३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

चार करोड पेस्की लगेपछि ठेकेदार सम्पर्क विहीन

कर्णाली करिडोरको शान्तिघाटदेखि रास्कोट नगरपालिका जोड्ने सडकको स्तरोन्नति र कालोपत्रे गर्न कर्णाली प्रदेश सरकारले तीन वर्षअघि साढे ३८ करोड रूपैयाँ बजेट छुट्यायो। अघिल्लो वर्षको असारमा १२ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता पनि भयो। सम्झौताको एक वर्षमा दुईपटक सडकको शिलान्यास गर्नुबाहेक केही काम भएको छैन। ठेकेदारले चार करोड ४० लाख लिएर गुमनाम भएका छन्।शान्तिघाटदेखि बडीमालीकासम्मको उक्त सडक कालोपत्रे गर्न केएस शनीदेव जेभीले पूर्वाधार विकास कार्यालयसँग २०७८ असार ३ गते ठेक्का सम्झौता गरेको थियो।  

ठेक्का सम्झौताको पहिलो वर्ष निर्माण कम्पनीले रास्कोट नगरपालिकाका तत्कालीन उपप्रमुख मिमसरा बम र तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एउटै सडक दुईपटक शिलान्यास गरेका थिए। ‘दुई–दुई पटक सडक शिलान्यास भए पनि अहिलेसम्म काम हुन सकेको छैन,’ स्थानीय टीकाराज उपाध्ययाले भने, ‘ठेक्का सम्झौताको दुई वर्षमा केही काम भएको छैन। ’

सम्झौता झोलामा राखेर कोहलपुर बसेका ठेकेदार फर्केर नआएको स्थानीयको आरोप छ। रास्कोट नगरपालिकाका मेयर धर्कराज शाही पोषणका अनुसार आफूले सडक कालोपत्रेको लागि पटक पटक खबदारी गर्ने गरेको बताए। उनले भने ठेकेदारलाई धेरै पटक भनियो अहिले पनि काम सुरु गर्छु मात्र भनिरहेको छ।  

चार करोड ४० लाख पेश्की

पूर्वाधार विकास कार्यालय कालिकोटका इन्जिनियर लक्ष्मणप्रसाद पाण्डेले निर्माण व्यवसायीलाई पटक–पटक ताकेता गर्दा पनि प्रगति देखिने गरी काम नभएको बताए। ‘गत असारमा ठेक्का सम्झौता भएको थियो, त्यसको सात महिनापछि शिलान्यास गरियो,’उनले भने, ‘शिलान्याससँगै ठेकेदार सम्पर्कविहीन भए।’ त्यसपछि पनि दोस्रोपटक सडक शिलान्यास गरिएको आफूहरूले सुनेको बताए। इन्जिनियर पाण्डेले निर्माण कम्पनीलाई काम सुरु गर्न पटक–पटक ताकेता गरिरहेको बताए।  

कर्णाली करिडोर (खुलालु–हिल्सा सडक) अन्तर्गत शान्तिघाट देखि रास्कोट नगरपालिकाको केन्द्रसम्म जाने उक्त १२ किलोमिटर सडक फाराकिलो बनाउन र कालोपत्रे गर्न चार वर्ष समय लाग्ने पूर्वाधार विकास कार्यालयले जनाएको छ।

३८ करोड ४९ लाख ५७ हजार ७ सय ७६ रूपैयाँको ठेक्कामा निर्माण कम्पनीले घटेर २५ करोड ५५ हजार ५१२ रूपैयाँमा सम्झौता गरेको थियो । इन्जिनियर पाण्डेका अनुसार पहिलो पटक निर्माण कम्पनीले सडक चौडा गर्ने काम सम्पन्न गर्नुपर्ने थियो। ‘अहिलेसम्म शिलान्यास गरेको ठाउँमा स्काभेटरले खन्ने, ग्याविन राख्नेबाहेक ठूलो काम भएको छैन,’ उनले भने, ‘सडक फराकिलो बनाउने, ग्याविन भर्ने, पक्की नाला निर्माण गर्नेलगायतका प्रारम्भिक काम मात्र सुरु भएका छन्।

निर्माण व्यवसायी देवीदत्त भट्टले केही समयभित्रै काम धमाधम सुरु गर्ने बताए। केही प्राविधिक समस्याले निर्माण सामग्री र ठूला उपकरणहरू लिन समस्या भएकाले काम गर्न नसकेको बताए। उनले भने ‘तत्कालै निर्माण सामग्री, उपकरण र जनशक्ति पठाएर काम सुरु गर्छु।’भट्टले दुई वर्षसम्म काम सुरु हुन नसके पनि बाँकी रहेको दुई वर्षमा निर्माण सम्पन्न गर्ने बताए ।

निर्माण व्यवसायी भट्ट काम सुरु नगरी सम्झौता अनुसार २० प्रतिशत रकम लिएर गुमनाम भएका हुन्। उनले दुई वर्षको अवधिमा केही प्रतिनिधि खटाएर सडको माटो फल्ने र ग्याविन भर्ने काम मात्र गरेका छन्। निर्माण कम्पनीका सामान पनि अलपत्र अवस्थामा छाडिएको छ। अहिले सडक जीर्ण अवस्थामा छ। उनले सडक कालोपत्रे गर्न समयमै ध्यान नदिँदा स्थानीयले सास्ती खेप्नु परेको छ।

प्रकाशित: १४ असार २०८० ०१:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App