मनसुन सक्रिय भएका कारण अहिले मुलुकका चार ठुला राजमार्ग अवरुद्ध भएका छन्। वर्षा हुनासाथ मेची राजमार्ग, कोसी राजमार्ग, तमोर कोरिडोर र तानसेन–रिडी–कोरला सडक अवरुद्ध हुन्छन्। बर्खामा यी सडक भएर आवतजावत गर्ने यात्रुले निकै सास्ती खेप्नुपर्छ।
वर्षाका कारण यी राजमार्ग मात्रै होइन, ग्रामीण भेगमा सानाठुला धेरै सडक अवरुद्ध भइरहेका छन्। सडक विभागका अनुसार आइतबार बेलुकासम्म नेपालका चारवटा राजमार्ग वर्षासँगै बाढीपहिरोका कारण ठप्प भएका छन्।
कोसी राजमार्गअन्तर्गतको हाइटार संखुवासभामा असार ३ गते आएको बाढीपहिरोका कारण अझैसम्म सो खण्ड अवरुद्ध छ। असार ३ गते नै आएको बाढीपहिरोले अवरुद्ध मेची राजमार्गको हेवाखोला–पाँचथर खण्ड अझै खुलेको छैन। तमोर करिडोरअन्तर्गतको माझीटार–हेवाखोला खण्डमा पनि अझै सवारीसाधन चल्न सकेका छैनन्।
मनसुन सक्रिय भएका कारण अहिले मुलुकका चार ठुला राजमार्ग अवरुद्ध भएका छन्। वर्षा हुनासाथ मेची राजमार्ग, कोसी राजमार्ग, तमोर कोरिडोर र तानसेन–रिडी–कोरला सडक अवरुद्ध हुन्छन्। बर्खामा यी सडक भएर आवतजावत गर्ने यात्रुले निकै सास्ती खेप्नुपर्छ।
तानसेन रिडी–कोरला सडकको तातोपानी, नैनीबगर म्याग्दी खण्ड पनि अवरुद्ध छ। संघीय राजधानी काठमाडौं भित्रिने सबैभन्दा ठुलो स्थलमार्गको नारायणगढ–मुग्लिङ खण्ड दिनँहुजसो पहिरो खसेर अवरुद्ध भइरहेको छ।
सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले मनसुन सुरु भएसँगै आएको बाढीपहिरोले मेची राजमार्ग र नारायणगढ–मुग्लिङ सडक खण्ड धेरै प्रभावित भएको बताए। ‘मेची राजमार्गमा असार ३ गते आएको अस्वाभाविक बाढीपहिरोले ठूलो क्षति पुर्याएको छ,’ उनले भने, ‘बाढीपहिरोका कारण सडकमा धेरै क्षति पुगेको छ।’
महानिर्देशक ढकालले नारायणगढ–मुग्लिङ सडक खण्ड पनि पहिरोका कारण छिनछिनमा अवरुद्ध भएको बताए। ‘नारायणगढ–मुग्लिङ सडक खण्डमा कल्पना नै नगरेका ठाउँमा समेत पहिरो गएको छ,’ उनले भने, ‘भूकम्पपछि सडकको माथिल्लो भेगको चट्टान कमजोर भएकाले पनि बारम्बार पहिरो गएको हुन सक्छ।’
तानसेन रिडी–कोरला सडकको तातोपानी, नैनीबगर म्याग्दी खण्ड पनि अवरुद्ध छ। संघीय राजधानी काठमाडौं भित्रिने सबैभन्दा ठुलो स्थलमार्गको नारायणगढ–मुग्लिङ खण्ड दिनँहुजसो पहिरो खसेर अवरुद्ध भइरहेको छ।
महानिर्देशक ढकालले नारायणगढ–मुग्लिङ सडक खण्डको माथिल्लो स्लोपमा नेटवर्किङ तथा रोकथामका उपाय अवलम्बन गर्न निकै खर्चिलो र कठिन भएकाले पनि समस्या भइरहेको बताए।
‘सडक निर्माण गर्नुभन्दा स्लोप रोकथामको काम गर्न धेरै खर्चिलो हुने गरेको छ,’ उनले भने, ‘सरकारले केही स्थानमा पहिरो नियन्त्रणका लागि प्रयास गरिरहेको छ। सरकारले नारायणगढ–मुग्लिङ सडक खण्ड स्तरोन्नति अघि बढाइरहे पनि पहिरो नियन्त्रणमा भने प्रभावकारी काम हुन सकिरहेको छैन। जसका कारणले पहिरो खसेर सडक अवरुद्ध हुने क्रम जारी छ।’
