२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

चित्तोरगढ, जयमल फत्ता र भक्तपुर

इतिहास

सूचना र सञ्चारको क्षेत्रमा भएको विकासले कुनै पनि विषयको सूचना र जानकारी हिजो आज हातहातै पाउन सकिन्छ। इन्टरनेट प्रविधिको विकासले त झनै विश्वलाई साँघुरो बनाइदिएको छ।

तपाईंलाई आवश्यक जस्तोसुकै जानकारी अब आफ्नो मोबाइल फोनमै तत्काल भेट्टाउन सकिन्छ। मैले पनि आफ्ना पुर्खा राठौडहरू तत्कालीन चित्तोरगढ हालको राजस्थान, भारतबाट भक्तपुर बसाइ सरेर आएको इतिहास सुनिरहेकाले राठौड वंशका बारे थप जानकारी हासिल गर्ने उद्देश्यले इन्टरनेटमा केही उपयोगी कुराहरू भेटिएला कि भनी खोज्न थालें। खोज्दै जाँदा राजस्थानका राजपुत राठौडहरूका बारेमा थुप्रै जानकारी मिल्यो।

प्राचीन समयमा त्यस क्षेत्रमा राठौडहरूका थुप्रै ससाना राज्यहरू विभाजित र छरिएर रहेको थाहा हुन आयो। खोज्दै जाँदा मारवाड, मेवाड, चित्तोरगढ, मेडतालगायत अन्य थुप्रै साना साना राज्यहरू रहेको पनि बुझियो। हाम्रा पुर्खा पनि चित्तोरगढबाट यता आएको भन्ने थाहा थियो। त्यसैले त्यस क्षेत्र वरिपरिको इतिहासमा विशेष चासो दिएर पढ्न थालें। हेर्दै जाँदा मेवाड र चित्तोरगढको इतिहास, शासन व्यवस्था, शासकहरूका बारेमा रोचक जानकारी मिल्यो।

सूचना र सञ्चारको क्षेत्रमा भएको विकासले कुनै पनि विषयको सूचना र जानकारी हिजो आज हातहातै पाउन सकिन्छ। इन्टरनेट प्रविधिको विकासले त झनै विश्वलाई साँघुरो बनाइदिएको छ।

चित्तोरगढका वीर राजपुत राठौडहरू र त्यो समयमा उक्त किल्लामा भएको बादशाह अकबरको हमला, त्यहाँ भएको भीषण युद्ध र त्यस किल्लाका सेनापति जयमल राठौड र फत्तेसिंह सिसौडियाको बहादुरीका बारेमा पनि थप जानकारी मिल्यो। सोही क्रममा भक्तपुरको प्रसिद्ध पाँचतले मन्दिर न्यातपोलमा रहेका कुटुवहरू जयमल फत्ताको सालिक पनि तिनै चित्तोरगढका राजपुतहरूको भएको जानकारी मिल्यो। त्यसपछि कथा झनै रोचक र रोमाञ्चक बन्न थाल्यो।

चित्तोरगढका वीर राजपुत राठौडहरू र त्यो समयमा उक्त किल्लामा भएको बादशाह अकबरको हमला, त्यहाँ भएको भीषण युद्ध र त्यस किल्लाका सेनापति जयमल राठौड र फत्तेसिंह सिसौडियाको बहादुरीका बारेमा पनि थप जानकारी मिल्यो।

चित्तोरगढका वीर योद्धाहरूको सालिक मल्लकालमा निर्मित पाचतले मन्दिर न्यातपोलमा किन र कसरी बनाइयो? थप जानकारी पाउने जिज्ञासा बढ्न थाल्यो। अनि पुराना कागजातहरू खोतल्न थालें। त्यसै क्रममा पृथ्वीनारायण शाहले भक्तपुर विजय गरेको तीन वर्षपछि लेखिएको एउटा ऐतिहासिक र महत्वपूर्ण कागज फेला पर्‍यो।

श्री दुर्गा सहायः

स्वस्ति श्री श्री श्री मद्दल मर्दन साह कस्य लिषा पत्रम्।।। आगे. भादगाउँका श्याम गुंगलका छोरा. भाजुदेव. मनोरथ. चुकुढीक. धनपति. नाति जग्यनारायण. एति. बाबु छोरा. नाति कन मिलाई एकैघर गरि एस् मिति देषि अघिको झैझगरा नास्ति गरि छिनि फर्छा गरि बक्स्यौं फर्छा ३ कै झगरा नास्ति. साछि पातन्को. महंत. धंजु. भादगाउको ढुकुटि जैसि शंकर्सिं जैसि भाजुदेव. सव्र्वथ्म इति संवत् १८२९ बैशाष बदि १४ रोज शुभम्।

