३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बालविवाह रोक्न ३८ धामीझाँक्री र पुरोहितले गरे प्रतिबद्धता पत्रमा हस्ताक्षर

बालविवाह रोक्न धामीझाँक्री तथा पुरोहित सम्मेलन। तस्बिरः गोल्डेन बुढा/जुम्ला ।

जुम्लामा कुनै बेला बाल विवाह गराउन अग्रसर हुने धामीझाँक्री हिजोआज बाल विवाह नगराउन लागि परेका देखिन्छन्। बालविवाह गराउने अग्रणी भूमिका खेल्ने धामीझाँक्री तथा पुरोहित बालविवाह नगराउने निर्णयमा पुगेका छन्।  

जुम्लाको हिमा गाउँपालिकाले बालविवाह रोक्न धामीझाँक्री तथा पुरोहित अभियान गरेको छ। उमेर नपुगेर गरिने विवाहमा आयोजना हुने भोजभतेर बहिस्कार गर्ने, बाल विवाह भए–देखेको थाहा पाए कानुनी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता सहित बालविवाह विरुद्धका गतिविधिमा धामीझाँक्री र पुरोहित जुट्ने निर्णय भएको हो।  

अहिले गाउँमा उमेर नपुगेर गरिने विवाह रोक्न धामीझाँक्री र पण्डितहरू एकजुट भएका छन्।धामीझाँक्री तथा पण्डितकहाँ विवाहको लगन, साइत र दिन हेराउन आउने केटाकेटीको उमेर सोधिन्छ। उमेर पुगेको छैन भने तत्काल अभिभावकलाई आआफ्नो घर फर्काउन सुझाव दिइन्छ। त्यसैगरी धामीझाँक्री र पण्डितहरूले अभियान मार्फत बालविवाह गरेको भोजभतेरमा नजाने प्रतिबद्धता समेत जनाएका छन्।  

बालविवाह भएमा हुने दण्ड सजायबारे जानकारी दिइसकेको छ।बालविवाह सामाजिक कुरीतिका रूपमा मौलाइरहेको छ। यसको अन्त्यका लागि धामीझाँक्री नै अग्रसर हुनुपर्ने भएकाले विभिन्न विकल्पको खोजी भइरहेको भइरहेको छ।

विवाह गर्दा अब वडाको सिफारिस, जन्मदर्ता अनिवार्य हेर्ने गरिएको छ। उक्त गाउँपालिका भित्रका ३८ जना धामी,झाँक्री र पुरोहितले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरे।हिमा - ६ का धामी चक्रबहादुर शाहीले २० वर्ष नपुगेका र वडाको सिफारिस नभएकालाई लगन नदिने बताए। त्यस्तै हिमा - ७ का पुरोहित मणिप्रसाद अधिकारीले समाजको कुसंस्कार सबैको सहकार्य र समन्वयमा निरुत्साहित हुने  बताए। आजको मिति बाट बालविवाह न्युनिकरणमा सहयोग गर्ने उनीहरु बताउँछन्।

बालविवाह सामाजिक अपराध मात्र होइन, यो हाम्रो गाउँ–समाजको ठूलो विकृति पनि हो,धामीझाँक्री अभियानमा हिमा गाउँपालिका अध्यक्ष लक्षमण बहादुर शाहीले भने, 'त्यसैले अभिभावक, बालबालिका, धामीझाँक्री र जनप्रतिनिधि सबैको समन्वयबाट बालविवाह रोक्न गाउँपालिकामा कार्यक्रम गरेका हौं। ' 

गाउँमा अब उमेर पुगी गरेको विवाहमा मात्र आफूहरू जाने व्यवस्था गरेको गाउँपालिका अध्यक्ष शाहीले बताए।उनका अनुसार गाउँपालिकाले २०८० को वर्षलाई बालविवाह मक्त अभियान वर्ष घोषणा गरेको छ।यो अभियान ७ वटै वडामा संचालन हुनेछ। एक वर्षभित्र पालिकालाई बालबिवाहमुक्त बनाउने योजना छ।बालबिवाह न्युनिकरणमा पछि हट्ने जोसुकै लाई राज्यको सेवा सुविधा रोक लगाउने बताए। गाउँपालिका उपाध्यक्ष सुर्पुना शाहीले बाल विवाह, छाउपडी, घरेलु हिंसाजस्ता सामाजिक विकृतिमुक्त गाउँपालिका बनाउने अभियानमा धाँमीझाँक्री र पण्डितहरूको साथ र सहयोगले उत्साह थपिएको बताइन्। 'हामी हिंसा र विभेदमुक्त समाज बनाउने अभियानमा छौं। यो अभियानलाई सफल बनाउन सबैको सहयोगको अपेक्षा गरेका छौं,' उनले भनिन्। जुम्लामा अहिलेसम्म बालबिवाह गर्नेको यथार्थ तथ्यांक छैन । जिल्ला जनस्वास्थ्य कार्यालयको २ आर्थिक वर्ष अगाडिको तथ्यांक अनुसार जुम्लाका ८ सय ६० किशोरी २० वर्ष नपुग्दै आमा बनेका थिए ।

प्रकाशित: १६ असार २०८० ०२:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App