२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

कृत्रिम अभाव देखाएर खाद्यान्नको मूल्य बढाउँछन् व्यापारी

फाइल तस्बीर

बाजुरा बाह्य जिल्लाको खाद्यान्नमा भर पर्ने जिल्ला हो। व्यापारी र खाद्य डिपाेमार्फत यहाँका स्थानीयले दैनिक उपभोग्य समान खरिद गर्दै आएका छन्। अर्को विकल्प नभएपछि बजार मूल्यअनुसार रकम तिर्नुपर्ने स्थानीयको बाध्यताजस्तै छ।

बजारमा जेजति मूल्य भए पनि नकिनी सुखै छैन। जति मूल्य भन्यो ऋण निकालेरै भए पनि आफू र आफ्नो परिवारका लागि बजारकै खाद्यान्न, नुन, तेल, साबुन, दाल, तरकारीहरू किनेरै खाने गरेका छन्। बजारमा व्यापारीले मूल्य बढाए पनि घटाए पनि नियमित किनेरै खानुपर्ने अवस्था देखिन्छ।

विगतमा झैं यस वर्ष पनि व्यापारीले बर्खाको बहानामा मूल्य वृद्धि गरिसकेका छन्। सामान नभएको भन्दै कृत्रिम अभाव देखाउने र मनोमानी मूल्य असुली गर्ने गरेको पाइएको छ। बजारमा समान किन्नका लागि पुगेका उपभोक्ताले नै यो कुरा महसुस गरिसकेका छन्। बर्खा लाग्यो कि व्यापारीले बाटोलाई समस्या बनाउने र मूल्य वृद्धि गर्ने गरेका छन्। तर यो वर्ष हालसम्म पनि साँफे मार्तडी सडक अवरुद्ध भएको छैन। नियमित ढुवानीका साधन र अन्य यात्रुवाहक सवारी साधन निर्बाध रूपमा मार्तडी पुग्ने गरेका छन्। कोल्टी क्षेत्रबाहेक जिल्लाका तल्लो क्षेत्रमा सबैजसो ठाउँमा बाटो नियमित जस्तै छ।

कोल्टी, पिलुचौर, धुलाचौर जुड्डीका व्यापारीले मूल्य वृद्धि गरे पनि मार्तडी, बाम्का, बेतालमाडौं, मालिका बजार, सुर्खा बजारमा पनि व्यापारीले मूल्य वृद्धि गरेका छन्। उही ढुवानी भाडा र उही मूल्यमा पुगेको सामानमा पनि ५ देखि १० रूपैयाँसम्म मूल्य वृद्धि गरेको पाइयो, त्यसविरुद्ध प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको अनेरास्ववियुका अध्यक्ष दिलबहादुर थापाले बताएका छन्।

सदरमुकाम मार्तडीमा मात्रै ग्यासमा ५० देखि १ सय रूपैयाँ बढी लिने गरेको अवस्था छ। तेलको पोकामा ५ रूपैयाँ, दाल, चिनी चामलमा समेत २ देखि ५ रूपैयाँ मनोमानी मूल्य वृद्धि गरिएको अवस्था छ। बर्खामा कमाउधन्दा चलाएका व्यापारीले यो वर्ष सडक नरोकिएपछि कृत्रिम अभावको बहाना देखाइरहेका छन्।

साँफे मार्तडी सडकअन्तर्गत बल्दे क्षेत्रमा पहिरोले अवरोध गरेको छैन। हिउँदकै जस्तो ढुवानी मूल्यमा गाडी आइपुग्छ। बजारमा आउने उपभोक्तालाई सुरुमा सामान अभावको बहाना गर्छन्, पछि सामान बिक्रीमा पनि मूल्य बढाएर लिने गरेको अवस्था छ। यो समस्या, तल्लो बाजुरामा पर्ने त्रिवेणी, खप्तड छेडेदह, गौमुल, बुढीगंगा र बडिमालिकाका सबै स्थानीय साना तथा ठूला बजारमा सिर्जना गरिएको छ।

व्यापारीले बर्खाको नाममा मनोमानी मूल्य वृद्धि र जबर्जस्त कृत्रिम अभाव सिर्जना गर्ने गरिएको उपभोक्ताको गुनासो छ। अभाव नै देखाएर मूल्य वृद्धि गर्ने र उपभोक्ता ठगी गर्ने कार्य तत्काल रोक्न अनेरास्ववियुले चुनौती नै दिएको छ।

