२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

लिम्चुङबुङ गाउँपालिका लम्पीस्कीन रोगको निशूल्क उपचार गर्दै

लम्पी स्कीन रोगी गोरुको उपचार गर्दै कृषि प्राविधिक। तस्विरः महेश्वर

उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले गाई–भैँसीको छालामा लाग्ने रोग लम्पी स्कीनको निःशुल्क उपचार गरिरहेको छ। देशभरका पशु चौपायामा प्रकोपको रुपमा देखिएको लम्पी स्कीन रोग भयावह हुने जोखिम बढेको भन्दै गाउँपालिकाले निःशुल्क उपचारको व्यवस्था मिलाएको हो। 

गाउँपालिकाको कृषि शाखाले कुनै पनि वडाका कृषकहरूको गाई–भैँसीमा यो रोग देखिएमा निःशुल्क उपचार गर्ने गरी गाउँ कार्यपालिकाको बैठकले निर्णय गरे अनुसार उपचार सुरु गर्न थालेको हो। गाउँपालिकाको निर्णय अनुसार कसैको गाई भैँसीमा यो रोग देखिएमा तत्काल गाउँपालिकाको कृषि शाखामा सम्पर्क गर्न सार्वजनिक सूचना जारी गरेको थियो। गत जेठ २६ गते बसेको कार्यपालिका बैठकले गरेको निर्णय अनुसार गाउँपालिकाका कुनै पनि वडामा यो रोग देखिएमा तत्काल गाउँपालिका, कृषि शाखा वा जनप्रतिनिधिमार्फत सम्पर्क गरेमा उपचार गर्ने व्यवस्था मिलाइएको सार्वजनिक सूचना असार ५ गते प्रकाशित गरिएको थियो। 

सूचना अनुसार कृषकहरुले आफ्ना पशु चौपायामा यस्तो रोग देखिएमा गाउँपालिकामा खबर गर्ने गरेका छन् भने कार्यालयले खबर पाए लगत्तै कृषि प्राविधिक खटाएर उपचार गर्ने गरेको प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले बताए। उनका अनुसार कृषकहरूबाट जानकारी आउने बित्तिकै कृषि प्राविधिकलाई किसानको घरघरमा खटाएर उपचार गर्ने गरिएको छ। जस अनुसार अहिले गाउँपालिकाभरिका कृषकले आफ्नै घर गोठमा प्राविधिक आएर लम्पी स्कीन रोगको उपचार पाई रहेका गुरुङले बताए। 

लम्पी स्कीन रोगको उपचार निःशुल्क गरिदिने व्यवस्था गाउँपालिकाले मिलाएको जानकारी पाएपछि कृषकहरूलाई धेरै सहज भएको बताएका छन्। कसैको गोठमा गाई भैँसीमा लम्पी स्कीन रोग लागेको पत्ता लागे वडास्थित सहायक कृषि प्राविधिकलाई खबर गर्ने गरेको र प्राविधिकहरू दिन रात नभनी खटेर उपचार गर्दै आएका छन्। ५ वटै वडामा १÷१ जना सहायक कृषि प्राविधिक गाउँपालिका कृषि शाखामा थप ३ जना कृषि प्राविधिक कार्यरत सबै जना आवश्यकता अनुसार उपचारमा खट्ने गरेका छन्। कृषि शाखा प्रमुख मानबहादुर श्रेष्ठले कृषकबाट आएको सूचना पाए लगत्तै प्राविधिकहरू वडा वडा र पीडित किसानको घर गोठमै पुगेर उपचार गर्ने गरेको बताए। 

उनका अनुसार ५ वटै वडाका बिभिन्न बस्तीमा लम्पी स्कीन रोग लागेको खबर आए अनुसार घर गोठसम्मै पुगेर उपचार गर्ने काम भईरहेको श्रेष्ठले बताए। हालसम्म ५ सय भन्दा बढी रोगी गाईको निःशुल्क उपचार भइसकेको छ। गाउँपालिकाले कृषि शाखामार्फत आवश्यक औषधि उपकरणको जोहो गरेर निःशुल्क उपचार गर्ने गरेको छ। देशभर जताततै यो रोग प्रकोपको रुपमा फैलिँदै गएपछि गाउँ कार्यपालिका बैठकबाटै निर्णय गराई निःशुल्क उपचारको व्यवस्था मिलाइएको हो। 

गाउँपालिका अध्यक्ष मेजर राईले गाउँपालिकाबासी जनताहरू अधिकतर पशु पालक कृषक रहेको हुनाले उनीहरूको सेवा सुविधामा प्रोत्साहनपूर्वक सहयोग गर्न निःशुल्क उपचारको व्यवस्था मिलाइएको बताए। उनका अनुसार लिम्चुङबुङ गाउँपालिकामा पशुपालन र मौसमी तथा बेमौसमी तरकारी खेतीलाई व्यावसायिक बनाउन विगत ३ वर्षयता सञ्चालनमा ल्याइएको ‘अध्यक्ष कृषि परियोजना’ अन्तर्गत पनि पशुपालन र तरकारी फलफूल खेतीतर्फ स्थानीयवासीको आकर्षण बढ्दै गएको छ। व्यावसायिक कृषकहरूलाई आवश्यक सहयोग र प्रोत्साहन गर्न गाउँपालिकाले निःशुल्क उपचार सेवा,  अनुदान सहयोगलगायत सेवा दिँदै आएको पनि अध्यक्ष राईले बताएका छन्। 

देशभर प्रकोपको रुपमा फैलिएको लम्पी स्कीन रोगलाई निर्मूल पारेर कृषकहरूलाई क्षति हुनबाट बँचाउन लिम्चुङबुङले अघि सारेको निशूल्क उपचार सहयोग कृषकमैत्री भएको भन्दै स्थानीय किसानहरू खुसी भएका छन्। 

प्रकाशित: २२ असार २०८० १३:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App