जुम्लाको सिंजा गाउँपालिका-६ की सपुरा बुढालाई अहिले भ्याइनभ्याइ छ। साउनको झरीबाट बच्न प्लास्टिक ओढेर उनी २ हजार १ सय मिटरमाथिका विभिन्न पाटनमा साथीहरूसँग पुगीरहेकी हुन्छिन्।
सोही वडाकी छैटाकली बुढा पनि साथीहरुसंग रातो च्याउ खोज्न पाटनमै पुग्ने गरेकी छिन्।
पाटनमा सुकेका खर्सु (डालो) रूखमा उम्रेको रातो च्याउ भेटिन्छ। यसलाई खर्सु च्याउ पनि भनिन्छ। लेकाली जंगलका खर्सुका सुकेका रूखमा मात्र रातो च्याउ उम्रन्छ । गाउँघरमा परम्परागत तरिकाले उपभोग गरिँदै आएका लेकाली जंगलमा पाइने रातो च्याउ हिजो आज बिक्री समेत हुने गर्दछ।
अहिले सिंजा गाउँपालिका-६ का महिलाहरुको दैनिकी रातो च्याउ संकलनमा बित्न थालेको छ।
यो च्याउ व्यापारीहरूले जुम्लादेखि बागलुङसम्म बिक्रीका लागि पठाइरहेका छन्। रातो च्याउको व्यापार गर्दै आइरहेका दिनेश बुढा रातो च्याउ सुकाएको ४ सय रुपैयाँ प्रतिकेजी खरिद गरेको बताउँछन्।
जंगली च्याउ खादा बिरामी परेको समाचारहरु दैनिक आइरहदा कतै सोही च्याउले नी बीरामी त हुने होइन भन्ने प्रश्न भने उठ्ने गरेका छन्। तर, सिंजा (६ का वडाध्यक्ष लालबहादुर बुढा गाउँलेले रातो च्याउ सजिलै चिन्ने भएकाले विषालु पर्ला कि भन्ने जोखिम भने नहुने बताउँछन्।
यता जिल्ला वन कार्यालयका कार्यालय जुम्लाका प्रमुख दिनेशजंग खत्रीले भने रातो च्याउ संकलन र बिक्रीका लागि अनुमति लिनुपर्ने बताए। तर,अहिलेसम्म कोही पनि व्यापारीले अनुमती नलिएको उनको भनाइ।
प्रकाशित: १० श्रावण २०८० ०८:४९ बुधबार