जनगुनासो बढेपछि बाजुरा उद्योग वाणिज्य संघले पनि सूचना जारी गरेको छ। मूल्य सूची राख्नुपर्ने, व्यापार अनिवार्य दर्ता गरिनुपर्ने, कृत्रिम अभाव सिर्जना गर्ने कुरा रोक्नुपर्ने, समानको मूल्यमा एकरूपता हुनुपर्ने, सडक समस्या नभएकै बेला महँगो भाडाको नाटक गर्ने जोकोहीलाई पनि कारबाही गर्ने पत्रमार्फत जानकारी गराएको छ।

उपभोक्ताले भनेजस्तै चर्को मूल्य वृद्धि नभए पनि सामान्य छिटपुट व्यापारीले मूल्य बढी लिएर बिक्री वितरण गर्ने गरेको उद्योग वाणिज्य संघले पनि स्वीकार गरेको छ। जनगुनासो आएलगत्तै सुर्कलरसहितको पत्र नै जारी गरेको छ। सेवा भावभन्दा पनि कमाउ भन्ने मानसिकताका व्यापारीले बढी बदमासी गर्ने गरेका छन्।

बाजुराका स्थानीय वर्षको ४० प्रतिशत आयात सामान नै प्रयोग गर्ने गर्छन्। सडक चल्छ, ढुवानी भाडा बढेको छैन, तर पनि बजारमा कृत्रिम अभाव देखाएर मूल्य वृद्धि गर्नेविरुद्ध विद्यार्थीले सशक्त प्रतिकार र खबरदारीको तयारी गरेको अनेरास्ववियुका नेता लक्ष्मण रोकायाले बताएका छन्। आफू नै स्वयं ठगिनुपरेको रोकायाको भनाइ छ।

यही विषयलाई सम्बोधन गर्न अनेरास्ववियु जिल्ला कमिटी बाजुराले जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गराएको छ। व्यापारीले कृत्रिम अभाव सिर्जना गरेर नागरिकलाई महँगीको मारमा पारेको भन्दै प्रमुख जिल्ला अधिकारी पुष्कर खड्कालाई ज्ञापनपत्र बुझाएका छन्। व्यापारीले बढाएको वस्तुको मूल्यको प्रत्यक्ष असर सर्वसाधारणमाथि परेको भन्दै तत्काल रोक्न ज्ञापन पत्रमार्फत आग्रह गरिएको छ। बजारको मूल्य वृद्धि दर भाउ कायम गर्नुपर्ने, बजारमा बिक्री भइरहेका दैनिक उपभोग्य वस्तुको दर भाउ सूचना पाटी टाँस गर्नुपर्ने, समयसमयमा सम्बन्धित निकायले बजार अनुगमन गर्नुपर्ने माग पनि अनेरास्ववियुले राखेको छ।

प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले खाद्यवस्तुका बारेमा जनगुनासो बढेकाले सम्बन्धित निकायलाई जिम्मेवार बनाउन र बजार अनुगमन कार्य तीव्र पार्न सहयोग गर्ने बताएका छन्। जनगुनासोलाई लिएर बडिमालिका नगरपालिकाले बजार अनुगमन गरेको छ। कालोबजारी र मनोमानी मूल्य वृद्धिको अवस्थाबारे जानकारी लिन छड्के अनुगमन कार्य थालनी गरिएको नगर उपप्रमुख नन्दा थापाले बताएकी छन्।  

पालिकाभित्रका सबै बजार क्षेत्रको एकपछि अर्को गर्दै अनुगमन गर्ने तयारी पालिकाले गरेको छ। व्यापारीले समानको कृत्रिम अभाव देखाउने र मूल्य वृद्धि गर्ने, सामान नभएको भन्दै म्याद नाघेकै समान बिक्री गर्ने गुनासोको सम्बोधन गर्न अनुगमनलाई निरन्तरता दिने बडिमालिका नगरपालिकाका उपप्रमुख नन्दा थापाले बताएकी छन्।

प्रकाशित: २७ श्रावण २०८० ०१:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App