वैशाख महिनामा चितवनस्थित राष्ट्रिय निकुञ्ज पुग्दा घुम्ने मात्र मेरो उद्देश्य थिएन। परिवारको इच्छापूर्तिसँगै मेरो आफ्नै स्वार्थ पनि थियो, वनजीवीहरूको सुन्दर तस्बिर खिच्ने। कहिलेकाहीं यस्तो स्वार्थमा भाग्यले पनि साथ दिन्छ भन्ने उदाहरण यी संकलन हुन्।
१. ठेउवा नामक यो चरोलाई नीलकण्ठ पनि भनिन्छ। कथा अनुसार भगवान् शिवसँग मिल्दो नाम भएकाले दशैंका बेला भारत र नेपालका कतिपय तराई भेगमा यसको पूजा समेत गरी शुभकार्य थालिन्छ।
२. हामी यहाँ आइपुग्दा लंगुर बाँदर आफ्नै काममा मग्न थिई। जब मैले क्यामेरा तेर्स्याएँ, उसले केही सेकेन्ड मलाई हेरी। त्यसपछि हतारहतार आफ्नो सन्तानलाई च्यापेर अन्तै लागी।
३. हामीले हेर्दाहेर्दै भाले मयूरले पोथीलाई बोलायो। मलाई थाहा थियो, अब यसले प्वाँख फैलाउँछ। मैले केहीबेर कुरें ताकि प्वाँख फैलाओस्। नभन्दै पोथी छेउमा आउँदै गर्दा भालेले आफ्नो प्वाँख फैलाएर हाम्रो दिन उज्यालो पारिदियो।
४. मुख्यतः तराईतिर पाइने यो चरा बगाले भ्याकुर हो। यो प्रजातिको चरा सुन्दर मात्र नभई पर्यावरण तथा जैविक विविधताका लागि समेत महत्वपूर्ण मानिन्छ। कोलाहल, वासस्थान तथा खानपानको अभावजस्ता कारणले यो चरा संकटापन्न अवस्थामा रहेको छ।
५. हामी अघि बढ्दै गर्दा एक हुल चित्तल चरिरहेका देख्यौं। हुन त यो भिडमा अरू पनि चित्तल थिए तर मैले केही सीमित चित्तल देखिने गरी तस्बिर खिचिक्क पारें।
६. काकाकुल रोचक चरो हो किनभने यसले जमेको पानी कहिल्यै पिउँदैन। पिउनुपर्यो भने रुखका टोड्काको वा झरी परिरहेका बेला सिधा पिउने मात्र गर्छ। यो निकै दुर्लभ व्यवहार भएको चरो हो।
७. हामीले त्यहाँ जंगली कुखुरा (लुइचे) पनि देख्यौं। हेर्दा घरेलु कुखुराजस्तै तर अलि फरक बान्कीका यी लुइचे हात्तीलाई खुवाउने दाना खान पल्केका रहेछन्।
८. यसपछि बाघ नै हेर्ने उद्देश्यले पुगेका हाम्रो लक्ष्य अन्ततः पूरा भयो। बाघ चित्तल चरिरहेको बथानमा पुगेर आक्रमण गर्ने दाउमा थियो। हामीले चित्तलको तस्बिर लिइरहेका थियौं। झाडीबाट बाघ निस्केको देख्नेबित्तिकै मैले केही क्लिक लिइहालें। बाघ केही सेकेन्ड अल्मलिँदै गर्दा सारा चित्तल भागेर ज्यान जोगाएको दृश्य बडो रोचक थियो।
प्रकाशित: ६ श्रावण २०८० ०३:१० शनिबार