अरू बेला झुन्डझुन्डमा बाँडिएर आपसमा झगडा र लखेटालखेट गर्ने बाँदर प्राकृतिक संकट पर्दा भने मिलेर बस्ने गरेको एक वैज्ञानिक अध्ययनले देखाएको छ। क्यारेबियन द्वीप पोर्टुरिकोमा सन् २०१७ मा आएको ‘मारिया’ नामक सामुद्रिक चक्रवातका कारण हजारौं मानिसले ज्यान गुमाएका थिए भने अर्बौं डलर बराबरको क्षति भएको थियो। आँधीबेहरीले द्वीपका अधिकांश रूख सखाप भएका थिए। तर उक्त प्राकृतिक संकटबाट बच्न र प्रचण्ड गर्मी छल्न त्यहाँका रेसस मकाक प्रजातिका बाँदरले भने एकै रूखको छाया साझेदारी गरेर आपसमा सम्बन्ध विस्तार गरेको पाइएको छ।
वैज्ञानिक जर्नल बायो आरएक्सआइभीमा हालै प्रकाशित अध्ययन प्रतिवदेनका अनुसार प्रचण्ड आँधीबेहरीले रूखबिरुवा तथा अन्य अग्ला संरचना तहसनहस भएका र त्यतिबेलाको प्रचण्ड गर्मीबाट बच्न अकस्मात् दुर्र्लभ बनेको छायामा बाँदरका यी प्रजातिहरू मिलेर बस्न थालेको पाइएको हो।
अरू बेला झुन्डझुन्डमा बाँडिएर आपसमा झगडा र लखेटालखेट गर्ने बाँदर प्राकृतिक संकट पर्दा भने मिलेर बस्ने गरेको एक वैज्ञानिक अध्ययनले देखाएको छ।
त्यतिबेलाको ४० डिग्रीको प्रचण्ड गर्मी छल्न आँधीबाट बचेखुचेका रूखको छाया अथवा अन्य वस्तुको छायामा उनीहरूले एकसाथ निर्भर हुनुपरेको थियो। यसरी आँधीबेहरीपछि सिर्जना भएको नयाँ वातावरणीय परिस्थितिमा सामाजिकताका आधारमा उनीहरू बाँच्न सफल भएका थिए।
‘मारिया’ आँधीबेहरीका कारण आएको भीषण वर्षा र हुरीले क्यारेबियन सागरमा रहेको द्वीप पोर्टुरिकोको एक चौथाइ ‘बायोमास’ नष्ट भएका थियो। पोर्टुरिकोको तटीय क्षेत्र कायो सान्टियागोमा त दुई तिहाइ बोटबिरुवा नष्ट भएका थिए।
घटनाको पाँच वर्षपछिसम्म पनि कायो सान्टियागोमा ६ सयभन्दा कम रूखहरू मात्र बाँकी रहेको अनुसन्धानकर्ताले उल्लेख गरेका छन्। पोर्टुरीको विश्वविद्यालयअन्तर्गतको क्यारेबियन प्राइमेट्स रिसर्च सेन्टरले यही द्वीपमा रहेका ६०० मकाक बाँदरका भिन्न समूहहरूको अध्ययन गरेको थियो।
त्यसो त आँधीबेहरीले तहसनहस गर्नुअघि कायो सान्टियागोमा रूख र अन्य वस्तुले उपलब्ध गराउने छायाका लागि कुनै प्रतिस्पर्धा गर्नुपर्ने अवस्था थिएन। रूखहरू ढलेपछि चिसोका लागि चट्टानको छाया, पानी जमेको स्थल तथा कतिपय अवस्थामा उभिरहेका मानिसको छायामा समेत बाँदरले आश्रय लिने गरेको वैज्ञानिकले जनाएका छन्।
आँधीबेहरीअघि तहगत संरचना र तदनुरूपको आनीबानीमा रहेका बाँदरको यो प्रजाति खाद्यवस्तु, हैसियत तथा यौनका लागि आपसमा लड्ने–भिड्ने गर्थे। तर आँधीबेहरी सकिएपछि तिनीहरूले सामाजिक ‘नेटवर्क’ विस्तार गरेको पाइएको हो। हाल यी बाँदरले आपसमा भैmझगडा गरेको देखिए पनि यसअघिको जस्तो स्तरमा नभएको अनुसन्धानमा संलग्न वैज्ञानिकहरूको ठहर छ। नयाँ मित्रताका कारण यी बाँदरले साँघुरो ठाउँमा उपलब्ध छाया साझेदार गरेको देखिएको हो।
‘मारिया’ आँधीबेहरीका कारण आएको भीषण वर्षा र हुरीले क्यारेबियन सागरमा रहेको द्वीप पोर्टुरिकोको एक चौथाइ ‘बायोमास’ नष्ट भएका थियो। पोर्टुरिकोको तटीय क्षेत्र कायो सान्टियागोमा त दुई तिहाइ बोटबिरुवा नष्ट भएका थिए।
यो अध्ययनअन्तर्गत सन् २०१७ अघिको पाँच वर्ष र त्यसपछिका पाँच वर्षसम्म गरी कुल १० वर्षसम्म बाँदरका समूहरूबीच आपसमा हुने अन्तक्रियाको समीक्षात्मक अध्ययन गरिएको थियो। आँधीबेहरीपछिको अर्थात् सन् २०१८ देखि २०२२ सम्मको अवधिमा यी बाँदरहरू बिहानको समयभन्दा मध्याह्नमा गर्मी छल्न आपसमा मिलेर बसेको अनुसन्धानकर्ताले बताएका छन्। आँधीबेहरीपछिको पाँच वर्षको मध्याह्नमा चिसोका लागि छायामा बसेका र सामाजिक प्रवृत्तिका बाँदरहरूको मृत्युदरसमेत कम रहेको देखिएको छ।
वातावरण परिवर्तन हँुदा बाँच्न कसरी आनीबानीले सहयोग गर्छ भन्ने विषयमा अनुसन्धानको नतिजा महत्व पूर्ण मानिएको छ। जंगली बाँदरहरूमा समेत यही आचरण र आनीबानी रहेको अथवा नरहेको भन्ने विषयमा अझै प्रस्ट नभए पनि बाँदरको मृत्युदरमा सामाजिकताले असर पार्ने अध्ययनको निष्कर्ष छ। अनुसन्धानकर्ताले यस विषयमा अझै थप अध्ययन र अनुसन्धान आवश्यक रहनेमा जोड दिएका छन्।
प्रकाशित: २ भाद्र २०८० ००:४४ शनिबार