१८२६ साल मंसिर महिनाको पहिलो हप्ता गोरखाली राजा पृथ्वीनारायण शाहले तत्कालीन भक्तपुर राज्यमा आक्रमण गरी विजय हासिल गरेका थिए। तत्पश्चात काठमाडाैं उपत्यकाका तीनै राज्य काठमाडाैं, पाटन र भक्तपुरमा पृथ्वीनारायण शाहको राज सुरु भयो किनभने उनले काठमाडाैं र पाटन यसअघि नै कब्जा गरिसकेका थिए।

विजय अभियानलाई निरन्तरता दिन तथा राज्य विस्तारको सिलसिलामा अन्य राज्यहरू कब्जा गर्ने अभियानमा लाग्नुपरेको हुनाले पृथ्वीनारायण शाहले काठमाडाैं उपत्यकाको राज्य सञ्चालनको अभिभारा आफ्ना भाइ दलमर्दन शाहलाई सुम्पेर आफू अघि बढेको हुन सक्छ।

१८२६ साल मंसिर महिनाको पहिलो हप्ता गोरखाली राजा पृथ्वीनारायण शाहले तत्कालीन भक्तपुर राज्यमा आक्रमण गरी विजय हासिल गरेका थिए। तत्पश्चात काठमाडाैं उपत्यकाका तीनै राज्य काठमाडाैं, पाटन र भक्तपुरमा पृथ्वीनारायण शाहको राज सुरु भयो किनभने उनले काठमाडाैं र पाटन यसअघि नै कब्जा गरिसकेका थिए।

तसर्थ १८२९ साल वैशाख महिनामा लेखिएको त्यस लिखतमा दलमर्दन शाहको नाम सम्बोधन गरिएको छ। यसअघि मल्लकाल मै पनि १८२१–१८२२ सालताका दलमर्दन शाहले पाटनका राजाका हैसियतमा राज्य सञ्चालन गरेको इतिहासमा उल्लेख भएको पाइन्छ।

उल्लिखित लिखतमा भक्तपुरका श्याम ग्वंगल (माथि गुंगल लेखिएको) को पारिवारिक झगडा दलमर्दन शाहको रोहबरमा मिलाई मिलापत्र गरिएको देखिन्छ। यो लिखत मेरो आफ्नै पुख्र्यौली, संरक्षित पुराना कागजातहरूको ठेलीमा भेटिएको हुनाले उक्त समयमा मेरो पुख्र्यौली पारिवारिक झगडालाई सरकारी तवरमा कसरी मिलाइयो भन्ने अहिले अनुमान गर्न सकिन्छ।

एक हिसाबमा भन्ने हो भने तत्कालीन समयको न्याय सम्पादनको प्रक्रिया कस्तो थियो होला भन्ने पनि यसबाट अन्दाज गर्न सकिन्छ। प्राचीन समयमा ऐन, कानुनको व्यवस्था, न्यायको सुनुवाइ र सम्पादनका लागि हालका जस्तो अदालत तथा नियमन निकायहरूको व्यवस्थापन पक्कै पनि सुदृढ नभएको हुन सक्छ तर पनि जनतालाई न्याय दिने, शान्ति सुव्यवस्था कायम राख्ने कार्यमा राज्यका तर्फबाट खेल्नुपर्ने भूमिकामा कुनै कमी नरहेको पनि यसबाट बुझ्न सकिन्छ।

एक हिसाबमा भन्ने हो भने तत्कालीन समयको न्याय सम्पादनको प्रक्रिया कस्तो थियो होला भन्ने पनि यसबाट अन्दाज गर्न सकिन्छ।

प्राप्त पारिवारिक अभिलेखहरूअनुसार श्याम ग्वंगलका ५ छोरा थिए। भाजुदेव, मनोरथ, मणि, चुकुढी र धनपति। श्याम ग्वंगललगायत उनका छोरासमेत तत्कालीन मल्ल राजदरबारमा कार्यरत रहेको बुझिन्छ। तीमध्ये साहिँला छोरा मणि स्वयम् पनि तत्कालीन राजा रणजित मल्लको सेवामा भक्तपुर दरबारमा कार्यरत थिए र १९२६ सालमा भएको गोरखाली सेनाको आक्रमणमा परी उनको निधन भएको थियो (देवीचन्द्र श्रेष्ठ, भक्तपुरमा गोरखाली हमला: गरुड नारायण गोंगलको सम्झना, पृ. ६४)।

गोरखालीहरूले भक्तपुर राज्यमा आक्रमण गरी नगरराज्यको चारैतिर आगजनी, हत्याका घटनाहरू तीव्र पार्न थालेको खबर पाएका राजाले आफ्ना सात छोरामध्येका प्रिय धनजुजुुको अवस्था बुझ्नका लागि मणि ग्वंगललाई खटाएका थिए र सोही जाँचबुझ गर्न गएका उनको गोरखाली सेनाको गोली लागेर निधन भएको थियो। लिखतमा नाति भनी उल्लेख गरिएका जग्यनारायण (यज्ञनारायण) उनै मणि ग्वंगलका छोरा हुन्।

