२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

जुम्लामा नुन नपाएको भन्दै साल्ट ट्रेडिङमा ढुंगामुढा

दिनभरि लाइनमा पालो कुरेर बस्दा पनि नुन नपाएको भन्दै स्थानीयहरुले जुम्लास्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको  कार्यालयमा ढुंगामुढा गरेका छन्।

चाहिए जति नुन नपाइने र पछिसम्म नुनको हाहाकार हुनसक्ने हल्ला फैलिएपछि आइतबार नुन लिन आउनेहरूको भिड नै लागेको थियो।

जुम्लाको चन्दननाथ नगरपालिका –१० की झुम्का सार्कीले नुन लिन जाँदा भएको ढुंगामुढाले ज्यानै जोखिममा पर्ने गरेको बताइन्। नुन लिन दिनभर लाइनमै बसेको थिएँ लाइनमा रहेको भिड अनियन्त्रित भएपछि हुलदंगा भएको उनले बताइन्। 

चन्दननाथ–१ तलिचौरका पुष्कर देवकोटाले धेरै मानिस नुन पाउने आशमा लाइनमा बसे पनि नपाएको बताए। धेरैले नुन पाएनन बरु धकेला धकेलमा परेको उनले बताए। 

स्थानीय दोभान शान्ति युवा क्लबले स्वयंसेवक खटाएर भिड नियन्त्रण गर्ने प्रयास गरिरहेको थियो। त्यसले दुई घण्टा जति व्यवस्थापन पनि गर्‍यो। त्यसपछि भने सानो शक्तिले भिड नियन्त्रण गर्ने स्थिति बनेन्। नुन लिन गएका पर्खालबाट पस्न थालेपछि लाइनमा बसेकाहरुले आक्रोश व्यक्त गरेका थिए। पालो मिचेर नुन दिन खोज्दा भिड अनियन्त्रित बनेको थियो। सुरक्षाको लागि भन्दै सशस्त्र प्रहरी नै साल्ट टेड्रिङको कार्यालयमा पुगेको थियो।  

प्रहरी पुगेपछि भिड नै आक्रोशित भएर कार्यालय र गोदामका ढोका तोडफोड समेत भएको थियो। अभाव हुने र आफूले चाहे जति नपाउने भएपछि धेरैजसो स्थानीय नुन वितरण गर्ने दिन लाइन लाग्न जाने गर्छन्।  

यता साल्ट ट्रेडिङ कर्पोरेसन जुम्लाका प्रमुख खगेन्द्र मल्लले भने नुनको अभाव नभएको बताए। 'अलि अगाडि हामीसँग नुनको मौज्दात कमै मात्रामा थियो। प्रतिव्यक्ति ३ किलो मात्रै नुन वितरण गरिरहेका छौं', उनले भने, 'तर असार ३१ पछि प्रतिव्यक्ति पाँच किलो नुन दिने निर्णय गरेका थियौं।'

जुम्लाका तिला, तातोपानी, चन्दननाथ, गुठीचौर र पातरासी पाँचवटा पालिकाको लागि जुम्ला विमानस्थल नजिकको डिपोबाट नुन वितरण हुँदै आएको छ। जसका लागि वार्षिक ६ हजार क्विन्टल नुन चाहिन्छ। तर अघिल्लो आर्थिक वर्षमा २५ सय क्विन्टलमात्रै हुँदा चाहिएजति नुन दिन नसकिएको प्रमुख मल्लले बताए। 'अहिले भर्खरै २ हजार ८० क्विन्टल नुन थपिएपछि अभाव छैन। म हिजो सिञ्जा नुन झार्न गएको थिएँ' उनले भने,'आगामी आर्थिक वर्षका लागि पनि ३ हजार क्विन्टलका लागि टेन्डर भइसकेको छ। नुनको अभाव छैन।'

प्रकाशित: १ श्रावण २०८० ०९:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App