१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

मुग्लिन–नारायणगढ सडकमा पहिरोले सास्ती:कतिखेर गन्तव्यमा पुगिने ठेगान छैन

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिनमा सवारी जाम भएपछि रोकिएका यात्रु। तस्बिर:नागरिक

तनहुँको दमौलीबाट बस चढेका मिलन हड्खलेलाई काठमाडौं पुग्न झन्डै १८ घन्टा लाग्यो। बिहान ६ बजे दमौलीबाट बस चढेका उनी काठमाडौंको बालाजुस्थित बसपार्कमा ओर्लिंदा मध्यरातको १२ बजिसकेको थियो। दमौलीबाट काठमाडौंसम्मको १५० किलोमिटर दुरी अरूबेला पाँच घन्टामै पूरा हुन्थ्यो तर यसपटक सोही दुरी पार गर्न उनलाई १८ घन्टा लाग्यो।

यति बेला मुग्लिन–नारायणगढ बाटो अस्तव्यस्त छ। बेलाबेला खसिरहने पहिरोका कारण सो खण्डमा कुन बेला कहाँनिर पुगेर रोकिनुपर्ने भन्ने ठेगान नै हुन्न। राजमार्ग खुल्ने र बन्द हुने भइरहँदा सवारी लामो समय राजमार्गमा रोकिने गरेका छन्। मुग्लिन–नारायणगढ सडक अवरुद्ध हुँदा चितवन हुँदै आउजाउ गर्ने यात्रुले त मार खेपेकै छन्, राजमार्गको त्यो अप्ठेरोको मारमा पृथ्वी राजमार्ग हुँदै आउजाउ गर्ने यात्रु पनि पर्ने गरेका छन्।

गण्डकी र धवलागिरिका विभिन्न जिल्लाका यात्रु पृथ्वी राजमार्ग हुँदै आउजाउ गर्दा मुग्लिनमा भेट हुन्छ। त्यसपछि यात्रुहरू चितवन र काठमाडौंतिर बाँडिने गर्छन्। अहिले पृथ्वी राजमार्गको पोखरा–आँबुखैरेनी खण्ड विस्तारका क्रममा रहेकाले धुलो र हिलोको सास्ती भए पनि पहिरोको समस्या उतिसारो दोहोरिएको छैन। तर मुग्लिन–नारायणगढका कारण निम्तिएको सास्ती भने पृथ्वी राजमार्ग भएर आउजाउ गर्ने यात्रुले पनि भोग्ने गरेका छन्। दमौलीका हड्खले त्यही अप्ठेरोमा परेकामध्ये एक यात्रु हुन्।

हड्खलेका अनुसार उनी यात्रा गरेको दिन दमौलीदेखि मुग्लिनसम्म सडकमा कतै पनि अवरोध थिएन। विस्तार भइरहेको राजमार्गमा फाट्टफुट्ट हिलोबाहेक पहिरोको अवरोध कतै थिएन तर मुग्लिन पुगेपछि भने नारायणगढतर्फको पहिरोको मारमा उनी परेका थिए। ‘दमौलीबाट बस चढेपछि मुग्लिनसम्म खासै अवरोध कतै थिएन। जब मुग्लिन पुगियो, त्यसपछि बल्ल सास्ती सुरु भयो,’ उनले भने, ‘मुग्लिन–नारायणगढ सडक अवरुद्ध हुँदा मुग्लिन क्षेत्रमा रोकिएका सवारीका कारण सास्ती भयो।’ मुग्लिनदेखि काठमाडौंतर्फ सवारीसाधन अस्तव्यस्त तरिकाले लाम लाग्दा पोखरातर्फबाट गएका सवारी पनि जाममा फसेको उनले बताए।

‘पोखराबाट जाने सवारी मुग्लिन पुगेपछि अगाडि बढ्नै पाएनन्। यतिसम्म कि घन्टौं मुग्लिनमै रोकिनुप¥यो। नारायणगढतर्फ जान नपाएका सवारी यत्रतत्र सडकमा रोकिँदा पोखरातिर आउजाउ गर्ने सवारी पनि फसेका थिए,’ उनले भने, ‘ट्राफिक व्यवस्थापन सहज नहुँदा यात्रुले अनाहकमा सडकमा रोकिनुप¥यो। सडकमा जथाभाबी रोकिएका सवारीले अरूलाई मार परेको थियो। साना सवारीले जथाभाबी ओभरटेक गर्दा र ती सवारीको व्यवस्थापन नहुँदा सबैलाई सास्ती भयो।’मुग्लिन–नारायणगढ राजमार्गको सास्तीको मार अझै पनि कम भएको छैन।

बस व्यवसायीले पनि मुग्लिन–नारायणगढ जामका कारण पृथ्वी राजमार्गका यात्रु र सवारी साधनलाई सकस परेको बताउँछन्। ‘काठमाडौंबाट पोखरा आउने सवारी त सरासर आउन पाउनुपर्ने हो तर मुग्लिन–नारायणगढ पहिरोले रोकिएका सवारीको मारमा पोखरातिरका पनि पर्ने गरेका छन्,’ पोखरा–काठमाडौं रुटमा रात्रि बस सञ्चालन गरिरहेको ग्रेहाउन्ड बस कम्पनीका सञ्चालक कृष्णहरि अधिकारी भन्छन्, ‘बस सेवा दिन पनि यो बेला निकै सकसपूर्ण बनेको छ।’पहिरोबिनाको जाममा पर्दा पोखरा क्षेत्रका यात्रु र सवारीलाई सकस भएको उनले बताए।

