१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

मुग्लिन–नारायणगढ पहिरोः गन्तव्यमा कतिखेर पुगिन्छ भन्न सकिन्न

पृथ्वी राजमार्ग अन्तगर्त मुग्लिनमा सवारी जाम भएपछि रोकिएका यात्रु। तस्बिर/नागरिक

तनहुँको दमौलीबाट बस चढेका मिलन हड्खलेलाई काठमाडौं पुग्न झन्डै १८ घण्टा लाग्यो। बिहान ६ बजे दमौलीबाट बस चढेका हड्खले काठमाडौंको बालाजुस्थित बसपार्कमा ओर्लिदा मध्यरात १२ बजिसकेको थियो।

दमौलीबाट काठमाडौंसम्मको १५० किलोमिटर दूरी अरुबेला पाँच घण्टामै पुरा हुन्थ्यो, तर, हड्खलेलाई त्यही दूरी पार गर्न यो पटक १८ घण्टा लाग्यो।

यो बेला मुग्लिन–नारायणगढ बाटो अस्तव्यस्त छ। बेलाबेला खसिरहने पहिरोका कारण मुग्लिन–नारायणगढ खण्डमा कुनबेला कहाँ रोकिनुपर्ने भन्ने यकिन हुँदैन। कुनै पनि बेला राजमार्ग बन्द हुने अवस्था छ। 

राजमार्ग खुल्ने र बन्द हुने भइरहँदा सवारी लामो समय राजमार्गमा रोकिने गरेका छन्। मुग्लिन–नारायणगढ सडक अवरुद्ध हुँदा चितवन हुँदै आउजाउ गर्ने यात्रुले त मार खेपेकै छन्, राजमार्गको त्यो अप्ठेरोको मारमा पृथ्वी राजमार्ग हुँदै आउजाउ गर्ने यात्रु पनि पर्ने गरेका छन्। 

गण्डकी र धवलागिरीका विभिन्न जिल्लाका यात्रु पृथ्वी राजमार्ग हुँदै आउजाउ गर्दा मुग्लिनमा भेट हुन्छ। त्यसपछि यात्रुहरु चितवन र काठमाडौंतिर बाँडिने गर्नछ। अहिले पृथ्वी राजमार्गको पोखरा–आँबुखैरेनी खण्ड बिस्तारको क्रममा रहेर धुलो र हिलोको सास्ती भएपनि पहिरोको समस्या उत्तिसारो दोहोरिएको छैन। तर, मुग्लिन–नारायणगढका कारण निम्तिएको सास्ती भने पृथ्वी राजमार्ग भएर आउजाउ गर्ने यात्रुले पनि भोग्ने गरेका छन्। दमौलीका हड्खले त्यही अप्ठेरोमा परेका मध्ये एक जना यात्रु हुन्।

हड्खलेका अनुसार उनी यात्रा गरेको दिन दमौलीदेखि मुग्लिनसम्म सडकमा कतैपनि अवरोध थिएन। बिस्तार भइरहेको राजमार्गमा फाट्टफुट्ट हिलो बाहेक पहिरोको अवरोध कतै थिएन, तर, मुग्लिन पुगेपछि भने नारायणगढतर्फको पहिरोको मारमा उनी परेका थिए। ‘

दमौलीबाट बस चढेपछि मुग्लिनसम्म खासै अवरोध कतै थिएन। जब मुग्लिन पुगियो, त्यसपछि बल्ल सास्ती सुरु भयो,’ उनले भने, ‘मुग्लिन–नारायणगढ सडक अवरुद्ध हुँदा मुग्लिन क्षेत्रमा रोकिएका सवारीका कारण सास्ती भयो।’ 

मुग्लिनदेखि काठमाडौंतर्फ सवारीको लामो र अस्तव्यस्त लाम लाग्दा पोखरातर्फबाट गएका सवारी पनि जाममा फसेको उनले बताए।

‘पोखराबाट जाने सवारी मुग्लिन पुगेपछि अगाडि बढ्नै पाएनन्। यतिसम्मकी घन्टौसम्म मुग्लिनमै रोकिनुपर्‍यो। नारायणगढतर्फ जान नपाएका सवारी यत्रतत्र सडकमा रोकिँदा पोखरातिर आउजाउ गर्ने सवारी पनि फँसेका थिए,’ उनले भने, ‘ट्राफिक व्यवस्थापन सहज नहुँदा यात्रुले अनाहकमा सडकमा रोकिनुपर्‍यो। सडकमा जथाभाबी रोकिएका सवारीले अरुलाई मार परेको थियो। साना सवारीको जथाभाबी ओभरटेक र ती सवारीलाई व्यवस्थापन गर्न नसक्दा सबैलाई सास्ती थियो।’

मुग्लिन–नारायणगढ राजमार्गको सास्तीको मार अझै पनि कम भएको छैन। बस व्यवसायीले पनि मुग्लिन–नारायणगढ जामका कारण पृथ्वी राजमार्गका यात्रु र सवारीलाई सकस परेको बताउँछन्। 

