२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

परेवाले ‘चारो’ खाँदा मुस्कुराउने जिन्दगी

शहरका कथा

मकवानपुर चित्लाङकी रविना बस्नेतले हनुमानढोका परिसरमा मकैगहुँ लगायतका अन्न (चारो) पोकामा बेच्न थालेको तीन वर्षभन्दा बढी भयो। मन्दिर परिसर आउने श्रद्धालुले परेवालाई खुवाउने उक्त आहारा बेचेर बस्नेतको गुजारा चल्ने गरेको छ।

‘परेवाले दाना खाँदा हाम्रो पेट भरिन्छ,’ ९ महिने नानीलाई पिठ्यूँमा बोकेर आएकी उनले भनिन्, ‘नानीहरूको खुराक पनि यही कमाइबाट चल्दै आएको छ।’ तर पछिल्ला केही महिना यताबाट भने उनी निराश छिन्। महानगरले बिहान ८ बजेसम्ममात्र आहारा बेच्न पाउने नियम राखेपछि उनी समस्यामा परेकी हुन्।

मकवानपुर चित्लाङकी रविना बस्नेतले हनुमानढोका परिसरमा मकैगहुँ लगायतका अन्न (चारो) पोकामा बेच्न थालेको तीन वर्षभन्दा बढी भयो। मन्दिर परिसर आउने श्रद्धालुले परेवालाई खुवाउने उक्त आहारा बेचेर बस्नेतको गुजारा चल्ने गरेको छ।

‘अर्की छोरीलाई विद्यालयका लागि तयार गर्दा घरमै ८ बज्छ,’ ११ बजेतिर भेटिएकी उनले भनिन्, ‘त्यसैले अहिले लुकेर भए पनि बेच्नुपरेको छ।’ प्रतिपोका ५० देखि एक सयमा मकै तथा गहुँ बेच्दै आएकी उनले नगरप्रहरीले समातेको दिन गुजारा चलाउन मुस्किल हुन्छ।

उनीसँगै रहेकी दोलखाकी सविना थापाको कथा पनि उस्तै छ। शारीरिक रूपमा अपाङ्गता भएकी उनको गुजारा पनि परेवाले खाने मकैबाटै चलेको छ। ‘मेरो कमाइको माध्यम पनि यही हो,’ पोल्टामा मकै लुकाएर ल्याएकी उनले भनिन्, ‘तर यही काममा पनि अहिले समस्या आएको छ।’

हनुमान ढोकामा उनीहरूजस्ता थुप्रैले परेवालाई चारो बेच्ने काम गर्छन्। यहाँ आउने श्रद्धालुले चारो किनेको पैसाले उनीहरूको घर चल्ने गरेको छ।

यसरी जीविका चलाउँदै आएका उनीहरू पनि महानगरको पछिल्लो नियमले समस्यामा परेको सुनाउँछन्। ‘महानगरले ८ बजेपछि चारो बेच्न किन दिएन, हामीलाई थाहा छैन,’ मकै बेच्दै गरेकी एक महिलाले भनिन्, ‘व्यवस्थित ढंगले दिनभर यो काम गर्न दिएको भए हामीजस्ता धेरैको पेट भरिन्थ्यो।’

हनुमानढोका क्षेत्रमा खटिएका नगरप्रहरीले भने अव्यवस्थित ढंगले दिनभर मकै बेच्दा स्थान फोहोर हुनुको साथै परेवासमेत बिरामी परेको तर्क गर्छन्। ‘दिनभर चारो बेच्नेको भिडले गर्दा यो क्षेत्र फोहोर हुनुका साथै परेवासमेत बिरामी परेका पायौं,’ त्यसै क्षेत्रमा भेटिएकी नगरप्रहरी भन्छिन्, ‘त्यसैले हामीले बिहान ८ बजेसम्मको समयसीमा तोकेका हौं।’

हनुमान ढोकामा उनीहरूजस्ता थुप्रैले परेवालाई चारो बेच्ने काम गर्छन्। यहाँ आउने श्रद्धालुले चारो किनेको पैसाले उनीहरूको घर चल्ने गरेको छ।

