१४ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

सुन तस्करीका लागि हङकङमा कार्यालय!

ममाथि लागेको आरोप शतप्रतिशत झुटो होः मल्होत्रा

फाइल तस्बिर

नेपाल र भारतका सुन कारोबारी मिलेर हङकङमा कार्यालय खोली तस्करीलाई सहयोग गरिरहेको पाइएको छ। विगतदेखि अहिलेसम्म सुन तस्करीमा नाम जोडिएका केही व्यक्ति र नयाँ व्यापारीहरू मिलेर हङकङमा कार्यालय नै सञ्चालन गरेर सुन तस्करीमा लागेको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार हङकङका नेपाली र भारतीय व्यापारीहरूले कार्यालय खोलेर नेपालमा अनुकूल वातावरण तयार पारी सुन पठाउने गरेका छन्। ‘नेपाली र भारतीय व्यापारीहरूको हङकङमा संयुक्त कार्यालय रहेको छ, जहाँबाट सेटिङ मिलाएर मात्रै नेपालमा सुन पठाउने गर्छन्। कुनै बेला सेटिङ भत्कियो भने वा कमिसनमा कुरा मिलेन भने मात्रै सुन बरामद हुने गरेको छ,’ स्रोतले भन्यो। सुन तस्करीका लागि हङकङमा कार्यालय खोल्नेमा अधिकांश भारतीय नागरिक तथा भारतीय मूलका नेपाली व्यापारी छन्। उनीहरूले चिनियाँ एजेन्टमार्फत हङकङबाट सुन नेपाल पठाउने गरेका छन्। उनीहरूले नेपाल र भारतमा बसेर हङकङका कार्यालयमा रहेका चिनियाँ एजेन्टहरूसँग सेटिङ मिलाउने गरेको स्रोतको दाबी छ।

नेपालमा तीन महिनाअघि खुलेको रेडी ट्रेड नामको कम्पनीले २२ पटकभन्दा बढी मोटरसाइकलको ‘ब्रेक सु’मा आयात गर्दा त्यसमा सुन लुकाएर ल्याएको अनुमान गरिएको छ।

पछिल्लोपटक राजस्व अनुसन्धान विभागले करिब १ सय किलो सुन बरामद गरेपछि सुन तस्करीमा अनेकन् प्रश्न उठिरहेका बेला नेपाली र भारतीय व्यापारीको मिलेमतोमा हङकङमा कार्यालय खोलेर नेपालको बाटोबाट भारततर्फ सुन तस्करी गर्न सहयोगी भूमिका खेलिरहेको खुल्न आएको स्रोतले जनाएको छ। नेपालमा तीन महिनाअघि खुलेको रेडी ट्रेड नामको कम्पनीले २२ पटकभन्दा बढी मोटरसाइकलको ‘ब्रेक सु’मा आयात गर्दा त्यसमा सुन लुकाएर ल्याएको अनुमान गरिएको छ। गत बुधबार मात्रै राजस्व अनुसन्धान विभागले भन्सार क्षेत्रभन्दा बाहिर सिनामंगलबाट करिब १ सय किलो सुन बरामद गरेको थियो।  

‘नेपाली व्यापारीहरूले भारतीय र चिनियासँग समन्वय गर्ने काम गर्छन्। पछिल्लोपटक उनीहरूले आफ्नो लगानीभन्दा पनि भारतीय र चिनियाँ व्यापारीको लगानीलाई मध्यस्थता गरेर नेपालको भूमिबाट भारतीय भूमिसम्म सुन पुर्याउने काम गर्छन्। त्यसबापत उनीहरूले प्रतिकिलो २ लाख रूपैयाँ कमिसन लिने गरेका छन्,’ स्रोतले भन्यो।

