१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

को हुन सुन तस्करीको ‘राडार’ मा देखिएका राकेशकुमार अडुकिया ?

राजस्व अनुसन्धान विभागले खोजिरहेका रोकशकुमार अडुकिया को हुन? करिब एक सय किलो सुन बरामद गरेदेखि नै तस्करीको ‘राडर’ मा देखिएका दुई व्यक्तिमध्ये एक राकेशकुमार अडुकिया हुन्। उनलाई राजश्व अनुसन्धान विभागले खोजिरहेको छन्।

तर अडुकिया अहिले फरार छन्। आफ्ना विषयमा समाचार प्रकाशित हुन थालेपछि उनी फरार भएको आशंका गरिएको छ। उनी मात्र होइन, सुन बरामद भएपछि उनका छोरा पनि भागेर दिल्ली पुगेको अुसन्धान स्रोतको दाबी छ। हङकङबाट गत मंगलबार नेपालमा सुन भित्राउने कार्यमा संलग्नता रहेको देखिए पनि बेलैमा खोजबिन नगर्दा यनी फरार हुने अवस्था आएको हो।

विभागले बुधबार साँझ कमलपोखरीस्थित घरमा छापा मारे पनि उनी फेला परेनन्। सुन बरामद भएको एक सातापछि विभागले उनको घरमा छापा मारेको हो। त्यसक्रममा केही कागजात बरामद भए पनि अडुकिया भागिसकेका थिए।  

विवादास्पद व्यापारी अडुकियाले विगतदेखि नै हङकङमा कार्यालय खोलेर चाँदीको व्यापार गर्दै आएका छन्। विगतमा उनी गोरखा डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा मुछिएका थिए। २०६५ सालअगाडिसम्म उनी सेयर बजारमा सक्रिय थिए।

तत्कालीन लक्ष्मी बैंकका सञ्चालक राजेन्द्र खेतान आफन्त रहेका अडुकियाले गोरखा बैंकमार्फत कमलादीमा फाइनान्सियल टावर बनाउने भनेर ९० करोड ऋण लिएपछि टावर नै नबनाई फरार भएका थिए।२०६५ सालपछि अडुकियाले वेल्थ एक्सचेन्ज नामक कमोडिटी मार्केटिङ कम्पनी खोलेका थिए।

स्रोतका अनुसार हङकङको काउलिन सिटीमा उनको कार्यालय छ। उनी मात्र होइन, यसअघि सुन तस्करीमा मुछिएका व्यापारीहरूको पनि हङकङमा कार्यालय रहेको र त्यहीबाट सुन तस्करीमा सहयोगी भूमिका निभाउने गरिएको स्रोतको दाबी छ। एक सय किलो सुन भित्राएको ‘रेडी ट्रेड’ पनि उनकै योजनामा खुलेको स्रोतले दाबी गरेको छ।

‘अहिले अनुसन्धान भइरहेको छ। तथ्य र प्रमाणकै आधारमा अनुसन्धान हुन्छ कोहीकसैलाई आरोप लगाउन अनुसन्धानमा तोडमोड हुँदैन,’ विभागका महानिर्देशक नवराज ढुंगानाले भने।

हङकङबाट आएको सामानमा सुन आएको सुराकी पाएपछि राजस्वले रेडी ट्रेडको सोरूममा समेत छापा मारेको थियो।  ब्रेक सुको आवरणमा क्याथे प्यासिफिकको जहाजमार्फत आएको सुन बरामदपछि अनुसन्धान गर्ने क्रममा अडुकियाको संलग्नता देखिएको हो। सोही आधारमा विभागले उनको निवासमा छापा मारेको थियो।

व्यापारी अडुकिया गत अप्रिल १३ मा नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २१७ बाट नयाँ दिल्ली गएको, त्यहाँबाट हङकङ पुगेको र अप्रिल १९ तारिखका दिन बैंकक हुँदै थाई स्माइलको उडान नम्बर डब्लुई ०३१९ बाट काठमाडौं आएको ‘ट्राभल हिस्ट्री’ छ।

त्यसैगरी जुन २६ मा नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ०२१७ मा उनी दिउँसो साढे १२ बजे नयाँ दिल्ली हुँदै फेरि हङकङ पुगेका थिए। १२ दिनको बसाइपछि जुलाई ५ मा हङकङबाट दुबई हुँदै फ्लाई दुबईको उडानबाट काठमाडौं आइपुगेका थिए। त्यसलगत्तै नेपालमा सुन बरामद भएको थियो।

‘उहाँको यात्रा विवरण हेरेका छौं। यो यात्रा नै शंकास्पद रहेको छ। उहाँको विगत नेपालका बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण लिँदाको ट्र्याक रेकर्ड सकारात्मक छैन। साथै नेपालको सेयर बजारमा समेत उहाँको अवस्था सुदृढ देखिएको छैन। उहाँकै योजनामा कम्पनी खुलेको देखिन्छ। बाँकी अनुसन्धान हुँदैछ,’ विभागका एक कर्मचारीले भने।

त्यसअघि विभागले उपलब्ध गराएको अर्को विवरणअनुसार अडुकिया मे २६ मा काठमाडौंबाट हङकङ गएको र त्यसको पाँच दिनपछि मे ३० मा काठमाडौं आएका थिए।

गत जनवरी १४ मा पनि उनी हङकङ गएका थिए। एक साता बसेर उनी जनवरी २१ मा क्याथे प्यासिफिकमै काठमाडौं फर्केका अडुकियालाई विभागले सुन बरामद गरेकै दिन शंकाको घेरामा राखेको थियो।

उनीसँगै शंकाको घेरामा देखिएका व्यापारी दीपक मल्होत्राले सुन तस्करीमा आफू संलग्न नरहेको दाबी गर्दै पत्रकार सम्मेलन गरेका थिए।

‘सुन तस्करीमा संलग्न देखिँदादेखिँदै विभागले पक्राउ गर्न ढिलाइ गर्दा अडुकिया फरार भएका हुन्,’ विभागकै एक कर्मचारीले भने। उनका अनुसार तथ्य र प्रमाण जुटाउन समय लागेकाले अकुडियाले फरार हुने मौका पाएका हुन्।

प्रकाशित: १२ श्रावण २०८० ०८:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App