‘काठमाडौंबाट पोखरा आउने सवारी त सरासर आउन पाउनुपर्ने हो, तर, मुग्लिन–नारायणगढ पहिरोले रोकिएका सवारीको मारमा पोखरातिरका पनि पर्ने गरेका छन्,’ पोखरा–काठमाडौं रुटमा रात्रि बस संचालन गरिरहेको ग्रेहाउन्ड बस कम्पनिका संचालक कृष्णहरि अधिकारी भन्छन्, ‘बस सेवा दिन पनि यो बेला निकै नै सकसपूर्ण बनेको छ।’ पहिरोबिनाको जाममा पर्दा पोखरा क्षेत्रका यात्रु र सवारीलाई सकस भएको उनले बताए।

‘बाटोका कारण तोकिएको समयमा गन्तव्यमा यात्रु पुर्‍याउन सकस भएको छ। यहीबेला पोखरा– मुग्लिन राजमार्ग बिस्तार भइरहँदा यात्रा ढिलो हुने गरेको छ। त्यसैमा मुग्लिन तरेपछि नारायणगढतिरको अस्तव्यस्तको मार पनि थपिन्छ। तोकिएको समयमा गन्तव्यमा पुग्नै सकिन्न,’ उनले भने, ‘पहिरो एकातिर छ, सास्ती अर्कोतिर थपिएको छ।’

पोखरा–काठमाडौं रुटमा पर्यटक बस सेवा संचालन गरिरहेको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकी अध्यक्ष हरिराम अधिकारीका अनुसार मुग्लिन–नारायणगढको पहिरोको मारमा परेर अहिले पृथ्वी राजमार्ग भएर विभिन्न जिल्लामा आउने बसलाई कम्तीमा पनि थप चार घण्टा बढी समय लाग्ने गरेको छ। 

बिहान सात बजे राजधानीबाट हिँडेका बस पोखरा आउँदा दिउँसो ३ बज्ने गरेकोमा अहिले ढिला हुँदै जाँदा बेलुकी सात बज्ने गरेको उनले बताए।

‘यतिसम्म सकस पर्‍यो की दिउँसो ३ बजे पोखरा आउनुपर्ने  बस भोलिपल्ट बिहान २ बजेमात्र आएको थियो। यसले यात्रु र व्यवसायी सबैलाई सकस छ,’ उनले भने, ‘मुग्लिन–नारायणगढको सकस पृथ्वी राजमार्गका यात्रुलाई पनि छ।’ उनका अनुसार पोखराबाट बिहान बस चढ्ने बेला यात्रुले कति बजे काठमाडौं पुगिन्छ भनेर सोध्छन्, तर व्यवसायीले पुग्न चाहिँ पुगिन्छ, तर, कति बजे भन्ने भन्ने निश्चित हुँदैन भनेर जवाफ दिने गरेका छन्। ‘अहिले बसमा यात्रा बाध्यकारी अवस्थामा मात्र छ। बाटो सहज छैन भन्ने थाहा छ, यात्रुलाई उत्तिकै सास्ती छ,’ उनले भने। 

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङ लेन मिचेर सवारी चलाउँदा राजमार्गमा सवारी व्यवस्थापन चुनौतीपूर्ण हुने बताउँछन्। ‘पहिरो झरेको सुरुका दिनमा केही अप्ठेरो परेको हो। गत शनिबार व्यवस्थापमा निकै नै गाह्रो भएको हो,’ तामाङले भने, ‘एक लेनमा पुरै पार्किङ भयो, अर्को लेनमा पनि दोहोरो सवारी चलाउनु पर्दा अप्ठेरो परेको हो, अहिले भने केही सहज छ।’ त्यसबाहेक साना सवारी र सबैलाई हतार हुँदा पनि राजमार्गमा व्यवस्थापन गर्न कठिन हुने उनले बताए।

‘सबै यात्रुलाई मुग्लिन बजारमै आउन हतार हुने गरेको छ। पाएसम्म पहिरोकै मुखमा जाउँ भन्ने पनि हुन्छन्, जसले गर्दा बीचबीचमा गाडी छिराउँदा व्यवस्थापनमा कठिन हुन्छ,’ उनले भने। उनका अनुसार साना सवारीका यात्रुले यतिसम्म अप्ठेरो पारेका थिए की पोखरा जाने निहुँमा मुग्लिनसम्म आउने र गाडी तेर्साएर बस्ने गरेका थिए।

‘सबै जनाले लेन अनुशासन पालना गर्ने हो भने समस्या हुँदैन। सबैलाई हतार हुँदा व्यवस्थापन चुस्त हुन सक्दैन,’ उनले भने, ‘पहिरो खुल्नासाथ जान पाइन्छ भनेर पहिरो नजिकै जाउँ भन्ने हुन्छन्।’ मुग्लिन चौकीले पृथ्वी राजमार्ग व्यवस्थापन गर्ने क्रममा अहिले १५ जना जति ट्राफिक प्रहरी र बाँकी नेपाल प्रहरी यो खण्डमा परिचालन गरेको उनले बताए। मुग्लिन–नारायणगढ खण्डमा पनि १५ जना जति ट्राफिक प्रहरी खटिएको उनले बताए।  

प्रकाशित: १८ असार २०८० १२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App