स्रोतका अनुसार हङकङमा कार्यालय रहेका सुन कारोबारीहरूमा किसन अग्रवाल, मोहन अग्रवाल, राजेन्द्र शाक्य, महावीरप्रसाद गोल्यान, विमल पोद्दार, राजकुमार दारुका, सञ्जय खेतान, मुरारीलाल गोयल, बालकृष्ण अग्रवाल, सत्यनारायण सोनी, विनोदकुमार सोनी सुमन अग्रवाल छन्। उनीहरूले चिनियाँ नागरिकलाई एजेन्ट राखेर नेपालको बाटो हुँदै भारततर्फ सुन पठाउने गरेका छन्। उनीहरूको नेपाल र भारतमा पनि सुनको कारोबार रहेको छ। मुरारीलाल गोयलको दरबारमार्गमा सुन पसल थियो भने शाक्यको न्युरोडमा पसल छ। अन्य व्यापारीहरूले आफैं लगानी पनि गर्ने र कतिपय सन्दर्भमा भारतीय व्यापारीहरूलाई सहजीकरण पनि गरिदिने गरेका छन्।

पछिल्लोपटक उनीहरूले आफ्नो लगानीभन्दा पनि भारतीय र चिनियाँ व्यापारीको लगानीलाई मध्यस्थता गरेर नेपालको भूमिबाट भारतीय भूमिसम्म सुन पुर्याउने काम गर्छन्। त्यसबापत उनीहरूले प्रतिकिलो २ लाख रूपैयाँ कमिसन लिने गरेका छन्,’ स्रोतले भन्यो।

पछिल्लोपटक बैंक ठगी र सेयर बजारका एक खेलाडीको पनि हङकङमा कार्यालय रहेको खुलेको छ। ती व्यक्तिले त्यहाँ चाँदी र चाँदीका सामानहरूको कारोबार गरिरहेको र नेपालतिर पनि पठाइरहेको स्रोतको दाबी छ। तत्कालीन गोरखा विकास बैंक धराशयी बनाउने र कमलादीमा फाइनान्स टावर बनाउने नाममा बैंक ठगी अभियोग लागेको ती व्यक्तिको पनि हङकङमा कार्यालय रहेको स्रोतले जनाएको छ। राजस्व अनुसन्धान विभागले उनको विषयमा निगरानी राखिरहेको छ।  

विभाग स्रोतका अनुसार उनी पछिल्लोपटक जुन २६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत गएको देखिएको छ। त्यतैबाट हङकङ पुगेका उनी जुलाई ५ मा दुबई हुँदै नेपाल आएको देखिएको छक। उनी नेपाल आएपछि हङकङबाटै नेपालमा सुन आएको थियो। ‘ती व्यक्तिको ट्राभल हिस्ट्री शंकास्पद छ,’ विभाग स्रोतले भन्यो।  

यसअघि गृह मन्त्रालयले गरेको ३३ किलो सुनको अनुसन्धानका क्रममा पनि नेपाली सुन व्यापारीहरूले हङकङमा कार्यालय खोलेर कारोबार गरिरहेको खुलेको थियो। त्यतिबेला दुबई र हङकङमा समानान्तर कार्यालय खोलेर सुन तस्करी गरेको प्रतिवेदनमा उल्लेख थियो। गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको संयोजकत्वमा बनेको समितिले नेपाल र भारतका सुन व्यापारीहरू हङकङ र दुबईमा कार्यालय नै खोलेर सुन तस्करी गर्छन् भन्ने प्रतिवेदन दिएको थियो तर सो प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छैन। त्यतिबेला सुन तस्करी प्रकरणको अनुसन्धानका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिले राजेन्द्र शाक्यको आरके ज्वेलर्सबाट ३० करोड बराबरको सुन बरामद गरेको थियो। शाक्यको सुनमा त्यतिबेला पोद्दार महावीर गोल्यानको पनि लगानी भएको अनुसन्धानबाट खुलेको थियो।  