मल्लकालीन दरबारको शक्तिशाली ओहदाहरूमा बसी सेवा पुर्‍याएका ग्वंगलहरू (जसको वास्तविक थर राठौड थियो) का सन्तान पछि शाह तथा राणाकालीन दरबारमा नोकरी गर्ने गरेको कुरा हामी सानै छँदा मेरा हजुरबुबाले सुनाउनुहुन्थ्यो।

मैले आफ्नो पारिवारिक इतिहासका बारेमा पनि रोचक कुरा सुनिराखेको थिएँ, जुन यहाँ उल्लेख गर्नु सान्दर्भिक नै ठानें। सन् १५६८ मा मेरा पुर्खा हालको चित्तोरगढ जिल्ला, राजस्थान, तत्कालीन मेवाड राज्यको चित्तोरगढबाट यता भक्तपुर सरेका थिए। सुनेअनुसार त्यो वर्ष दिल्लीका बादसाह अकबरले चित्तोरगढमा भीषण आक्रमण गरी हजारौंको संख्यामा त्यहाँका राठौड वंशीय राजपुतहरूको हत्या गरी उक्त किल्ला कब्जामा लिएका थिए। त्यस समयको भीषण आक्रमणबाट बचेर गणपत सिंह राठौड भक्तपुर आइपुगेका थिए भन्ने वृत्तान्त मैले सुनेको थिएँ। (म उनै गणपत सिंह राठौडको ११ औं पुस्ताको सन्तति हुँ।)

मल्लकालीन दरबारको शक्तिशाली ओहदाहरूमा बसी सेवा पुर्‍याएका ग्वंगलहरू (जसको वास्तविक थर राठौड थियो) का सन्तान पछि शाह तथा राणाकालीन दरबारमा नोकरी गर्ने गरेको कुरा हामी सानै छँदा मेरा हजुरबुबाले सुनाउनुहुन्थ्यो।

त्यो बेला मेवाडका राजा उदय सिंहले उक्त चित्तोरगढ किल्लाको रक्षा गर्न जयमल राठौड र उनका फुपूचेला राव फत्तेसिंह सिसोडियालाई जिम्मेवारी सुम्पेका थिए। जयमल राठौड स्वयम् मेडता राज्यका पूर्व शासक थिए र मुसलमान शासकहरूको आक्रमणमा पराजय बेहोरेपछि मेडता छाडी मेवाडका राजा उदय सिंह राठौडको शरणमा पुगेका थिए।

दुई दाजुभाइ जयमल राठौड र फत्ते सिंहले सो गढको रक्षा गर्न आफ्नो प्राणको आहुति दिएको कुरा इतिहासमा उल्लेख छ। उनीहरूको वीरता र बहादुरीबाट प्रभावित बादसाह अकबरले सम्मान स्वरूप ती दुई वीरका विशाल सालिक बनाउन लगाई लालकिल्लामा राख्न लगाएका थिए।

चित्तोरगढ, मेवाडबाट आएका राजपुत राठौड भक्तपुरमा कसरी ग्वंगल भए भन्ने बारेमा पनि रोचक प्रसङ्ग रहेको छ। गणपत सिंह राठौडका नाति श्याम सिंह पनि मल्लकालीन राजदरबारमा काम गर्थे। राजा जितामित्र मल्ल धार्मिक प्रवृत्तिका शासक थिए। बिहान सबेरै उठेर धर्म कर्म पूजा पाठ गर्नु उनको नित्यकर्म हुन्थ्यो। श्याम सिंह उनै राजाको ज्यादै समीपमा रहेर दरबारमा सेवा गर्थे। उनी बिहान सखारै राजाको सेवामा हाजिर भइसकेका हुन्थे।

दुई दाजुभाइ जयमल राठौड र फत्ते सिंहले सो गढको रक्षा गर्न आफ्नो प्राणको आहुति दिएको कुरा इतिहासमा उल्लेख छ।

कुखुराको भाले बासेको पहिलो आवाज आउनु, राजा ब्युँझनु र श्याम सिंह दरबारमा राजा सामु हाजिर हुनु ठ्याक्कै एकै समय पथ्र्यो। हरेक दिन यो अवस्था दोहोरिए पछि राजाबाट एउटा राजसभामा यो श्याम त एक दिन होइन, दुई दिन होइन, सधैं ठ्याक्कै कुखुरा बास्ने समयमा हाजिर हुन्छ। त्यसैले यो मान्छे त कुखुराको भालेजस्तो छ हो भन्ने हुकुम भएपछि थर नै ग्वंगल हुन गएको हो भनिन्छ। कुखुराको भालेलाई नेवार भाषामा ग्वंग भनिन्छ। तिनै श्याम ग्वंगलको पारिवारिक झगडा दलमर्दन शाहले मिलाइदिएको थियो।

