८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

जवरजस्ती करणी पर्नेमा ७० प्रतिशत बालिका

चितवनमा बालिका जवरजस्ती करणी तथा बाल यौन दुव्र्यवहारका घटना बढ्दै गएका छन्।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवनले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो छ महिनाको अवधिमा जवरजस्ती करणी पर्नेमध्ये ७० प्रतिशत बालिका रहेका छन्। यो अवधिमा जिल्लामा २० वटा जवरजस्ती करणीका घटना भएका छन्। त्यसमध्ये १४ जना बालिका रहेको इन्सेक चितवनका संयोजक दिपेन्द्र अधिकारी जानकारी दिए। छ जना महिला जवरजस्ती करणीमा परेका थिए।

जिल्लामा बाल यौन दुव्र्यवहारका घटना पनि उस्तै छन्। जिल्लामा यस्ता घटना १२ वटा भएको अधिकारीले जानकारी दिए।

चितवन जिल्लामा छ महिनाको अवधिमा मानव अधिकार उल्ङ्घनका घटना ५० वटा भएका छन्। करणी प्रयास दुई, बहुविवाह चार, आत्महत्या दुरुत्सानका पाँच, हत्या तीन, मानव बेचबेखिन तीन र बोक्सीको अरोप लागेको घटा एक वटा रहेको इन्सेकको प्रतिवेदनमा छ। हत्या हुनेमा दुई जना पुरुष र आत्महत्य दुरुत्साहनमा एक जना पुरुष रहेका छन्।

अघिल्लो वर्षको यहि अवधिमा ६६ वटा मुद्दा दर्ता भएका थिए। त्यसमध्ये जवरजस्ती करणी र बाल यौन दुव्र्यवहारका घटना नै बढि भएको जिल्ला न्यायधिवक्ता योग नाथ ढकाल बताउँछन्। ‘चेतनाको वृद्धिका कारण लुकाउन हुँदैन भनेर होला। जिल्लामा दुई सय ५८ वटा मुद्दा जवरजस्ती करणीका भएका छन्,’ उनले भने, ‘त्यसमध्ये ४२ प्रतिशत १८ बर्ष मुनिका बालिका छन्।’ विद्यालयमा शिक्षकबाट बालिका बढी प्रभावित भएको उनले बताए । अनाथ बालबालिकालाई विश्वासमा लिएर यौन दुव्र्यवहार हुने गरेको उनको भनाइ छ। बालबालिका संरक्षण ऐन २०७५ले १० वर्ष मुनिका बालबालिकालाई यौन दुव्र्यवहार गरेको व्यक्तिलाई जन्म कैदको व्यवस्था गरेको छ। बाल यौन दुव्र्यवहार गर्ने व्यक्तिलाई ७० हजार जरिवाना र तीन वर्षसम्म कैदको व्यवस्था छ।

पुरुष हिंसाका घटना समाजमा बढ्दै गएपनि बाहिर आउन नसकेको उनले बताए। ‘महिला हिंसाभन्दा पुरुष हिंसा खतरा छ,’ उनले भने ‘सामाजिक तथा राजनीतिक कारण पनि पुरुषले हिंसा लुकाएर नै राखेका छन्।’ मुद्दा दर्ता नभएपनि एक द्धार संकट व्यवस्थापन केन्द्र(ओसिएमसी)मा उपचार गर्न आउने गरेको उनले बताए। ‘ओसिएमसिमा एक साता अघि दुई जना पुरुष हिँसामा परेर उपचार गराउन आउनुभएको थियो,’ उनले भने, ‘सामजिक परिवेशका कारण अपराध सहेर बस्न बाध्य छन्।’ नेपालको कानुनले महिला बलियो बनाउँदा पुरुषहरु पनि हिंसामा पर्दै गएको उनको बुझाई छ। मुद्दालाई होस्टाईल गर्ने क्रमपनि बढ्दो रहेको उनले बताए। ‘प्रहरी र हामीसंग पिडितले एक थोक भन्नुहुन्छ। अदालतमा पुगेर पिडितले नै बयान फेर्नुहुन्छ,’ उनले भने, ‘पीडक लाई नै बचाउने प्रचलन बढी छ।’  

प्रकाशित: १४ असार २०८० १२:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App