५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

निर्माण सकिन नपाउँदै भत्कियो पोखराको महेन्द्रपुलस्थित साँघुमुख पार्कको पर्खाल

अविरल वर्षाले भत्काएको महेन्द्रपुलस्थित साँघुमुख पार्क संरक्षणका लागि बनाइएको पर्खाल। तस्बिरः सन्देश/नागरिक

पोखरा महानगरपालिका–९ महेन्द्रपुलस्थित निर्माणाधीन साँघुमुख पार्क संरक्षणका लागि रड र सिमेन्ट प्रयोग गरेर बनाइएको कंक्रिट पर्खाल भत्किएको छ।  

पोखरा महानगरपालिका र ९ नम्बर वडा कार्यालयले पर्खाल रातीको भारी वर्षाका कारण भत्किएको हो। करिब ३७ लाख रुपैयाँको लागतमा ६० मिटर लम्बाई र २० मिटर उचाईको पर्खालको दुईतिहाई भाग भत्किएर सेती नदीको डिलमा पुगेको छ। ठूलो आवाजसहित पर्खाल भत्किएको महेन्द्रपुल–साँघुमुख उपभोक्ता समितिका अध्यक्ष रोशन महर्जनले बताए।

सेती नदीको डिलमा पार्क निर्माण गर्न लागिएको र त्यसभन्दा माथिल्लो भाग भिरालो भएकाले सुरक्षित बनाउनका लागि पर्खाल निर्माण गरिएको थियो। एक हप्ताअघि मात्र निर्माण सम्पन्न भएको पर्खालको माथिल्लो भागमा माटो भरेर त्यसै छाडिएको थियो। निरन्तर पानी परेपछि सो माटोको भार थेग्न नसकेर पर्खाल नै भत्किएको हुनसक्ने अनुमान गरिएको छ।

सो पर्खाल महेन्द्रपुल–साँघुमुख उपभोक्ता समितिमार्फत बनेको थियो। मानन्धर निर्माण सेवालाई पर्खाल निर्माण गर्ने जिम्मा दिएपनि निर्माणको गुणस्तर, रडको आकार, सिमेन्टको मात्रा लगायतबारे समिति आफैले निर्धारण गर्ने र निगरानी राख्ने गरेको थियो। त्यसैले पर्खाल निर्माणमा कुनै कमजोरी नरहेको समितिका अध्यक्ष रोशन महर्जनले दावि गरे। ‘हामीले राम्रै काम गरेका थियौं। निर्माणमा कुनै कमजोरी थिएन। भारी वर्षाका कारण विपद आईप¥यो,’ उनले भने।  

निर्माणको जिम्मा पाएको मानन्धर निर्माण सेवाका सञ्चालक भरत मानन्धरले पनि काम गर्दा कुनै कमजोरी नराखी गरेको दावि गरे। ‘हामीले सबै मापदण्ड पूरा गरेर बनाएका हौं तर निरन्तरको वर्षाले माटो भिज्दा त्यसको भार धान्न नसकेर पर्खाल भत्कियो। विपदको अगाडि कसैको केहि लाग्दो रहेनछ,’ उनले भने। पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बलियो पर्खाल भत्किदा आफु पनि आश्चर्यमा परेको बताए। ‘सायद विपद भनेको यहि होला,’ उनले भने, ‘मानवीय कमजोरी वा प्राविधिक समस्या देखिदैन।’ उनले चाँडै पुनः पर्खाल निर्माण गरिने बताए।

प्रकाशित: २२ श्रावण २०८० ११:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App