२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गाउँमा सायद पहिरो गयो कि...

फाइल तस्वीर

‘हररात सपनीमा ऐंठन हुन्छ, गाउँमा सायद पहिरो गयो कि...’ भारतको हिमाञ्चलमा बाढी र पहिरोका कारण ५५ जनाभन्दा बढीले ज्यान गुमाएको समाचार पढेपछि मकवानपुरका राजन बलले मंगलबार सामाजिक सञ्जालमा गायक दीप श्रेष्ठको गीतको अंश उद्धृत गर्दै लेखेका छन्, ‘पहिरोको समाचार जहाँको पढे पनि मन झसंग हुन्छ।’

उनको मन झसंग हुनुको कारण अघिल्लो साता मात्र मकवानपुरमा पहिरोले एकको मृत्यु र पाँचभन्दा बढी बेपत्ता भएको खबर आउनु पनि हो। राजधानीमा काम गर्दै आएका उनी पहिरोले परिवारमा जोखिममा नपरे पनि मन भने सधैं डराइरहने बताउँछन्। ‘पहाडमा घर हुनेलाई सधैं पहिरोकै डर छ,’ उनी लेख्छन्, ‘सहरमा बस्दा पनि गाउँकै पिर छ।’

उनको जस्तै डर छ राजधानीमा बस्दै आएका पर्वतको कुस्माका नरेन्द्र बिडारीको पनि। पहाडको खोचमा आफ्नो घर भएको बताउँदै उनी कुनै पनि बेला त्यहाँ पहिरो जान सक्ने डर मनमा आउने बताउँछन्।

‘अझ पछिल्लो समयमा त गाउँगाउँमा डोजरले बाटो खोतलेपछि पहिरोको जोखिम झनै बढेको छ,’ उनी भन्छन्, ‘त्यसैले राजधानीको झमझम पानीमा पनि पर्वतको पहिरोको डर भइरहन्छ।’

 डर नहोस् पनि किन, मनसुन सुरु भएयता पहिरोका कारण ४१ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्का मनसुन सुरु भएको जेठ ३१ गतेबाट मंगलबार बिहानसम्मको तथ्यांक प्रस्तुत गर्दै सो अवधिमा ४०९ वटा पहिरो गएको सुनाउँछन्।

पहिरोमा परी १० जना बेपत्ता र ४० जना घाइते भएका छन्। पहिराका कारण १ हजार ८४६ घरपरिवार प्रभावित बने भने ७१ घरमा पूर्ण रूपमा क्षति पुगेको उनी बताउँछन्।

उनको मन झसंग हुनुको कारण अघिल्लो साता मात्र मकवानपुरमा पहिरोले एकको मृत्यु र पाँचभन्दा बढी बेपत्ता भएको खबर आउनु पनि हो। राजधानीमा काम गर्दै आएका उनी पहिरोले परिवारमा जोखिममा नपरे पनि मन भने सधैं डराइरहने बताउँछन्। ‘पहाडमा घर हुनेलाई सधैं पहिरोकै डर छ,’ उनी लेख्छन्, ‘सहरमा बस्दा पनि गाउँकै पिर छ।’

नेपालमा हरेक वर्ष मनसुन सुरु हुनासाथ पहिरो र बाढीका घटना हुन्छन्। पहिरोको मुख्य कारण बाढी मानिन्छ। सानाठुला खोल्सा, खोला र ठुला नदीहरूमा पानीको बहाव बढेसँगै जमिन कटानी सुरु हुन्छ र ठुलो प्राकृतिक विपद् सिर्जना हुन्छ। भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालमा कार्यरत भूगोलविद् गोपीकृष्ण बस्याल पहिरोको विषयमा सामान्य जानकारी मात्र राखे पनि जोखिममा कमी आउन सक्ने बताउँछन्।

पहाडी भूगोल भएको ठाउँमा बस्ती भएकाले वर्षात्को समयमा धेरै स्थान जोखिममा रहने उनी बताउँछन्। आफ्नो वरपरको जमिनको नियमित निरीक्षण गर्नुपर्ने उनी सुझाउँछन्। ‘कतै धाजा फाटेको या नयाँ मूल फुटेको छ भने पहिरोको जोखिम बढी हुन्छ,’ उनी भन्छन्, ‘आफ्नो वरपरको क्षेत्रको सामान्य निरीक्षण गर्दा पनि पहिरोको सम्भावित जोखिमबाट सुरक्षित रहन सकिन्छ।’

