३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

५ वर्षदेखि बाँदरको चौकीदारी गर्दै प्रेमबहादुर

जुम्लाको सिंजा गाउँपालिका- ६ का भाडगाँउका ३२ वर्षीय प्रेमबहादुर दमाई सबेरैदेखि राति अबेरसम्म गाउँका विभिन्न सडा-गडा (खेत) हरूमा डुलिरहेका भेटिन्छन्। 

उनले गाउँको खेतबारीको हेरचाह गर्न थालेको ५ वर्ष बित्यो, अहिले त झन् गाउँमा बाँदर, भालु लगायतका वन्यजन्तु र गाईबस्तुको बिगबिगी बढेपछि उनलाई एकछिन फुर्सद छैन।

'एकैछिन पनि आँखा झिम्क्याउन दिँदैनन्, म कतै गए बाँदरका हूल पसेर मकै बाली नष्ट गरिदिन्छन्'. उनले भने, 'मेरो रोजीरोटी नै यसैबाट चलिरहेको छ, त्यसैले दिनभरि नै खेतबारीको हेरचाहमा खटिन्छु।'

मकै, सिमी, कोदो, चिनो, कागुनो, फापर र भटमास लगायत बाली र वर्षाको सिजनमा हरियो घाँस रेखदेख गर्न उनी दैनिक खेतबारीको आलीमा बसिरहेका भेटिन्छन्।

यो गाउँ सबैभन्दा उर्वर फाँट र धेरै उत्पादन हुने गाउँ हो। बाँदरले धेरै सताउन थालेपछि दमाईलाई चौकीदारीका लागि राखिएको हो । यस काम गरेबापत उनलाई स्थानीयले तलब दिन्छन्। स्थानीयले मासिक १६ हजार ५ सय तलब दिने गरेको उनले बताए।  

उनले भने, ‘यहीबाट मेरो गुजारा चलेको छ। घर भन्दा टाढाको छेउका फाँटहरूमा लगाउने खेती बाली नष्ट गर्ने बाँदरको बिगबिगी बर्सेनि हुन्छ।’ 

आफूहरू गएर हेर्न सम्भव नहुने देखेपछि चौकीदार राखिएको स्थानीय युवा चक्रबहादुर रावतले बताए।

'चौकीदार राखेपछि यो समस्या धेरै हदसम्म हल भएको छ, हामी त हैरान भइसक्यौँ,' उनले भने, 'चौकीदार राखेपछि क्षति पनि केही कम भएको छ, हाम्रो दुःख पनि हटेको छ ।' तर एउटै चौकीदारले सबैतिरका बाँदर, गाईबस्तु लखेट्न गाह्रो हुने उनले बताए ।

बाँदर, भालु र गाईबस्तुको चौकीदारी गरिरहेका प्रेमबहादुर दमाईले यहाँ भएका खेतबारीको उत्पादनका आधारमा मासिक १६ हजार ५ सय रुपैयाँ पाउँछन्, प्रतिघरबाट १ सय उठाउने गरेको अर्को युवा भीम बहादुर रावतले बताए। 

उक्त गाउँमा १ सय ६५ घरधुरी छ। प्रेमबहादुर दमाईले जीविकोपार्जन गर्न पुगे पनि निकै सास्तीको काम भएकाले उत्पादन अनुसार पारिश्रमिक बढाउने माग उनको छ।

प्रकाशित: २ भाद्र २०८० ०७:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App