३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

प्रदेश सरकारको १ करोडको लागतमा मानव सेवा आश्रमको भवन निर्माण हुँदै

मधेस प्रदेश सरकारको १ करोडको लागतमा मानव सेवा आश्रम वीरगञ्जको भवन निर्माण कार्य भइरहेको छ। वीरगन्ज महानगरपालिका–१५ लक्ष्मणवामा भइरहेको भवन निर्माण कार्यमा अहिले दुई तल्लेको छत ढलान भएको छ।

वीरगन्ज महानगर पालिकाका पूर्व मेयर विजय सरावगीले उपलब्ध गराएको १८ कठ्ठा जग्गामा आश्रमको भवनको निर्माण कार्य भइरहेको छ। सो भवन निर्माणका लागी ढेड वर्ष पहिले नै तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको तर्फबाट १ करोड रुपैया छुट्टाएका थिए भने मुख्यमन्त्री कार्यालयले छुट्टै बाउण्डरी वालका लागी ४० लाख रुपैयाँ उपलब्ध गराएको पूर्व मुख्यमन्त्री राउतले बताए।

पर्सा गृह जिल्ला भएको र आफ्नो निर्वाचन क्षेत्रमा बुधबार अनुगनम गर्ने क्रममा पूर्व मुख्यमन्त्री राउतले असहाय नागरिकहरूका लागी व्यवस्थित आश्रम बनाउने उद्देश्यका साथ सो रकम छुट्टाइएको बताए। सडकमा बेवारिसे अवस्थामा रहेका बालक वृद्ध लगायत नागरिकलाई सहज रूपले व्यवस्थापन गर्नु पनि राज्यको कर्तव्य रहेको उनले बताए। राउतले यसका लागी प्रदेश सरकारको तर्फबाट हुन सक्ने सहयोग आफूले गरेको बताए।

‘जसको केही सहरा छैन उसको लागी मानव सेवा आश्रमले पुण्यको काम गर्दै आएको छ, उनले भने अहिले वीरगञ्जमा अवस्थित आश्रमको आफ्नै भवन नभएकाले सेवामा कठिनाइ भइरहेको छ, यस्तो अवस्थामा आश्रमको आफ्नो भवन भएपछि यहाँ आउने असहायहरूलाई बस्न सहज हुने र पर्याप्त ठाउँ भएपछि अहिलेको भन्दा धेरै मानिस पनि राख्न सकिने छ।

मानव सेवा आश्रम भवन निर्माण उपभोक्ता समितिका संयोजक प्रकाश थारुका अनुसार वैशाखको १८ गते देखी सुरु भएको काममा अहिले सम्म पुरानो पोखरीको माटो पुर्ने र भवनको जग निर्माण र दुई तल्ले छतको ढलान कार्य सम्पन्न भएको छ। निर्माण भइरहेको भवनमा तल देखी माथि सम्म ५६ जना व्यक्ति राख्ने गरि ४ वटा ठुल्ठुला हल छन् प्रत्येक हलमा १४ वटा बेड राखिने उनले बताए। साथै ठुलो बरन्डा, शौचालय सुरक्षा गार्ड बस्ने एक कोठा कार्यालय, भान्साघर लगायत माथिल्लो तल्लामा व्यायामशाला लाइब्रेरीको व्यवस्था गरिने योजना रहेको थारुले बताए।

मधेस प्रदेश सरकारले पठाएको एक करोड मध्ये नेपाल सरकारको निर्देशन अनुसार २० लाख रुपैया कटौती गरि ८० लाख रुपैया भवन निर्माणको लागी आएको उनले बताए। जसमध्ये १० प्रतिशत श्रमदानमा काटिएको र बाकि रकम ७२ लाखमा स्थानीय ठेकेदार लगाएर भवनको काम भइरहेको संयोजक थारुले बताए। यसैगरी मुख्यमन्त्रीको कार्यालयबाट आएको छुट्टै ४० लाख रुपैयाँमा पोखरीको जग्गामा माटो भर्ने काममा १० लाख रुपैया र बाकिको पर्खाल लगाउने काम भइरहेको उनले बताए।

वीरगन्ज महानगर पालिकाले बजार क्षेत्र भन्दा टाढा र शान्त ठाउँमा १८ कठ्ठा जग्गा उपलब्ध गराएपछि प्रदेश सरकारले गर्नुपर्ने दायित्वको रुपमा निर्माण कार्यमा विशेष जोड दिइएको पूर्व मुख्यमन्त्री राउतले बताए। आश्रमका लागी जग्गा पर्याप्त भएकाले यसलाई व्यस्थित ढङ्गले निर्माण कार्य सम्पन्न गराउनका लागी फेरी पनि प्रदेश सरकारसंग पहल गर्ने उनले बताए।

भवन निर्माणका लागि अहिले महानगरपालिकाका मेयर राजेशमान सिंहले २५ लाख रुपैयाँ उपलब्ध गराएको संयोजक थारुले बताए। बारा र पर्साको सीमामा आश्रम बनिरहेकाले बाराको परसौनी गाउँपालिकाले ५ लाख रुपैया सहयोग गरेको र पर्साको ठोरी गाउँपालिकाले २ लाख रुपैया सहयोग गरेको थारुले बताए। अहिले ती रकमहरू खर्च हुन बाकि रहेको उनले बताए।

अहिले सिर्सिया रानीघाटको मानव सेवा आश्रममा ५७ जना आश्रीत छन् जसमध्ये ९ जना बुवा, ४३ जना आमा , ३ जना बालिका र २ जना बालक रहेको आश्रमका मधेस प्रदेश संयोजक देवेश गुप्ताले बताए। 

प्रकाशित: २१ असार २०८० ०६:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App