२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

बागमतीमा ६ प्रतिशतले बढ्यो अपराध

फाइल तस्बिर

बागमती प्रदेशमा अपराधिक घटना बढ्दो क्रममा रहेको पाइएको छ। आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा ६ दशमलव २२ प्रतिशतले अपराध बढेको हो।

बागमती प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार २०७८/७९ मा ४ हजार ४०५ वटा अपराधिक मुद्दा दर्ता भएकोमा २०७९/८० मा बढेर ४ हजार ६७९ वटा पुगेको छ। २०७८/७९ मा प्रदेशभर कर्तव्य ज्यान सम्बन्धि ५८ वटा मुद्दा दर्ता हुँदा अघिल्लो आर्थिक वर्ष ४३ वटा भएको छ। यस्तै ज्यान मार्ने उद्योग सम्बन्धि २०७८/७९ मा ११३ वटा दर्ता हुँदा अघिल्लो आर्थिक वर्षमा ६८ वटा दर्ता भएका छन्। २०७८/७९ मा सवारी ज्यान सम्बन्धि ३२३ वटा मुद्दा दर्ता भएकोमा अघिल्लो आर्थिक वर्ष २३६ वटा भएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले जानकारी दिए।

उनका अनुसार २०७८/७९ मा प्रदेशमा लागूऔषध सम्बन्धि ३४३ वटा मुद्दा दर्ता हुँदा अघिल्लो आर्थिक वर्ष ३६३ वटा मुद्दा दर्ता भएको छ। बागमती प्रदेशमा आर्थिक वर्ष २०७८/७९ मा जबरजस्ती करणी सम्बन्धि मुद्दा २६५ वटा र करणी उद्योग सम्बन्धि ६८ वटा मुद्दा दर्ता हुँदा अघिल्लो आर्थिक वर्षमा जबरजस्ती करणी सम्बन्धि २६४ वटा र करणी उद्योग सम्बन्धि ६३ वटा मुद्दा दर्ता भएको थियो। यता आत्महत्या सम्बन्धि मुद्दा भने बढेको छ। २०७८/७९ मा ९०२ वटा आत्महत्याको मुद्दा दर्ता हुँदा अघिल्लो आर्थिक वर्ष बढेर ९४० वटा पुगेको छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार चोरी, ठगी र अन्य शिर्षकको मुद्दा दर्ता पनि बढेको छ। ‘समग्रमा बागमती प्रदेशमा अपराधको मुद्दा बढ्दो क्रममा रहेको छ। २०७८/७९ को तुलनामा अघिलो आर्थिक वर्ष २०७९/८० मा ६ दशमलव २२ प्रतिशतले अपराध बढेको हाम्रो तथ्यांकले देखाएको छ’, बागमती प्रदेश प्रहरी प्रवक्ता रेग्मीले भने, ‘अपराधिक घटना हुन नदिन प्रहरीले आफ्नो सक्रियता बढाइरहेकै छ। अपराध बढ्न नदिन प्रहरीसँगै समुदायको पनि उत्तिकै भूमिका रहने गर्दछ।’ यस्तै बागमती प्रदेश प्रहरी प्रमुख (प्रहरी नायब महानिरीक्षक) किरण राणाले पछिल्लो समय लागूऔषध दुव्र्यसन ठूलो समस्याको रुपमा देखा परेको बताइन्। ‘लागूऔषध उत्पादन, सेवन र विक्रीवितरणमै बागमती प्रदेश अघि रहेको छ’, उनले भनिन्, ‘यो हामी सबैका लागि चुनौतीको विषय हो।’ योसँगै फरार अपराधी पक्राउ, सबै किसिमको तस्करी नियन्त्रण, लागूऔषध खेति, बिक्री वितरण, ओसारपसार र प्रयोग विरुद्ध विशेष अभियान संचालन गर्ने योजना रहेको जानकारी दिइन्।  

प्रकाशित: २९ श्रावण २०८० १३:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App