८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

तीन दिनदेखि अवरुद्ध उदयपुरका पहाडी भेगका सडक

अवरुद्ध सडकको पहिरो पन्छाउँदै स्थानीय। तस्बिरः महेश्वर

पछिल्लो ३ दिनयताको निरन्तर वर्षाले उदयपुरको पहाडी भेगका सडकहरु पुनः अवरुद्ध हुन पुगेका छन्। पहाडी भेगका सबै सडकहरु कच्ची भएकाले वर्षाका कारण पहिरो र हिलोले यातायात आउजाउ गर्न नसक्ने अवस्था भएपछि जिल्लाबासीलाई समस्या परेको छ।

वर्षाले गर्दा ठाउँठाउँमा पहिरो जाने, भत्कने र खाल्डाखुल्डीमा हिलो जम्ने भएपछि गाउँ र सदरमुकामको यातायात सम्बन्ध विच्छेद हुन पुगेको हो। ३ दिनदेखि लगातार वर्षा भईरहेपछि अघिल्लो विहानदेखि साना ठूला सबै सवारी साधन आउजाउ गर्न बन्द भएको छ। सदरमुकाम त्रियुगा नगरपालिका गाईघाटदेखि कटारी, चौदण्डीगढी र बेलका नगरपालिका तथा उदयपुरगढी र रौतामाई गाउँपालिकालाई मदन भण्डारी लोकमार्गले छोएको छ। लोकमार्गले छोएको ठाउँसम्म यातायात आउजाउ सहज भए पनि ती स्थानीयतहबाट पहाडी भेग जोडिएका कच्ची सडकहरु भने सबै अवरुद्ध हुन पुगेको स्थानीय यातायात व्यवसायी बताउँछन्।

उता लोकमार्गले नछोएका ताप्ली र लिम्चुङबुङ गाउँपालिका भने यातायात अवरुद्ध भएकाले सदरमुकाम आउनसमेत नसक्ने अवस्थामा पुगेका छन्। मदन भण्डारी लोकमार्गले छोएका कारण गाईघाटदेखि चौदण्डीगढी केन्द्र बेलटार र बेलका केन्द्र रामपुुर हुँदै सुनसरी आउजाउ गर्न सहज छ। तर, सोही मार्ग भएर जोडिएका पहाडी भेगका सडकहरुको अवस्था वर्षाले बिगारेपछि नगरपालिका केन्द्रबाट पहाडी वडातर्फ आउजाउ गर्न हम्म भइरहेको छ। बेलटारबाट सिद्धिपुर, ब्वाँजरघाट, धाब्लाङ, साउने जोड्ने सडक ठाउँठाउँमा भत्केर यातायात चल्न नसक्ने अवस्थामा पुगेको छ। समथर भूभागमै पनि त्रियुगामा बाढी आएका कारण सुन्दरपुर, शिवाई, हडिया र जोगीदह आउजाउ गर्न मुस्किल भइरहेको छ।

उता बेलकाको रामपुरबाट जोडिएको मैनामैनी, बबला, ओख्रेनी जान सक्ने अवस्था वर्षाकै कारण हाललाई अन्त्य भएको छ। दक्षिण पश्चिमतर्फको समथर भूभागहरु भागलपुर, श्रीलंका टापु, जगन्ना, बान्डाँडातर्फ जाने सडकहरु जलमग्न भएर गाडी घोडा हिड्न नसक्ने अवस्था सिर्जना भएको स्थानीयको भनाई छ। पहाडी भेगमा त सडकको दुरावस्थाले समस्या हुने नै भयो नै, तराई र सम्म ठाउँमै पनि कच्ची सडक र नदी खोलाको बाढीले गाडी चल्न नसक्ने भएको स्थानीयको दुखेसो छ।

पश्चिमतर्फ लोमार्गले रौतामाईको मुर्कुची, उदयपुरगढीको नेपालटार, मौवासी हुँदै कटारी नगरपालिकालाई चिरेर अघि बढेकाले समथर ठाउँमा यातायातको पहुँच त्यत्ति गाह्रो छैन। तर, रौतामाईको मुर्कुचीभन्दा बाहेकका वडाको भूभागमा वर्षाले यातायात चल्न नसक्ने अवस्था बनाइदिएको छ। वडा नं. ७ मुर्कुचीका वडाध्यक्ष मनोज राना मगरका अनुसार वर्षाले मुर्कुची–पुँवारे–भुट्टार सडक ठाउँठाउँमा भत्काईदिएकाले गाउँपालिका केन्द्र भुट्टार पुग्न नसक्ने अवस्था सिर्जना भएको छ। बाटो भत्केपछि केन्द्र बजार भुट्टार आउजाउ गर्न नसक्दा वडाका कतिपय काम रोकिएको मगरले बताए। 

