३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

रौतहटमा आमाछोरीको मृत्युबारे प्रहरीको अनुसन्धान जारी

रौतहटको मौलापुरमा गत शुक्रबार आमा छोरीको रहस्यमय मृत्युका सम्बन्धमा रौतहट प्रहरीले अनुसन्धान गरिरहेको छ। मौलापुर नगरपालिका-४ पतौरा गाउँकी २४ वर्षीया कविता देवी र उनकी दुई वर्षीया छोरी आरुही शुक्रबार राति घरमै मृतावस्थामा फेला परेका थिए।

आरुहीको शव पंखामा झुिन्डएको तथा कविताको शव घरबाट बाहिरिने सिंढीमुनि फेला परेको प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक उमाशंकरप्रसाद यादवले बताए। उनका अनुसार मृतक कविताका पति धिरेन्द्र साह र ससुरा नागेन्द्र साह घटनापछि फरार छन्। कविताकी सासू र जेठानीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।

कविताको माइती पक्षले दाइजोको निहुँमा उनको हत्या गरिएको आरोप लगाएको छ। उनको माइतीघर माधवनारायण नगरपालिका-५ मिठुअवा गाउँ हो। कविताका बुबा विजयशंकर साहले घटना थाहा पाउनसाथ आफू छोरीको घर गएको तर आफूले छोरी र नातिनीको शव हेर्नसमेत धेरै बेरपछि पाएको बताए। उनका अनुसार छोरी र ज्वाइँ बिच पटकपटक विवाद हुने गरेको थियो।

‘बेलाबेलामा कविताले ज्वाइँ धिरेन्द्र साहले नगद, पलङ, सुनको औंठी र सिक्री माग्ने गरेको बताएकी थिइन्। दाइजो नल्याएका कारण छोरी र नातिनीको हत्या गरिएको हो’, साहको आरोप छ।

हालसम्म घटनाको मुचुल्का तयार गर्ने काम भइरहेको र माइती पक्षले कुनै जाहेरी नदिएको रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर बुढाले बताए।  

प्रकाशित: १६ असार २०८० ०७:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App