जुम्लाको पातारासी गाउँपालिका-६ उर्थुमा अवस्थित अस्थाई प्रहरी पोष्टको भवन जीर्ण अवस्थामा छ। उक्त अस्थाई प्रहरी पोष्टको भवन पानी पर्दा चुहिने समस्या रहेको प्रहरीको गुनासो छ। पातारासी गाउँपालिका-६ र ७ वडा भित्रका नागरिकलाई शान्ति सुरक्षा दिन उदेश्यले उर्थु बजारमा अस्थाई प्रहरी पोष्ट राखिएको छ।
प्रहरी पोष्ट भाडाको भवनमा सञ्चालनमा छ। भवनको भाडा गाउँपालिकाले बार्षिक ६० हजार तिर्दै आएको छ। अहिले प्रहरीले ७ वटा कोठा लिजमा लिएको छ। कच्ची घरमा रहेको उक्त अस्थाई प्रहरीको भवनमा चुहिने समस्या रहेको हवल्दार मनोराज गिरीले बताए। भाडामा लिएको घर जीर्ण छ। उनले भने घर पानी चुहिँदा गनाउने समस्या छ। यो समय बर्षाको समय भएकोले पानी पर्दा खाना पकाउने भान्सा र बस्ने कोठा चुहिएर समस्या भएको हो।
'कोठा भित्र बाट खुल्ला आकाश पनि देखिन्छ,बाहिर पट्टी पनि चारैतिर भित्ता फुटेका छन्। भवन भत्किने अवस्थामा छ। जतिसुकै बेला पनि भत्किन सक्नेछ,नागरिकलाई सुरक्षा दिने प्रहरी आफै असुरक्षित भएको छ,' हवल्दार मनोराज गिरीले भने।
भवन जीर्ण र पानी चुहिने अवस्थामा पुग्दा पनि कसैको ध्यान नपुगेको गिरीले बताए। नजिकैको बारम्बार वडा र पालिकामा धाउँदा र निवेदन दिँदा पनि सुनुवाइ नभएको उनले बताए।उक्त भवनमा ट्रयाफिक पनि राखिएको छ।
गाउँपालिका अध्यक्ष पुर्णसिहं बोहोराले प्रहरीको अवस्था नाजुक भएको स्विकार गर्छन्। अब छिटै स्थानीय सरकारले व्यवस्थापन गर्ने उनले दाबी गरे। जीर्ण तथा चुहिने भवनमा बस्नु पर्दा आफूहरूलाई समस्या भएको प्रहरीहरूको गुनासो छ। शान्ति सुरक्षा कायम गर्ने प्रहरी आफैं असुरक्षित हुँदा शान्ति सुरक्षा कायम गर्न असहज हुने गरेको छ।
प्रकाशित: १२ श्रावण २०८० ०६:५६ शुक्रबार