योसँगसँगै जथाभाबी विकास निर्माणले पनि पहिरोको जोखिम बढाएको छ। ठुला योजनामा भूगर्भविद्को निरीक्षण हुने भए पनि पछिल्लो समयमा स्थानीय स्तरमा मनोमानी ढंगले डोजर चलेका कारण पनि पहिरोको घटना बढेको उनी बताउँछन्। ‘जमिन खनेपछि त्यहाँको चट्टान वा माटोको अवस्था खल्बलिन पुग्छ र जमिन भासिने वा बग्ने सम्भावना रहन्छ,’ उनी भन्छन्, ‘यी सम्पूर्ण भौगर्भिक अवस्थाको अध्ययन अनुसन्धान आवश्यक छ।’

त्यस्तै विकास निर्माणको कार्य हचुवाका आधारमा भन्दा पनि भूगर्भविद्को सहयोगबाट गर्नुपर्ने उनको बुझाइ छ। पहाडी क्षेत्रको भूभाग चलाउँदा एकदम होसियारी अपनाउनुपर्ने उनको बुझाइ छ।

नेपालको पहाडी भूभाग हिन्दुकुश हिमशृंखलाको मध्य भागमा रहेका कारण पनि यहाँका पहाड कमजोर रहने र यसले यहाँ बारम्बार पहिरो गइरहने भूगर्भशास्त्री खुमनारायण पौडेल बताउँछन्।

कमजोर पहाडमा बस्ती भएका कारण पहिरोले बारम्बार मानव जीवन जोखिममा पार्ने गरेको उनको बुझाइ छ। त्यसो त पहिरोजस्ता प्राकृतिक प्रकोपबाट बच्न स्वयं नागरिक पनि बढी चनाखो हुनुपर्ने उनको सुझाव छ। त्यसबाहेक सरकार र सरकारी संयन्त्रले जारी गरेको सूचना र जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान हेर्ने, सुन्ने र आफू जोखिमयुक्त ठाउँमा छु भन्ने लाग्यो भने केही दिनका लागि सुरक्षित स्थानमा सर्नुपर्ने उनी बताउँछन्।

भूगोलविद् बस्याल पनि यस्तै धारणा राख्छन्। प्रकोपबारे जानकारी राखेर बचाउको उपाय खोज्नु बुद्धिमत्तापूर्ण कदम हुने उनी बताउँछन्। ‘घरखेतमा खोलिने साना खोल्सा र कुलेसाबाट पानीको व्यवस्थापन गर्दा पनि ठुलो पहिरोको जोखिम टार्न सकिन्छ,’ उनी भन्छन्, ‘तर पछिल्लो समय खेतीपातीमै कमी हुँदा यस्तो हुन सकिरहेको छैन। नयाँ खुलेका बाटोमा ढल निकासको व्यवस्था राम्रो नहुँदा पहिराको झनै जोखिम बढेको उनी बताउँछन्।

‘पहाडको बीचबाट खुलेको बाटोले माथि बस्ने र तल बस्ने दुवैको जीवनमा पहिरोको जोखिम निम्त्याएको हुन्छ,’ उनी भन्छन्, ‘यस्ता विकास निर्माणको कार्यमा विशेष ध्यान दिनु जरुरी छ ।’ पछिल्लो समय राजनीतिक प्रेरित विकासको क्रम बढेकाले पहिरोको जोखिम पनि थप बढाएको उनले बताए।

नेपालको पहाडी भूभाग हिन्दुकुश हिमशृंखलाको मध्य भागमा रहेका कारण पनि यहाँका पहाड कमजोर रहने र यसले यहाँ बारम्बार पहिरो गइरहने भूगर्भशास्त्री खुमनारायण पौडेल बताउँछन्।

हिजोका घटनाबाट पाठ सिकेर जोखिमपूर्ण बस्ती समयमै स्थानान्तर गर्ने हो भने अहिलेका प्रकारका विपद्बाट हुने मानवीय एवं भौतिक क्षति उल्लेख्य रूपमा कम गर्न सकिने उनको बुझाइ छ। ‘हामीले हिजोको घटनाको मात्र राम्रोसँग अध्ययन गर्‍यौं भने आजको पहिरोमा कमी ल्याउन सकिन्छ,’ उनी भन्छन्, ‘तर अहिले पहिरो रोकथाममा सोचेजस्तो काम हुन सकिरहेको छैन। त्यसैले गाउँमा पहिरोको जोखिम जारी नै छ।’

प्रकाशित: १ भाद्र २०८० ०१:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App