अविरल वर्षापछि मैवाखोलामा बढेको पानीको सतहले दोभान बजारमा फेरी जोखिम बढाएको छ।
मैवाखोलामा बढेको पानीले अस्थायी बाटो समेत बगाएपछि दोभान पारी आठराई त्रिबेणी र मैवाखोला गाउँपालिकातर्फको आवतजावत विच्छेद भएको छ।
तमोर नदी र मैवाखोलाको बीचमा रहेको दोभान बजारमा रहेका करिव ८० घर मध्ये ३ घर उच्च जोखिममा पारिसकेको स्थानीय दीपक धितालले जानकारी दिए।
‘यहिँ किसिमको पानी पराई र खोलामा पानीको बहाव अलिकति मात्र बढ्ने हो भने जोखिम थप बढ्छ’ धितालले भने। उनले मैवाखोलामा बढेको पानीको सतहसंगै दोभान बजारमा रहेका बस्तितर्फ कटान सुरु भएको जानकारी दिए। गत असार पहिलो साता आएको बाढीसंगै दोभान बजारतर्फको कटान सुरु भएको थियो।
‘अहिले पहिले भन्दा झन् जोखिम थपियो’ धितालले भने। जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय ताप्लेजुङका प्रमुख डेभिट ढकालका अनुसार पछिल्लो २४ घण्टामा ताप्लेजुङमा ३९.२ मिलिमिटर वर्षा भएको छ। ‘यो शनिवार बिहान ८ बजे देखि आइतवार बिहान ८ बजे सम्मको हो’ ढकालले भने, त्यसपछि पनि बर्षा भइरहेको छ,त्यो मापन आउन बाँकी रहेको छ।’
प्रकाशित: २८ श्रावण २०८० ०८:५६ आइतबार