त्यति मात्र होइन, हङकङबाट नेपाल आउने सुन भारतीय व्यापारीहरूको अवरोधबिना सिधै मुम्बई जाने भएकाले पनि नेपाली सुन कारोबारीहरूले त्यसलाई भारत पुर्याउन बिनालगानी जोखिम मोल्ने गरेको पनि प्रतिवेदनमा उल्लेख थियो। ‘खासगरी मुम्बई जाने सुनमा नेपाली र भारतीय व्यापारीको लगानी हुँदैनथ्यो, नेपाली कारोबारीले सहजीकरण मात्रै गर्ने हो,’ विगतमा सुन तस्करीसम्बन्धी अनुसन्धान गरेका एक सुरक्षा अधिकारीले भने। उनका अनुसार हङकङबाट आउने सुन सधैं मुम्बई जान्छ। दुबई र चिनियाँ नाका हुँदै आउने सुनमा मात्रै भारतीय र चिनियाँ व्यापारीहरूको लगानी हुने गरेको छ। ‘विमानस्थलबाट हङकङ हुँदै आउने सुनमा लगानीको मात्रा निकै कमजोर हुन्छ,’ अनुसन्धानमा पोख्त मानिएका पूर्वडिआइजी हेमन्त मल्लले भने। उनका अनुसार यस्तो कारोबारमा नेपालीहरूले बिचौलियाको भूमिका खेलेका हुन्छन्।  

ममाथि लागेको आरोप शतप्रतिशत झुटो होः मल्होत्रा  

अघिल्लो दिन सुन बरामद गरिएको छ, भोलिपल्टै मेरो नाम आयो। अहिले पनि आइरहेको छ, कमिसन लिएर काम गर्यो भन्ने आरोप छ। यी सबै आरोप मिथ्या हुन्। यस्तो काममा मेरो विगतमा पनि संलग्नता थिएन, अहिले पनि छैन। शतप्रतिशत झुटो हो, सत्यता छैन। कोही कसैले अनुसन्धानलाई अल्मल्याउन मेरो नाम जोडेको हुन सक्छ। २५ वर्षअघि म सुनको व्यापार गर्थें, कारोबार गर्थें तर अहिले सो कारोबारबाट म अलग भइसकेको छु। व्यवसाय पूर्ण रूपमा त्यागिसकेको अवस्थामा पनि मेरो नाम जोडिएर आउनुले म आश्चर्यचकित भएको छु। ममाथि सबै आरोप बिनाप्रमाण लगाइएका छन्। तस्करीको सुन नेपालमा रहने पनि होइन।  

अहिले म मोबाइल फोनको कारोबार गरिरहेको छु। घरजग्गा व्यवसाय र जलविद्युत् क्षेत्रमा लगानी गरिरहेको छु। आइएमएस ग्रुपले नेपालमा सामसुङ ब्रान्डको मोबाइल फोन आयात गर्छ। सन् २००१ देखि यो व्यवसाय गर्दै आएको छु। जग्गा खरिद, प्लटिङ, हाउजिङमा लगानी छ, यसबाहेक जलविद्युत्मा मेरो लगानी छ। गेटवे पेमन्टमा लगानी छ। सुनसरीमा कृषिमा लगानी छ, कागती खेती छ। यतिबेला व्यापार बिग्रेको छ, बैंकको ऋण तिर्न सकेको छैन। मैले सुनमा लगानी गर्ने भन्ने अवस्था होइन र झन् तस्करीको सुनमा लगानी गर्ने कुरा त सोच्न पनि सकिन्न। अर्को कुरा एयरपोर्टको पार्किङ व्यवस्थापन गर्न ३० वर्षको ठेक्का पाएको सत्य हो तर सिसिटिभीको भित्री क्षेत्रको पहुँच छ भन्ने कुरा सत्य होइन। नागरिक उड्डयन प्राधिकरणले नै हाम्रो कम्पनीलाई सिसिटिभी राख्न अनुमति दिएको हो। बाहिरी क्षेत्रको प्राविधिक नियन्त्रणका लागि मात्रै सिसिटिभी राखिएको हो। सुरक्षा अंगलाई पनि त्यहाँ पहुँच हुन्छ। साथै हाम्रो कम्पनीको त्यहाँ लगानी भए पनि अहिलेसम्म घाटामा छौं, रिटर्न आउन थालेको छैन। यस्तो अवस्थामा ममाथि लगाइएका सबै आरोपहरू झुटा हुन्।

प्रकाशित: ९ श्रावण २०८० ००:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App