४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सुदूरपश्चिको ७ जिल्ला जोड्ने राजमार्ग अझै खुलेन

सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला जोड्ने एकमात्र राजमार्ग अवरुद्ध भएको एकसाता हुदाँ पनि अझै सुचारु हुन सकेको छैन।

गत सोमबार राती भिमदत्त पन्त राजमार्ग अन्तर्गत गोदावरी नगरपालिका वडा नं ४ बुढितोलामा पहिरोले ३ सय मिटर भन्दा बढी भुभाग सडक भाँसिएको थियो। वर्षाले पहिरो जाने क्रम नरोकिदाँ भीमदत्त राजमार्गमा अवरुद्ध सडक अझै सुचारु हुन सकेको छैन। पहिरोले जमिन नै भाँसिएर सडकको करिव ७ सय मिटर सडक ठाउँ ठाउँमा भत्किएको र चिरा परेको छ। डोजर लगाएर र मान्छेहरु खटिएर पहिरो पन्छ्याउने, ढुगाँ, जाली हाल्ने लगायतका काम गरिराखिएको भएपनि पहिरो जाने, सडक भाँसिने क्रम नरोकिएका कारण राजमार्ग सुचारु गर्न सकस परेको बताइएको छ।

पहिरोले सडक भत्केको र भाँसिएको ठाउँमा भौगोलिक बनावट पनि जटिल भएको र वर्षा नरोकिएकोले राजमार्ग अझै सुचारु हुन नसकेको राजमार्ग तथा सुरक्षा व्यवस्थापन कार्यालय अत्तरियाका प्रहरी उपरिक्षक नेत्रमणि गिरीले बताएका छन्।

‘पहिरोले अवरुद्ध सडक खुला गर्न डोजरले पनि मान्छेहरुले पनि निरन्तर काम गरिरहेका छन, बर्षा नरोकिएकोले सडक सुचारु हुन सकेको छैन’ उनले भने,‘वर्षा नरोकिएसम्म सडक सुचारु हुन गाह्रो देखिन्छ।’

सुदूरपश्चिम प्रदेशको पहाडी सात जिल्लालाई प्रदेश राजधानी रहेको कैलाली लगायत तराईका जिल्लालाई जोड्ने एकमात्र राजमार्ग एक साता देखि अवरुद्ध हुदाँ ओहोरदोहोर गर्ने यात्रुलाई सास्ती भएको छ। सर्वसधारण पहिरो गएको भागमा १ किलोमिटर पैदल हिडेर सवारीसाधन भएको ठाउँ सम्म पुगेर यात्रा गर्ने गरेका छन्। ‘पहिरोले सडक बन्द हुदाँ एक किटोमिटर अफ्ठ्यारो बाटो पैदल हिड्नु पर्यो ’ धनगढी आएका डडेल्धुराका तेजबहादुर बोहराले भने।  

एक साता देखि अवरुद्ध सडकका कारण तराईबाट पहाडि जिल्लामा खाद्यान, औषधी लगायतका सामग्री लैजान सकिएको छैन। खाद्यान बोकेका गाडीहरु जान नसक्दा पहाडी जिल्लामा खाद्यान अभाव हुन थालेको त्याहाँका स्थानीयले बताएका छन्।  

डडेल्धुरा लगायतका जिल्लाबाट तराईका जिल्लामा तरकारी ल्याउन सकिएको छैन। किसानले बिक्रीका लागी खेतवारीबाट टिपेको तरकारी ओसार्न नसक्दा कुहिएर क्षती हुन थालेको बताएका छन्। गाडीमा राखेर धनगढी लगायतका जिल्लामा ल्याउन लागेको तरकारी पनि एक साता रोकिदाँ सडेर नोक्शान भएको तरकारी व्यवसायीले बताएका छन्। ‘सडक नखुलेर एक साता सम्म धनगढी ल्याउन लागेको गाडी रोकिदाँ डेढ क्विन्टर हरियो साग , ५० के.जी. धनियाँ, ढाई क्विन्टर मुला र ७५ केजी न्युरो कुहिएर नोक्सान भयो’ तरकारी व्यवसायी धिरेन्द्र झा ले भने,‘सडक अवरुद्ध हुदाँ म जस्तै अरु व्यवसायीको पनि ठूलो परिमाणमा तरकारी नोक्सान भएको छ।’

पहाडी जिल्लाहरुबाट रेफर गरिएर उपचारका लागी धनगढी लगायतका राम्रा सुविधासम्पन्न अस्पताल आउने बिरामीलाई समस्या परेको छ। सडक भत्केको ठाउँमा ७ सय मिटर बढी काँधमा बोकेर बिरामीलाई सवारीसाधन तथा एम्वुलेन्स भएको ठाउँसम्म पुगाउनु परेको छ।

सुदूरपश्चिम प्रदेशका ९ जिल्ला मध्य डडेल्धुरा, दार्चुला, बैतडी, बझाङ, बाजुरा, अछाम र डोटी गरि ७ पहाडी जिल्लाको प्रदेश राजधानी रहेको कैलाली लगायतका जिल्ला जोड्ने एकमात्र भिमदत्त पन्त राजमार्ग एक साता सम्म अवरुद्ध भएर लाखौ वासिन्दाको जनजिवन अत्यन्त कष्टकर हुँदा पनि राज्यका निकायले महत्व दिएर सडक खुलाउन जुन रुपमा प्रयास गर्नु पथ्र्यो त्यस अनुरुप चासो नदिइएको स्थानियको गुनासो छ।

कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक देवेन्द्र सिंह पालले भाँसिएको सडकमा जाली, ढुंगा, गिठ्ठी हाल्ने काम भैरहेपनि बर्षाका कारण सडक भाँसिने क्रम नरोखिदाँ सडक सुचारु गराउन नसकिएको बताएका छन्। ‘ढुंगा, जाली हालेर र पहिरो पन्छ्याएर केहि साना गाडीहरु पार  गराउन खोज्यौं, ती गाडीहरु गुडाउदाँ अझ सडक भाँसिने गरेको छ, पानी पनि नरोकिएकोले ढुंगा, जाली हाल्दा पनि सडक भाँसिने क्रम नरोकिदाँ सडक अवरुद्ध खुल्न सकिरहेको छैन’ उनले भने,‘वर्षा भैरहेको र सडक भाँसिरहेकोले सडक सुचारु कहिले सम्म हुन्छ भनेर एकिन भन्न सकिने अवस्था छैन।’ वैकल्पिक बाटो पनि नभएकाले सडक अवरुद्ध हुदाँ समस्या भएको उनले बताए।

प्रकाशित: २८ श्रावण २०८० १४:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App