नेपाल जिओ टेक्निकल सोसाइटीका अध्यक्ष डा. मन्दिप सुवेदीका अनुसार पहाडी भूभागमा सडक निर्माण गर्दा डिजाइनमा जति खर्च गरिन्छ, सोही अनुरूपको खर्च स्लोप डिजाइनमा पनि गर्नुपर्छ। तर त्यस्तो नभएकाले सडकमा बारम्बार पहिरो झर्ने समस्या देखिँदै आइरहेको उनले बताए।
महानिर्देशक ढकालले नारायणगढ–मुग्लिङ सडक खण्डको माथिल्लो स्लोपमा नेटवर्किङ तथा रोकथामका उपाय अवलम्बन गर्न निकै खर्चिलो र कठिन भएकाले पनि समस्या भइरहेको बताए।
‘नेपालका अधिकांश सडक डिजाइन गर्दा माथिल्लो भेगको स्लोपको विषयमा खासै ध्यान दिएको पाइँदैन। केबल ड्रेनेजको मात्रै डिजाइन गरिएको हुन्छ। जसका कारणले सडक निर्माण भएपछि बारम्बार पहिरोको जोखिम बेहोर्नु परिरहेको छ,’ उनले भने, ‘सडकलाई मात्रै ध्यान दिएर डिजाइन गर्दा पनि पहिरोको समस्या आएको हो।’
२०७२ सालको भूकम्पले सडकभन्दा माथिल्लो भेगका संरचनालाई निकै कमजोर पारेकाले पनि पहिरोको जोखिम बढिरहेको छ। ‘२०७२ सालको भूकम्पले धेरै ठाउँमा चिरा पारेको थियो। जमिनमा चिरा परेर छिद्र भएको ठाउँमा बर्खाको पानी पसेसँगै कमजोर भूभाग खस्छ,’ उनले भने, ‘हाम्रो जस्तो भूगोल भएको ठाउँमा त बाटोभन्दा धेरै खर्च बाटोको स्लोप निर्माणमा गर्नुपर्छ। तर अहिलेसम्म स्लोप निर्माणमा खासै ध्यान नदिएकाले बारम्बार पहिरो जाने र सडक अवरुद्ध हुने समस्या देखिएको हो।’
नारायणगढ–मुग्लिङ सडक खण्ड डाँडा काटेर चौडा गरिएकाले पनि पहिरोको समस्या बल्झिएको हो। सडक इन्जिनियरले बाटोको मात्रै डिपिआर गर्ने हो कि स्लोपको पनि गर्ने भन्ने विषयमा व्यापक बहस तथा छलफल हुनु जरुरी भइसकेको उनले बताए।
नारायणगढ–मुग्लिङ सडक जोखिमयुक्त भूगोलमा छ। डा. सुवेदीले सरकार यस्ता खालका समस्या न्यूनीकरण गर्न रोडकर्प गाइडलाइन्स, जिओ टेक्निकल इन्भेस्टिगेसन, स्लोप कटिङ गाइडलाइन्स लगायत बनाएर अघि बढ्नुपर्ने बताए।
खानी तथा भूगर्भ विभागका सुपरिटेन्डेन्ट तथा प्रवक्ता मोनिका झाले नेपालमा अधिकांश पहिरो मनसुनको समयमा जाने भए पनि अहिले जलवायु परिवर्तन लगायतका कारण जुनसुकै बेला पनि पहिरो जाने गरेको बताइन्।
अहिले मनसुनको प्याटर्न फेरिएकाले पनि बेलाकुबेला पहिरो जाने गरेको छ,’ उनले भनिन्, ‘नारायणगढ–मुग्लिङ सडक खण्डमा के कारणले पहिरो गइरहेको छ भनेर गहन ढंगले अध्ययन गर्नुपर्ने हुन्छ।
अध्ययनको निष्कर्षका आधारमा रोकथामको काम गर्नुपर्छ’, उनले भनिन्, ‘बायो इन्जिनियरिङ गरेर पनि पहिरोको समस्या समाधान गर्न सकिन्छ। पहिरोको उच्च जोखिम भएका स्थानमा रुखविरुवा रोपेर जोखिम घटाउन सकिन्छ।’ उनले सरकारले बेलैमा स्लोप व्यवस्थापनमा ध्यान नदिए पहिरोको समस्या बारम्बार आइरहने बताइन्। ‘भौगर्भिक रूपमा नारायणगढ–मुग्लिङ सडक खण्डको संरचना निकै कमजोर छ। जसले गर्दा पनि बारम्बार पहिरो खस्ने गरेको छ,’ उनले भनिन् ‘अब सडक चौडा गर्दा पर्याप्त मात्रामा स्लोपको व्यवस्थापन गर्नुपर्छ।’
प्रकाशित: १८ असार २०८० ००:५७ सोमबार