१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

साहाराविहिन बालबालिका पढाउँदै स्थानीय सरकार

नगरपालिकाले अभिभावकत्व ग्रहण गरेका बालबालिकाहरू।

सुर्खेतको गुर्भाकोट नगरपालिकाले नगर क्षेत्रभित्रका सहारा विहीन बालबालिकाको अभिभावकत्व ग्रहण गरेको छ। नगरपालिकाले नगर क्षेत्रभित्रका अभिभावक नभएका, पूर्ण अपाङ्गता भएका अभिभावकका बालबालिकाहरूलाई आवासीय सुविधासहित खाना, नाना, छानासहित शिक्षाको व्यवस्था गरेको हो।

नगर प्रमुख हस्त पुनले सहारा विहीन २० जना बालबालिकाहरूलाई आवासीय सुविधासहित पठन–पाठनको व्यवस्था मिलाइएको बताए। ‘चालू शैक्षिक सत्रदेखि अभिभावक नभएका र पूर्ण अपाङ्गता भएका अभिभावकका बालबालिकाहरूलाई नगरपालिकाले अभिभावकत्व ग्रहण गरेको हो,’ उनले भने, ‘२० जना बालबालिकालाई आवासीय सुविधासहित पठन–पाठनको व्यवस्था मिलाएका छौँ।’

मेयर पुनले सहारा विहीन बालबालिका सम्बन्धी कार्यविधि बनाएर त्यस्ता बालबालिकालाई आवासीय सुविधासहित पठन–पाठनको व्यवस्था मिलाइएको बताए। ‘अभिभावक नभएका बालबालिकाका लागि स्थानीय सरकार छ भन्ने सन्देश दिनुका साथै त्यस्ता बालबालिका शिक्षाको उज्यालोबाट वञ्चित नहुन भन्ने उद्देश्य हाम्रो हो,’ उनले भने, ‘हाम्रो नगरपालिकामा कोही पनि बालबालिका अनाथ भएकै कारण पढ्नबाट वञ्चित नहुन भनेर कार्यविधि बनाएर नगर भरिका त्यस्ता बालबालिकाहरूलाई एकै ठाउँमा राखेर पढाउन थालेका हौँ।’

नगरपालिकाले कार्यविधिका आधारमा १४ वटै वडाबाट तथ्याङ्क संकलन गरेको थियो। उक्त तथ्याङ्कको आधारमा चालू शैक्षिक सत्रमा अभिभावक विहीन र पूर्ण अपाङ्गता भएका बालबालिकाहरू २० जना फेला परेको उनले बताए। ‘हामीले संरक्षण नगर्दा ती बालबालिकाहरू शिक्षाको उज्यालोबाट पनि वञ्चित हुने अवस्था देखियो,’ उनले भने, ‘शिक्षाको उज्यालो दिन, कुलतबाट मुक्त राख्न र सभ्य नागरिक बनाउनका लागि नगरपालिका आफैले खाना, नाना, छानासहित शिक्षाको प्रबन्ध मिलाएको हो।’

मेयर पुनले कक्षा १२ सम्म नगरपालिकाले ती बालबालिकाहरूलाई निःशुल्क शिक्षा दिनेछ। त्यसमाथि बालबालिकाको रुचि अनुसारको शिक्षा आर्जनका लागि नगरपालिकाले सहयोग गर्नेछ। शैक्षिक सत्र सुरु हुनुअघि हरेक वर्ष यस्ता बालबालिकाको खोजी गरिने उनले बताए।

नगरपालिकाले नेपाल राष्ट्रिय मावि बडाखोली विद्यालयमा त्यस्ता बालबालिकाहरूलाई पढाउने व्यवस्था मिलाएको छ। बडाखोली विद्यालयलेनै सञ्चालन गर्ने गरी आवास गृह निर्माण गरिएको छ। आवास गृहमा अहिले १३ छात्रा र सात छात्रलाई राखिएको छ। 

गुर्भाकोट नगरपालिकाका महिला विकास निरीक्षक विमला विकका अनुसार आवासीय सुविधासहित अध्ययन गरिरहेका बालबालिकाको उमेर आठदेखि १५ वर्षको छ। ‘सुरुमा हामीले सबै वडाबाट तथ्याङ्क संकलन ग¥यौ,’ उनले भनिन्, ‘अभिभावक नभएका, अभिभावक भएर पनि संरक्षण पाउन नसकेका बालबालिकाहरूलाई ल्याएर पढाउन सुरु गरेका हौँ।’ 

गुर्भाकोटमा १४ वटा वडा छन्। अधिकांश वडाका बालबालिकाहरू नगरपालिकाको आवासमा बस्छन्। उनीहरूका लागि खाना, नाना, छाना, शिक्षा, स्वास्थ्यलगायतका सबै आवश्यक सुविधा नगरपालिका आफैले उपलब्ध गराउनेछ। नगरपालिकाले बुवा–आमा दुवै नभएका, बुवाको मृत्यु भएको, आमाले अर्को विवाह गरेर गएको, आमाको मृत्यु भएको, बुवा जेलमा रहेको, बुवा नभएको, आमाको स्वास्थ्य अवस्था अत्यन्तै कमजोर रहेको तथा पूर्ण अपाङ्गता भएका अभिभावकका बालबालिकालाई सहारा विहीन बालबालिकाको सूचिमा राखेको छ।

नगरपालिकाले अभिभावकत्व ग्रहण गरेका मध्ये दुई जना बालबालिकाका अभिभावक छैनन् भने दुई जना बालबालिकाका अभिभावक पूर्ण अपाङ्गता भएका छन्। ‘बाँकी बालबालिकाहरूका बुवाको मृत्यु भएको, कोही कारागारमा रहेका, आमाले अर्को विवाह गरेर गएका, आमाको मृत्यु भएको र बुवा जेलमा रहेकाहरू छन्,’ उनले भनिन्, ‘बुवा नभएको र आमाले अर्को विवाह गरेर गएपछि तेस्रो व्यक्तिको संरक्षणमा रहेका बालबालिकाहरू धेरै छन्।’

प्रकाशित: १५ असार २०८० १२:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App