको महत्वका विषयमा जानकार भए पनि बाह्य रूपमा चिनाउन नसकिएको उनको भनाइ छ। यसको प्रचारप्रसारका लागि विभिन्न गतिविधि अघि बढाइएको उनले बताए। हेर्दा नै यो ठाउँ अनौठो रहेको उनले बताए।

ढुंगाभरि नागको चित्र देख्न सकिने यो ठाउँमा दर्शन गरे मनोकांक्षा पूरा हुने स्थानीयको भनाइ छ। ढुंगाभरि जेलिएका नागको चित्र देखेर जो कोही पनि अचम्म मान्ने गरेका छन्। हेर्दा नै अनौठो लाग्ने यो ठाउँले सबैको मन लोभ्याउने गरेको छ।

गाउँपालिकाले यसको विकाससँगै यसको अन्य तथ्यको विषयमा खोजी गर्ने जनाएको छ। स्थानीयको धार्मिक आस्थाको ठाउँ रहेकाले नागछाँगालाई धार्मिक पर्यटकस्थलका रूपमा विकास गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए।

अहिले पनि गाउँपालिकाले आवश्यक संरचना निर्माणको काम गरिरहेको उनको भनाइ छ। यसको थप विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेकाले सोही अनुसार विकासको काम अघि बढाउने अध्यक्ष राईले बताए।

‘नागछाँगा एउटा प्रकृतिको उपहार हो’, अध्यक्ष राईले भने, ‘यो हाम्रो गाउँपालिको सम्पत्ति पनि हो। यसको संरक्षणमा हामीले ध्यान दिंदै आएका छौं। यसको पर्याप्त प्रचारप्रसार हुन सकेको छैन। यहाँको महत्वलाई चिनाएर एक धार्मिक पर्यटकीय क्षेत्रका रूपमा स्थापित गर्ने हाम्र्रो योजना छ।’

गाउँपालिकाकाले नागछाँगासँगै पर्यटकीय क्षेत्र बेहेरेश्वर मन्दिर, पामखाङ भञ्याङ, चुलाचुली गुफा लगायत स्थानको पनि विकासमा ध्यान दिएको राईले बताए। स्थानीय स्रोत साधनको विकास तथा विस्तारमा गाउँपालिकाले योजनाबद्ध रूपमा काम गरिरहेको गाउँपालिका उपाध्यक्ष वीरेन्द्र राईले बताए।

रामप्रसाद राईको जन्म भएको स्थान रहेकाले यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा प्राथमिकताका साथ काम भइरहेको उपाध्यक्ष राईको भनाइ छ। पर्यटकीय क्षेत्रका रूपमा विकास गरेर नागछाँगालाई गाउँपालिकाको आयस्रोतमा जोड्ने उनले बताए।

‘हाम्रो गाउँपालिका धेरै पर्यटकीय सम्भावना बोकेको ऐतिहासिक स्थानीय तह हो’, उनले भने, ‘यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गरेर राम्रो आम्दानी लिन सकिने अवस्था छ। यस्ता ठाउँको विकासका लागि काम गरिरहेका छौं। पर्यटकीय क्षेत्रको विकास गर्दै यसलाई स्थानीयको आयस्रोतसँग जोड्ने हाम्रो लक्ष्य छ।’ नागछाँगा सरमुकामबाट करिब एक दिनको पैदल दूरीमा अवस्थित छ। यो छाँगाको उचाइ करिब ६० मिटर रहेको गाउँपालिकाले जनाएको छ।  

प्रकाशित: ३ भाद्र २०८० ०४:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App