त्यस्तै मुर्कुची–पुँवारे हुँदै माझखर्क भएर पुगिने लिम्चुङबङ गाउँपालिकाका ५ वटै वडाबासीलाई यो वर्षाले कहर थपेको छ। गाउँपालिका केन्द्र बाराहासम्म सोझो रुटको गाडी भएर सदरमुकाम आउजाउ गर्ने स्थानीयबासीलाई त्यही बाटो चल्न छाडेपछि मारमा पर्नु परेको हो। सदरमुकामबाट लिम्चुङबङ जोड्ने अन्य सडकहरु मुर्कुची–पुँवारे–भु्ट्टार हुँदै जाँते भएर र गाईघाटदेखि दिक्तेल जोड्ने सगरमाथा लोकमार्ग भएर पनि जान सकिन्छ। तर, ती दवै सडकको अवस्था अहिले खराव भएको छ। गाईघादेखि फोक्सिन्टारसम्म निर्माणाधीन सडकमा यातायात चालु भए पनि फोक्सिन्टारदेखि लिम्चुङबङका ५ नं. वडा जाँते, ४ बलम्ता, २ ताम्लीछा र १ नं. बाँसबोटे जोड्ने कच्ची सडकहरु सबै ध्वस्त भएका कारण आउाजाउ गर्न नसक्ने स्थिति छ।

फोक्सिन्टारदेखि खोटाङतर्फ चनौटे र भँडारेडाँडासम्म जान मिले पनि झोलुंगे पुल मात्र भएकाले मोटरसाईकलसम्म तर्न मिले पनि त्यसभन्दा माथिका सडकमा हिलो र पहिरोले मोटरसाईकल पनि चल्न नसक्ने अवस्थामा पुगेको गाउँलेहरु बताउँछन्। यात्रुबाहक बस ३ महिनादेखि चल्न छाडेको, जीप र मोटरसाईकल पनि हिड्न नसक्ने भएपछि वर्षाभरी पैदल यात्रा गरेर आउजाउ गर्नुपर्ने बाध्यता सिर्जना हुन लागेको लिम्चुङबङ ५ का वडाध्यक्ष कविचन्द्र राई बताउँछन्। उनका अनुसार गाईघाटदेखि लिम्चुङबङ जोड्ने ३ वटै नाका सडक आवश्यक मर्मत संभार र स्तरोन्नति नगरिएका कारण जनतालाई यस्तो समस्या भोग्नु परेको हो।

त्यस्तै समस्या छ अर्को गाउँपालिका ताप्लीको। सदरमुकामदेखि सबभन्दा टाढा रहेको ताप्लीको मुख्य बजार कटारी हो। तर, कटारीदेखि मिर्चया–कटारी–घुर्मी सिद्धिचरण लोकमार्ग भएर जानुपर्ने ताप्ली पुग्ने ३ वटै नाका सडकहरु अहिले बिग्रेको अवस्थामा छन्। कटारीदेखि बेतिनी हुँदै राउतखर्क, लिम्पाटार पिपलभन्ज्याङ भएर पुगिने गाउँपालिका केन्द्र रुपाटार जाने सडकहरु आवश्यक मर्मत र स्तरोन्नति नहुँदा सामान्य वर्षामै यातायात चल्न नसक्ने भएको छ। उता मुर्कची माझखर्क नारीमाला भएर आउने सडक पनि त्यस्तै हालतमा भएकाले त्यो नाका पनि गाडी आउन सक्ने अवस्थामा नरहेको स्थानीयको गुनासो छ।

जहिल्यै वर्षा भयो कि कमजोर सडककै कारण उदयपुृरको पहाडी जनशैली कष्टकर हुन पुग्ने समस्या छ। गाउँपालिका पुनर्संरचना हुनुअघि नै डोरो खनिएका सडकहरु बिना इन्जिनियरिङ निर्माण गरिएका कारण पनि यस्तो समस्या आउने गरेको पूर्वाधार विकास कार्यालय उदयपुरले जनाएको छ। पूर्वाधार कार्यालय प्रमुख (डिई) गंगासागर यादवले पहिले निर्माण गरिएका पहाडी भेगका अधिकतर सडकहरु आवश्यक इन्जिनियरिङ पुरा नगरी बनेका हुनाले मर्मत गर्ने ठाउँसम्म नभहुँदा सामान्य वर्षाले पनि अवरोध गर्ने गरेको बताए। उनका अनुसार कतिपय सडकहरु जति मर्मत गरे पनि फराकिलो बनाउन नसकिने र बनाए पनि दीगो नहुने खालका रहेका छन्। त्यस्ता सडकहरुको प्राविधिक अध्ययन गरी पुन निर्माण तथा पुनरावलोकन गर्नु आवश्यक रहेको प्राविधिकहरुको सुझाव छ।  

प्रकाशित: २८ श्रावण २०८० ११:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App