२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दिउँसो उडान नहुँदा दुर्गमका जनता प्रभावित

नेपाल नागरिक उड्ययन प्राधिकरणले उडान सुरक्षाका लागि भन्दै नयाँ नियम लागू गरेपछि कर्णालीका दुर्गम भेकका स्थानीयहरु प्रभावित हुने भएका छन्। सडक पहुँच नभएका ती जिल्लाहरुमा एक मात्र हवाई सेवाको भर पर्नुपर्ने भएपनि वायु सेवा कम्पनीहरुसहित स्थानीयहरु मर्कामा परेका हुन्।  

  पछिल्लो निर्देशनले कर्णाली र सुदुरपश्चिम प्रदेशका दुर्गम भेग विमानस्थलहरुमा मौसम सफा हुँदा पनि दिउँसो उडान भर्न पाउने छैनन्। प्राधिकरणको पछिल्लो निर्देशनले कर्णालीका ताल्चा विमानस्थल, सल्ले विमानस्थल, सिमकोट विमानस्थल र सुदुरपश्चिमका कोल्टी विमानस्थलमा दिउँसो साढे १२ बजेपछि उडानमा रोक लगाइएको छ। जसले गर्दा दिउँसोमा मौसम सफा भएपनि उद्धार, नियमित तथा चार्टर उडान, खाद्यान्न लगायत निर्माण सामाग्री ढुवानमा रोक लगाईएको हुँदा सहज रुपमा सम्वन्धीत एयरपोर्टबाट स्वीकृती लिन कठिनाई भएको हो। कोभिड्ले थला परेको हवाई सेवा तथा पर्यटन क्षेत्रहरु फस्टाउन लागेको बेला प्राधिकरणको पछिल्लो निर्देशनले असर गरेको छ। प्राधिकरणले ब्यवहारिक निर्णय नगरेको भन्दै पर्यटन ब्यवसायीहरुले निर्णय सच्चाउन समेत माग गरेका छन्। हवाईको भर पर्नुपर्ने हुम्ला लगाएका दुर्गमका जनताहरुका लागि १२ बजेपछि उडान गर्न नपाउने नियम ब्यवहारिक नभएको हुम्लाका स्थानीय रत्न भण्डारीले बताए।

खराब मौसमका कारण हुन सक्ने हवाई दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्न प्राधिकरणले विशेषगरी दुर्गमका २९ वटा विमानस्थलमा जुलाईदेखि सेप्टेम्बरसम्म दिउँसो साढे बाह्र बजेपछि व्यवसायिक÷चार्टर उडान गर्न नपाइने नियम लागू गरेको हो। प्राधिकरणको विमानस्थल सञ्चालन निर्देशिकाले बिहान ६ः४५ देखि दिउँसो १२ः३० सम्म उडान समय तोकेको छ। यस अघि प्राधिकरणले दिउँसो पनि चार्टर÷व्यवसायिक उडान अनुमति जारी गर्दै आइरहेको थियो। पछिल्लो निर्देशनले मौसम सफा भएर पनि उडान गर्न नपाउने अवस्था सिर्जना भएको छ। कर्णालीमा चिसो सिजनमा विहान हुस्सुले मौसम खराव हुने गर्दछ। 

त्यस्तो अवस्थामा यो नियमले हवाईको भरमा रहेका जनताहरु मर्कामा पर्ने देखिन्छ। ‘प्राधिकरणले आफ्नो कमजोरी ढाकछोप गर्न हेलिकोप्टरलाई पनि जहाजकै जस्तो नियम बनाइदिएको छ।’ एक हेलिकोप्टर व्यवसायीले भने, अब उद्धारमा जान, विकास निर्माणका सामग्री ढुवानी गर्न समस्या भएको छ। एक किसिमले व्यवसाय नै धरापमा पर्ने अवस्था सिर्जना भयो।’ काठमाडौंबाट उडान स्वीकृति लिने प्रावधान झन्झटिलो रहेको ती व्यवसायीको भनाई छ। उनले यस विषयमा हेलिकोप्टर व्यवसायीले प्राधिकरणको ध्यानाकर्षण गराएपनि सुनुवाइ नभएको बताए।  

  प्राधिकरणले अतिरिक्त समयमा चार्टर उडान अनुमति दिने क्षेत्राधिकार पनि खोसेको छ। अब सुर्खेत विमानस्थलले यस क्षेत्रको चार्टर उडान अनुमति दिन पाउने छैन्। प्राधिकरण बिहान ६ः४५ देखि १२ः३० बजेसम्मलाई मात्र ‘अपरेसन आवर’ मानेको छ। कर्णालीका तीन विमानस्थल सल्ले, ताल्चा र सिमकोटमा यस पछाडी उडान गर्न पाइँदैन्। मौसमको जोखिम अनुसार विमानस्थल खोल्ने÷बन्द गराउन बिहानदेखि बेलुकीसम्म तयारी अवस्थामा रहनुपर्नेमा दिउँसो उडान प्रतिवबन्ध लगाउने नियम गलत रहेको हेलिकोप्टर सञ्चालकहरु बताउँछन्।

प्राधिकरणको यो नियमको कर्णालीका पर्यटन व्यवसायीले पनि आपत्ति जनाएका छन्। कर्णाली पर्यटन उद्यमी समाजले केही दिन अघि काठमाडौं नागरिक उडड्यन प्राधिकरणसंग नियमित उडानको माग गरेको थियो। कर्णालीमा हवाइ यात्राबाहेक अन्य विकल्प नभएकाले यो नियम सच्चाउनुपर्ने उनीहरुको माग थियो। ‘दिउँसो मौसम सफा हुन्छ।’ पर्यटन व्यवसायी देवीकृष्ण रोकायाले भने, त्यही बेला उडान गर्न रोक लगाइएको छ।’

सुर्खेत नागरिक उड्ययन कार्यालयका प्रमुख राजनराज ढुंगेलले प्राधिकरणको नियम पालना गर्नुको विकल्प नभएको बताए। ‘मनसुनको सिजन भएकाले दुर्घटना न्यूनीकरण गर्न प्राधिकरणले पछिल्लो निर्देशन पठाएको हो।’ उनले भने, सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यका साथ भएकाले सकारात्मक रुपले लिनुपर्छ।’

प्रकाशित: २२ श्रावण २०८० ०७:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App