‘बाटोका कारण तोकिएको समयमा गन्तव्यमा यात्रु पुु¥याउन सकस भएको छ। यहीबेला पोखरा–मुग्लिन राजमार्ग विस्तार भइरहँदा यात्रा ढिलो हुने गरेको छ। त्यसैमा मुग्लिन तरेपछि नारायणगढतिरको अस्तव्यस्ताको मार पनि थपिन्छ। तोकिएको समयमा गन्तव्यमा पुग्नै सकिन्न,’ उनले भने, ‘एकातिर पहिरो छ, अर्काेतिर सास्ती थपिएको छ।’ पोखरा–काठमाडौं रुटमा पर्यटक बस सेवा सञ्चालन गरिरहेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस (नाट्टा) का गण्डकी अध्यक्ष हरिराम अधिकारीका अनुसार मुग्लिन–नारायणगढको पहिरोको मारमा परेर अहिले पृथ्वी राजमार्ग भएर विभिन्न जिल्लामा आउने बसलाई कम्तीमा पनि थप चार घन्टा बढी समय लाग्ने गरेको छ। बिहान ७ बजे राजधानीबाट हिँडेका बस पोखरा आउँदा दिउँसो ३ बज्ने गरेकोमा अहिले ढिला हुँदै जाँदा बेलुकी ७ बज्ने गरेको उनले बताए।

यतिसम्म सकस प¥यो कि दिउँसो ३ बजे पोखरा आइपुग्नुपर्ने बस भोलिपल्ट बिहान २ बजे मात्र आइपुगेको थियो। यसले यात्रु र व्यवसायी सबैलाई सकस छ,’ उनले भने, ‘मुग्लिन–नारायणगढको सकस पृथ्वी राजमार्गका यात्रुलाई पनि छ।’ उनका अनुसार पोखराबाट बिहान बस चढ्ने बेला यात्रुले कति बजे काठमाडौं पुगिन्छ भनेर सोध्छन् तर व्यवसायीले पुग्नचाहिँ पुगिन्छ तर कति बजे भन्ने भन्ने निश्चत हुँदैन भनेर जवाफ दिने गरेका छन्। ‘अहिले बसमा यात्रा बाध्यकारी अवस्थामा मात्र छ। बाटो सहज छैन भन्ने थाहा छ, यात्रुलाई उत्तिकै सास्ती छ,’ उनले भने।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङ लेन मिचेर सवारी चलाउँदा राजमार्गमा सवारी व्यवस्थापन चुनौतीपूर्ण बन्ने बताउँछन्। ‘पहिरो झरेको सुरुका दिनमा केही अप्ठेरो परेको हो। गत शनिबार व्यवस्थापमा निकै गाह्रो भयो,’ तामाङले भने, ‘एक लेनमा पुरै पार्किङ भयो, अर्काे लेनमा पनि दोहोरो सवारी चलाउनुपर्दा अप्ठेरो परेको हो। अहिले भने केही सहज छ।’ साना सवारीसाधनले हतार गरेर अगाडि जान खोज्दा राजमार्गमा व्यस्थापन गर्न कठिनाइ भई अस्तव्यस्तको अवस्था सिर्जना हुने उनको भनाइ छ। ‘सबै यात्रुलाई मुग्लिन बजारमै आउन हतार हुने गरेको छ। पाएसम्म अगाडि जाने भन्ने पनि हुन्छ, बीचबीचमा गाडी छिराइदिनेहरू पनि हुन्छन्। जसले गर्दा व्यस्थापन गर्न कठिनाइ हुन्छ,’ उनले भने।

उनका अनुसार साना सवारीका यात्रुले यतिसम्म अप्ठेरो पारेका थिए कि पोखरा जाने निहुँमा मुग्लिनसम्म आउने र गाडी तेस्र्याएर राख्ने। ‘सबैजनाले लेन अनुशासन पालना गर्ने हो भने समस्या हुँदैन। सबैलाई हतार हुँदा व्यवस्थापन चुस्त हुन सक्दैन,’ उनले भने, ‘पहिरो खुल्नासाथ जान पाइन्छ भनेर पहिरो नजिकै जाऔं भन्ने हुन्छन्।’ मुग्लिन चौकीले पृथ्वी राजमार्ग व्यवस्थापन गर्ने क्रममा अहिले १५ जनाजति ट्राफिक प्रहरी र बाँकी नेपाल प्रहरी यो खण्डमा परिचालन गरेको उनले बताए। मुग्लिन–नारायणगढ खण्डमा पनि १५ जनाजति ट्राफिक प्रहरी खटिएको उनले बताए। 

प्रकाशित: १९ असार २०८० ०१:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App