९ असार २०८१ आइतबार
image/svg+xml
समाज

फरक जिल्लाका उपभोक्ता भएका वन संरक्षणमा ‘चुनौती’

इलामको माई नगरपालिका–८ स्थित सतासीधाम सामुदायिक वनमा केही दिनअघि काटिएका सखुवा।

वनक्षेत्र इलामभित्र भए पनि बढी उपभोक्ता अन्य जिल्लामा रहेका सामुदायिक वनको संरक्षण चुनौतीपूर्ण बनिरहेको छ। उपभोक्ता मात्र नभई वन समितिका मुख्य पदाधिकारी अर्को जिल्लाका बासिन्दा हुँदा वन संरक्षणभन्दा विनाश बढी हुने गरेको देखिएको हो।

इलामका चुलाचुली र रोङ गाउँपालिका तथा माई नगरपालिकाका दर्जन हाराहारी सामुदायिक वनका उपभोक्ता सीमावर्ती झापाका बासिन्दा छन्। एउटा जिल्लाको वनका उपभोक्ता अर्को जिल्लाका हुँदा वनजन्य वस्तु उपभोग बढी हुने तर संरक्षणका काम कम हुने गरेको डिभिजन वन कार्यालयले जनाएको छ।

अहिले इलामका माई सब–डिभिजन वनअन्तर्गत ६० सामुदायिक वनमध्ये छ वटाका उपभोक्ता इलाम र झापा दुवै जिल्लाका छन्। रोङ सब–डिभिजनका चार वनका उपभोक्ता पनि दुवै जिल्लाका छन्। सामुदायिक वनका उपभोक्ता समितिका प्रायः मुख्य पदाधिकारी र अधिकतर सदस्य चाहिँ झापापट्टिकै हुने गरेका ठाउँमा विनाश बढ्दो देखिएको हो। ‘वन अर्काको जिल्लामा भएपछि संरक्षण नगर्ने तर उपभोग बढी गर्न खोज्ने प्रवृत्ति उपभोक्तामा देखिन्छ,’ डिभिजनल वन अधिकृत दानबहादुर श्रेष्ठ भन्छन्, ‘यस्तो वनको संरक्षण चुनौतीपूर्ण हुँदैछ।’

माई सब–डिभिजनअन्तर्गत माई नगरपालिका–८ को सतासीधाम सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षसहित सात जना भर्खरै पक्राउसमेत परे। ढलापडा र सुक्खा खडा रुखका नाममा हरिया सखुवा कटान गरेपछि उनीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेमा वन उपभोक्ता समिति अध्यक्ष हेमबहादुर थापा, लेखा समिति संयोजक इन्द्रप्रसाद प्रसाईं, सदस्यद्वय शेरबहादुर बुढाथोकी र बद्री थापा, कार्यालय सचिव केदार भट्टराई, रुख कटानमा सघाउने सुमन राई र काठ ढुवानीमा प्रयोग भएको ट्र्याक्टरका चालक पदम तामाङ छन्। उनीहरूमध्ये सुमनबाहेक सबै इलामबाहिरका हुन्।

पक्राउहरूको बयान लिइएको र उनीहरूले सामुदायिक वनका हरिया रुख कटान स्वीकारेको डिभिजनल वन अधिकृत श्रेष्ठले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ। आरोपीहरूले सतासीधाम वनका सखुवाका १७ रुख काटेको पाएको श्रेष्ठले बताए। ‘विभिन्न चार स्थानमा रुख काटेको भेटिएको छ,’ उनले भने, ‘काटिएका रुखमध्ये केही बरामद भएका छन् भने केही उनीहरूले बेचिसकेको अनुमान छ।’

इलामको वनका उपभोक्ता बाहिरी जिल्लाका हुँदा बढी वन विनाश हुने गरेको ठूलो उदाहरण चाहिँ सतासीधाम वन नै भएको डिभिजनले जनाएको छ। श्रेष्ठले भने, ‘आन्तरिक खपतका नाममा ढलापढा र सुख्खाखडा निहुँ पारेर हरियो रुख नै काट्ने चलन देखियो।’ विभिन्न सामुदायिक वन समितिले उपभोक्ताका लागि भनेर ढलापढा र सुख्खाखडा काट्न अनुमति लिने तर उपभोक्तालाई वितरण नगरी बाहिरका फर्निचर उद्योग र व्यापारीलाई बेच्ने गरेको समेत पाइएको छ। डिभिजन प्रमुख श्रेष्ठले कतिपय वन समितिका पदाधिकारीले कोषको रकम नै हिनामिना गरेको पाएको पनि बताए।

डिभिजन वनका अनुसार माई सब–डिभिजनअन्तर्गत गैडे (उपभोक्ता संख्या ५ हजार ३०८), सतासीधाम ( ७ हजार ६५०), मैनाचुली (६ हजार ५६७), चुलाचुली (३ हजार ३६०), पाथीभरा (५ हजार १९) र दाहालटार सामुदायिक वन (३ हजार ३२) का उपभोक्ता झापा–इलाम दुवै जिल्लाका छन्। रोङ सब–डिभिजनअन्तर्गत नमुना (२ हजार २०४), तीनतले (६ हजार ८४०), हडियाचुली (१ हजार १५१) र चुल्ठे वन (२ हजार ६४८)का उपभोक्ता पनि दुवै जिल्लाका छन्। वनक्षेत्र रहेको इलाम जिल्लापट्टि बस्ती नै पातलो भएकाले उपभोक्ता वा उपभोक्ता समितिका पदाधिकारी पनि थोरै र झापापट्टिकै बढी भएको देखिएको छ। जिल्लामा दुई सय ४० सामुदायिक, ७७ निजी र एक धार्मिक वन छन्। 

प्रकाशित: ३१ श्रावण २०८० १४:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App