२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

तस्करीको हब: रौतहट

फाइल।

रौतहटको सीमावर्ती क्षेत्रबाट हुने अवैध तस्करीमा व्यापक वृद्धि हुन थालेको छ। पछिल्लो समय रौतहटको मुख्य नाका गौरसँगै अन्य सहायक नाकाबाट व्यापक मात्रामा तस्करी फस्टाएको हो।

सीमा वारपार हुने तस्करी नियन्त्रणको जिम्मा पाएका निकायहरूकै संलग्नता र सहयोगमा तस्करी व्यापक मात्रामा मौलाएको देखिन्छ। भारतीय बजार बैरगनियाबाट रौतहटको मुख्य नाका गौर भएर भारतीय ट्याम्पोमा प्रहरीकै संलग्नतामा व्यापक मात्रा तस्करी भइरहेको छ।

भन्सार कार्यालयको मुख्य गेटमा खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवान र भन्सार कार्यालयका कर्मचारीहरुले नै ‘लाइन’ दिएपछि नेपाल भारत सीमामा निर्माण भएका पक्की पुलको दक्षिण तथा भारतीय कस्टमदेखि उत्तर बीचको स्थानमा ल्याई राखिएको सामान गौर बजारसम्म सजिलै ल्याउने गरिएको छ।

गौर भन्सारमा केही महिना पहिला लक्ष्मीपुरदेखि बंकुलसम्म प्रमुखको जिम्मेवारी सम्हालेका सशस्त्र प्रहरीले कडाइ गरे तापनि अहिले चोर नाकाहरुका साथै मुख्य नाकाबाटै धमाधम तस्करीमा सहयोग गरेको स्थानीयको आरोप छ।

गौर भन्सार नाकाका साथै अन्य सानातिना नाकाहरुबाट सीमा वारपार हुने तस्करी नियन्त्रण गर्न भन्सार सुरक्षा गार्डको कमान्ड प्रहरी सहायक निरीक्षक सिकिन्द्र साहको कमान्ड रहेको छ। प्रनानि साहकै कारण सीमा वारपार तस्करी झन् बढेको स्थानीयहरुको आरोप छ।

सीमामा तस्करी नियन्त्रणको कुरो आउँदा प्रनानि साहले सर्वसाधारणलाई दुःख दिने गरेको र दिनहुँ दशौँ पटकसम्म सामान ओसारपसार गर्नेलाई छुट दिने गरेको स्थानीयहरु बताउँछन्।

तस्करहरुसँग प्रनानि साहको ‘डिल’ भएकाले तिनीहरुलाई केही नगर्ने तर सर्वसाधारणले आफ्नो घरायसी प्रयोजनका लागि केही मात्रामा सामान ल्याउँदा माथिको निर्देशन भन्दै सताउने गरेको एक स्थानीयले गुनासो गरे।

यसै गरी सदरमुकाम गौरको छेउमै रहेको महादेवपट्टीभन्दा पश्चिम लालबकैयाको केरावारीबाट लाखौं मूल्य बराबरको कपडाको तस्करी दिनहुँ भइरहेको बुझिएको छ। केही भारतीय खुद्रा तथा थोक तस्करहरुसँगको मिलेमतोमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको आन्तरिक सेटिङ्गमा दिनहुँ लाखौंको तस्करी भइरहेको प्रत्यक्षदर्शी स्थानीयको दाबी छ।

गौर भन्सारको मुख्य नाकामा सिसिटिभी क्यामेरा जडान भएपछि सुरक्षाकर्मीहरुले मुख्य नाकामा कडाइ जस्तो देखाएर सुरक्षाकर्मीकै मिलेमतोमा अत्यधिक तस्करी भइरहेको छ। मुख्य गरी भारतीय नम्बर प्लेटको ट्याम्पोमा तस्करी हुने गरेको बुझिएको छ। यसै गरी सहायक नाकातिर भने तस्करहरुलाई सामान ओसारपसारमा केन्द्रित गराइएको छ।

सीमामा खटिएका सुरक्षाकर्मीको संलग्नतामा लक्ष्मीपुर बेलबिक्षवा, औरैया, महुलिया, बन्जरहा जस्ता खुला नाकाहरुबाट खुलेआम तस्करी भइरहेको छ। यसै गरी राजपुर, बंकुल लगायतका नाकाहरुबाट पनि दिनहुँ लाखौँको तस्करी भइरहेको छ।

गौरसँगैको औरैयाका एक जना भैंसी तस्कर र बैरियाका अर्का एक तस्करसँग सशस्त्र प्रहरी औरैयालाई मासिक निश्चित रकम बुझाउने गरेको बुझिएको छ। दुवै जनालाई सुरक्षाकर्मीले लाइन दिएपछि दुवै जनासँगै अन्यले पनि दिनहुँ लाखौँको तस्करी गरिरहेका छन्।

अत्यधिक मात्रामा तस्करी बढेको भए पनि सुरक्षाकर्मीहरू सर्वसाधारणलाई निकै टाइट गरेको देखाएर तस्करहरुलाई रामराज्य बनाएको गुनासो जिल्लामा बढेको छ।

यता मधेश प्रदेशका डिआईजी जनक भट्टराईले तस्करी नियन्त्रण गर्न ‘स्पेसल टोली’ नै खटाएको बताउँछन्। उनले तस्करीको विषयलाई आफूले गम्भिरताका रुपमा लिएको भन्दै संवेदनशील नाकाहरुबाट माल समान नियन्त्रणमा लिने कार्य भइरहेको जानकारी दिए।

‘तस्करी नियन्त्रण गर्न हामीले स्पेसल टोली नै परिचालन गरेका छौ। संवेदनशील नाकाहरुबाट माल समान नियन्त्रणमा काम भइरहेको छ। हामीले सक्दो प्रयास गरिरहेका छौ। उनले भने।

प्रकाशित: २१ श्रावण २०८० १५:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App