१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

ज्येष्ठ नागरिकका लागि मनोरञ्जन कार्यक्रम

दिवा खाजामा जम्मा भएका ज्येष्ठ नागरिकसँग वडाध्यक्ष पाण्डे।तस्बिर: महेश्वर/नागरिक

एकतले वडा कार्यालय भवनको छतमा घामको ओत लाग्न त्रिपाल टांगिएको छ, भुईंमा कार्पेट र चकटी ओछ्याइएका छन्। सोफासेट र प्लास्टिकका कुर्सी पनि राखिएका छन्। त्यहाँ मादल, बाँसुरी, तबला र हार्माेनीजस्ता वाद्यवादनका सामग्री पनि छन्। हरेक दिन दिउँसो १ः०० बजेदेखि फाट्टफुट्ट पाका उमेरका मानिस आउन थाल्छन्। ३ः०० बजेसम्ममा छत भरिभराउ भइसक्छन्। भेला भएका ज्येष्ठ नागरिक उनीहरूकै छनोटअनुसार चियासँग बिस्कुट र फलफूल खान्छन् अनि सुरु हुन्छ भजनकीर्तन र नाचगान।  

यो दृश्य हो त्रियुगा नगरपालिका १० नं वडा कार्यालयको। वडाध्यक्ष किरण पाण्डेले हरेक दिन दिउँसो एकल पुरुष–महिला र ज्येष्ठ नागरिकलाई खाजा खुवाउने, आत्मशान्ति र मनोरञ्जन दिलाउन भजनकीर्तन गर्ने बस्दोबस्त मिलाएका हुन्। वडाले वार्षिक कार्यक्रम स्वीकृत गरेरै ज्येष्ठ नागरिक भेटघाट तथा दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएको वडाध्यक्ष पाण्डेले बताए। अहिलेको व्यस्त समय, त्यसमाथि सहर बजारको ठाउँ छोराछोरी, परिवारका अन्य सदस्य काममा खट्नुपर्दा ज्येष्ठ नागरिक एक्लै टोलाएर बस्नुपर्ने, भेटघाट र कुराकानी गर्न नपाउँदा उकुसमुकुस हुने बाध्यता हटाउन यो कार्यक्रम सञ्चालन गरेको पाण्डेले बताए। साउन १ देखि सुरु भएको यो कार्यक्रममा हरेक दिन पुरुष ३०–३५ र महिला ५०–६० गरी ८०–९० जनाको जमघट हुने गरेको उनले बताए।

‘वडाका सबै ज्येष्ठ नागरिकलाई बोलाएर खाजा खुवाउनुका साथै मनोरञ्जन गर्न भजनकीर्तन गराउन यो कार्यक्रम थालेको हुँ’, वडाध्यक्ष पाण्डेले भने, ‘घरमा बसिरहँदा ज्येष्ठ नागरिकलाई झन्झट लाग्ने हुँदा भेटघाट, अनुभव आदानप्रदान, भक्तिभाव र रमाइलोका लागि वाद्यवादनको व्यवस्था गरिएको हो।’ खासगरी एकल घरमा एक्लै बस्नुपर्दा उकुसमुकुस हुने हुँदा यसले ज्येष्ठ नागरिकमा ताजगी ल्याउने गरेको उनले बताए। पतिपत्नी भएकाहरू एकापसमा गफिएर बस्दा केही सहज भए पनि एकललाई समय काट्न गाह्रो हुने गरेकोमा यसले मद्दत गरेको पाण्डेको अनुभव छ।

वडाध्यक्ष पाण्डेले चालु आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रममै यो कार्यक्रम स्वीकृत गराएका छन्। वडाभित्रका सबै ज्येष्ठ नागरिक ज्येष्ठ नागरिकलाई खाजा खुवाउन दैनिक १५ सयका दरले हुन आउने मासिक ४५ हजार लाग्ने अनुमानसहित ‘ज्येष्ठ नागरिक दिवा खाजा कार्यक्रम’ शीर्षकमा ५ लाख ४० हजार रकम वडासभाबाट स्वीकृत गराएको वडाध्यक्ष पाण्डेले बताए। आगामी वर्ष संख्या यकिन गरेर बजेट थपघट गर्ने योजना सुनाउँदै पाण्डेले यो कार्यक्रम आफ्नो कार्यकाल (५ वर्ष) सम्म निरन्तर चलाउने बताए। ‘भोलि हामी पनि ज्येष्ठ नागरिक र ज्येष्ठ नागरिकको उमेरमा पुग्छौं, त्यतिबेलाको अवस्था अनुमान गरेर अहिल्यैदेखि ज्येष्ठ नागरिकको सम्मान गर्न यो कार्यक्रमले मद्दत गर्ने ठानेको छु’, उनले भने।

अहिले दैनिक ७० देखि ९० जनासम्म भेला हुने गरेका छन्। वडाध्यक्ष पाण्डे सकेसम्म ज्येष्ठ नागरिकको टहल गर्छन्, आफैं बसेर खाजा खुवाउँछन्, तर वडाको कामले व्यस्त हुनुपर्दा भनेजस्तो सहभागी हुन पाउँदैनन्, ज्येष्ठ नागरिकको सेवामा कमी आउन नदिन एकजना कार्यालय सहयोगीलाई निम्म खटाउँछन्, आवश्यकताअनुसार अन्य कर्मचारी पनि खट्छन्, कुरा सुन्छन्, जिज्ञासा राख्छन् र अनुभवबाट पाठ सिक्छन्। ‘मलाई सबै ज्येष्ठ नागरिक आफ्नै बाआमाजस्तो लाग्छ, सबैलाई सम्मान गर्न, उहाँहरूका कुरा सुन्न पाउँदा ज्ञान आर्जन हुन्छ’, उनले भने, ‘यसरी उहाँहरूसँग बस्दा, गफिँदा ज्येष्ठ नागरिकमा एक्लोपन, खल्लो र उदासीपन हट्नुका साथै नयाँ पुस्तालाई धेरै ज्ञानगुनका कुरा प्राप्त हुन्छ भन्ने लाग्छ।’

वडाध्यक्ष कुमार अधिकारीका अनुसार ज्येष्ठ नागरिकको दिवा खाजा कार्यक्रमका लागि बजेट, जनशक्ति र सामग्री वडाले व्यवस्था गरेको छ। ‘तर, सकभर वडाध्यक्ष आफैं खट्नुहुन्छ, ज्येष्ठ नागरिकलाई चिया–बिस्कुट लगिदिनुहुन्छ। वडाको कामले व्यस्त हुनुपर्दा उहाँ त्यति भ्याउनुहुन्न’, सचिव अधिकारीले भने, ‘एकजना कार्यालय सहयोगी खटाइएको छ, उनले नभ्याउँदा हामी पनि खट्छौं, ज्येष्ठ नागरिकका कुरा सुन्छौं, खुसी लाग्छ।’

प्रकाशित: २५ श्रावण २०८० ०१:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App