लागु औषध विक्रीवितरण र सेवन गर्ने, समाजमा अशान्ति फैलाउने, टोले गुण्डाको रुपमा सर्वसाधारणलाई धम्की दिँदै हिड्ने र गुण्डागर्दी गर्ने व्यक्ति नियन्त्रण गर्नका लागि कास्की प्रहरीले झन्डै १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ। स्वीप अरपेसन चलाएर १ सय २२ जनालाई कास्कीका विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको कास्की प्रहरीले बताएको छ।
कास्की प्रहरीका अनुसार बुधबार बेलुकी नौ बजेदेखि विहीबार बिहान ६ बजेसम्म कास्की सहरी देखि ग्रामीण क्षेत्रमा समेत स्वीप अपरेसन संचालन गरेको थियो। त्यसका लागि जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका कार्यालयबाट एकसय जना प्रहरीको टोली भिन्दाभिन्दै ठाउँमा परिचालन गरिएको थियो।
समाजमा अशान्ति फैलाउने, टोले गुण्डाका रुपमा धम्की दिने, गुण्डागर्दी गर्ने, लागूऔषध बिक्री वितरण तथा सेवन गर्ने, मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने र रातिको समयमा शंकास्पद रुपमा हिँडडुल गर्नेहरुलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सुचना अधिकारी तथा प्रहरी निरिक्षक गणेश पाण्डेले समाजमा डरत्रास देखाएर अशान्ती फैलाएको आरोपमा १० घण्टाको अवधिमा १ सय २२ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए। प्रहरीले पोखरा महानगरपालिकाका विभिन्न वडा र आसपासका गाउँपालिकाबाट उनीहरुलाई पक्रेको हो। स्वीप अपरेसनको लागि खटिएको प्रहरीको टोली एकैपटक परिचालन गरेर उनीहरुलाई पक्राउ गरेको उनले बताए।
प्रहरीका अनुसार पोखरा महानगरपालिका–१, २, ३, ४ र ५ अन्तर्गत पर्ने कसेरी, बागलुङ बसपार्क, भैरवटोल, महेन्द्रपुल, लभ्लिडाँडा र प्रस्याङ क्षेत्रबाट नौजना पक्राउ परेका छन्। यस्तै, वडा नम्बर ६ मा पर्ने पर्यटकीय क्षेत्र लेकसाइड, ड्यामसाइड र गैराको चौताराबाट सबैभन्दा धेरै ३५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पोखरा–८, बगाले टोल, सभागृह चोक र शिवालय चोकबाट ६ जना पक्राउ परेका छन्। वडा नम्बर ९ र १० का पृथ्वीचोक, रंगशाला, बुद्धचोक र अस्पतालचोक क्षेत्रबाट २० जना समातिएका छन्। वडा नम्बर ११, १२ र १३ का तुलसीघाट, शीतलादेवी, काँहुडाँडा र काँहुखोला क्षेत्रबाट ८ जना पक्राउ परेका छन् भने वडा नम्बर १४ र १५ का विमानस्थल, फुलबारी, खसीबजार र रामबजार क्षेत्रबाट १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी, पोखराका अन्य क्षेत्रहरु बाटुलेचौर र लामाचौरबाट २ जना, चिसापानी र मेथलाङबाट २ जना पक्राउ परेका छन्। पोखरा–२७ र २८ का दिपाङताल र रिठेपानी क्षेत्रबाट ६ जना, वडा नम्बर २९ र ३० का भण्डारढिक, सैनिक बस्ती, पटनेरी र तावामुख क्षेत्रबाट १२ जना तथा वडा नम्बर ३२ का राजाचौतारा र लामेआहाल डम्पिङ साइडबाट ३ जना पक्राउ परेका छन्। पोखरा बाहिर माछापुच्छ्रेगाउँपालिका क्षेत्रबाट ३ जना र अन्नपूर्ण गाउँपालिका–१ नौडाँडाबाट १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पाण्डेले कास्की प्रहरीको यो ‘स्वीप अपरेसन’ निरन्तर चलिरहने जानकारी दिए। ‘समाजमा अशान्ति फैलाउने, टोले गुण्डाको रुपमा धम्काउने, लागूऔषध सेवनकर्ता, मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने र सवारी साधनको स्वरुप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने जस्ता उच्छृङ्खल गतिविधि गर्ने जोसुकैलाई पनि निरन्तर पक्राउ गरी कारबाही गरिनेछ,’ पाण्डेले भनेका छन्। प्रहरीले पक्राउ परेका व्यक्तिहरुमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ। समाजलाई मर्यादित र सुरक्षित बनाउन प्रहरीले यस किसिमको सक्रियता देखाएको पनि प्रहरीको भनाई छ।
प्रकाशित: १० वैशाख २०८३ १४:२२ बिहीबार