यता बौद्धनाथ स्तुपामा परेवाको आहारा बेच्दै गरेकी ढाकादेवी परियारलाई भने समयसीमाको केही परबाह छैन। बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म आहारा बेच्दै आएकी उनी आफ्नो कामबाट सन्तुष्ट छिन्। ‘यहाँ जुन बेला आए पनि श्रद्धालुले परेवालाई आहारा खुवाउन पाउँछन्,’ उनले भनिन्, ‘त्यही परेवाले खाएको आहाराबाट हाम्रो पनि गुजारा चल्छ।’

हनुमानढोका र बौद्धस्तुपाजस्तै उपत्यकाका दर्जनौं ठाउँमा यसरी चारो बेचेर गुजारा चलाउने गरेका भेटिन्छन्। पाटनको कृष्णमन्दिर, स्वयम्भू, पशुपति लगायतका थुप्रै मठमन्दिरमा चारो बेच्नेहरू भेटिन्छन्। ‘केटाकेटीदेखि बुढापाका सबै चरालाई अन्न खुवाउन आउँछन्,’ स्वयम्भूमा चारो बेच्दै गरेकी माया बुर्लाकोटी भन्छिन्, ‘यो देखेर हामीलाई पनि निकै खुसी लाग्छ।’

चारो बेच्ने मात्र होइन, परेवाले अन्न खाँदा खुवाउनेको अनुहारमा पनि उत्तिकै आत्मसन्तुष्टि झल्कन्छ। रमाउँदै परेवालाई आहारा खुवाउँदै गरेका नानीहरूको हँसिलो अनुहारले सिंगो मन्दिर परिसर झलमल भएको महसुस हुन्छ। ‘आफूले दिएको अन्न परेवाको झुन्डले क्षणभरमै सकाउँदा जीवन सार्थक भएको महसुस हुन्छ,’ बौद्धस्तुपामा भेटिएकी निमा तामाङ भन्छिन्, ‘एक कचौरा अन्न खुवाउँदा एकपटक स्तुपा परिक्रमा गरेजस्तै आनन्द मिल्छ।’

संस्कृतिविद् ओम धौभडेल धार्मिक तथा वैज्ञानिक दुवै ढंगले चरालाई अन्न खुवाउनु मानव समुदायको दायित्व भएको बताउँछन्। ‘जंगलमा बस्ने चराहरू मानवछेउ आएर बस्न थालेपछि त्यसलाई खुवाउने जिम्मा पनि मानवकै हो,’ उनले भने, ‘यो पृथ्वीमा उत्पादन भएको अन्नमा मानवको मात्र होइन, अन्य जीवको पनि उत्तिकै हक लाग्ने धार्मिक मान्यता छ।’

हनुमानढोका र बौद्धस्तुपाजस्तै उपत्यकाका दर्जनौं ठाउँमा यसरी चारो बेचेर गुजारा चलाउने गरेका भेटिन्छन्। पाटनको कृष्णमन्दिर, स्वयम्भू, पशुपतिलगायतका थुप्रै मठमन्दिरमा चारो बेच्नेहरू भेटिन्छन्।

त्यसैगरी धार्मिक मान्यताअनुसार मानव चोलाले पनि मृत्युपछि चराचुरुङ्गीको जीवन लिने भएकाले आफ्ना पूर्वजको सम्मानमा पनि चरालाई अन्न खुवाउने चलन रहेको हुनसक्ने उनको बुझाइ छ।

‘अझै पनि खाना खानुअघि कौवा अथवा परेवालाई भात छुट्याउने चलन छ,’ उनले भने, ‘यो हाम्रो सुन्दर संस्कृति र प्राचीन परम्पराको निरन्तरता हो।’

प्रकृतिमा परेवाहरूको आहारा सामान्य छ। कुनै पनि अन्न, बिउ, घाँसका मुन्टा अथवा साग। सहरको घाँस नियमित रूपमा काटिँदा र यहाँका रूख र झाडी छाँटिँदा परेवाले मानिसले दिएको कुरा खाएर बाँच्ने गर्छ। त्यसैले मानिसले आहारा दिँदा होसियारी अपनाउनुपर्ने कतिपयको बुझाइ छ।

परेवा भोकले होइन, अपचबाट मर्छन् भन्ने मान्यता छ। जब कि उसको पेटले अनुपयुक्त खाना पचाउन असमर्थ हुन्छ। त्यसैले यसलाई खुवाउँदा होसियारी अपनाउनुपर्ने कतिपयको बुझाइ छ।  

प्रकाशित: २३ असार २०८० ०३:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App