उनै श्याम ग्वंगलका पाँच भाइ छोरामध्येका काहिँलो छोरा चुकुढिक राजा भूपतिन्द्र मल्लको सामीप्यमा रहेर काम गरेको देखिन्छ। प्राचीन प्रचलित लिपि/भाषामा ‘ढ’लाई ‘र’का रूपमा पनि प्रयोग गरिएको पाइन्छ। साथै प्राचीन प्रचलित लिपि वर्णमालामा र, त पनि उस्तै अक्षर देखिने हुनाले चुकुढीलाई कतै कतै चुकुरी, चुकुती, चुकुटी पनि लेखिएको पाइन्छ।

ने. सं. ८२२ (वि.सं. १७५८–५९) मा राजा भूपतिन्द्र मल्लले पाँचतले मन्दिर बनाउन लगाउँदा पनि चुकुढी ग्वंंगलले उक्त निर्माण परियोजनामा ठुलो योगदान दिएको र महत्वपूर्ण भूमिकामा रहेको पनि देखिन्छ। पाँचतले मन्दिरको माथि चढ्ने खुड्किलामध्ये तहगत रूपमा छुट्याइएका पाँच ठुला खुड्किलामा विभिन्न मूर्ति, आकृति र सालिकहरू प्रतिस्थापन गरिएका छन्। तीमध्ये सर्वप्रथम दुई विशाल मानव आकृतिहरू जुन जयमल र फत्ता भनिने भीमकाय सैनिक अथवा योद्धाहरूको प्रतिमूर्ति राखिएका छन् र जसलाई स्थानीय बोलीचालीको भाषामा कुटुव भनेर पनि चिनिन्छन्। यी जयमल र फत्ता तिनै चित्तोरगढका राजपुत योद्धाहरू जयमल राठौड र राव फत्तेसिंह सिसौडिया हुन्।

राजा भूपतिन्द्र मल्लले आफ्नो इष्टदेवी सिद्धिलक्ष्मीको मन्दिर निर्माण गर्दा राजपुत योद्धाहरूको सालिक किन बनाउन लगाए त भन्ने प्रश्न पनि उठ्न सक्छ। यस विषयमा हालसम्म कुनै पनि ठोस प्रमाण भेटिएको त छैन तर पनि सामान्य मनोविज्ञानका आधारमा भन्ने हो भने माथि उल्लेख गरेअनुसार यस मन्दिर निर्माण कार्यमा चुकुढी ग्वंगल राजाको नजिकमा रहेर काम गरिरहेको हुनाले आफ्ना पुर्खाको वीर गाथा राजालाई सुनाई उनीहरूको सालिक प्रतिस्थापनमा प्रभावित पारेको हुन सक्ने अनुमान गर्न सकिन्छ।

राजा भूपतिन्द्र मल्लले आफ्नो इष्टदेवी सिद्धिलक्ष्मीको मन्दिर निर्माण गर्दा राजपुत योद्धाहरूको सालिक किन बनाउन लगाए त भन्ने प्रश्न पनि उठ्न सक्छ।

तिनै चुकुढी ग्वंगल राजा भूपतिन्द्र मल्ललाई गद्दीमा आसिन गराउन ठुलो भूमिका खेल्ने चार मुख्य भारदारमध्ये एक भएको कुरा ओम धौभडेलद्वारा लिखित ‘भक्तपुर दरबारका मल्लकालीन भारदारहरू’ पुस्तकमा पनि उल्लेख भएको सन्दर्भमा उनी राजाका विश्वास पात्र पनि भएको कुरालाई नकार्न सकिन्न। साथै पाँच तले मन्दिरको निर्माणका लागि राज्यले राजालगायत भारदार, ब्राह्मण, आचार्यहरूका लागि भिन्नाभिन्नै मूल्य पर्ने घोडा खरिद गरिएको पनि देखिन्छ र उक्त सूचीअनुसार राजापछि दोस्रो दर्जा चुकुढी ग्वंगलले पाएको देखिन्छ।

 यसले पनि उनको यस निर्माण कार्यमा महवपूर्ण भूमिका रहेको अनुमान गर्न सकिन्छ (डा. जनकलाल वैद्य, सिद्धाग्नि कोट्याहुति देवल प्रतिष्ठा, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, पृ. ६०)। तसर्थ उनले जयमल राठौड र राव फत्तेसिंह सिसौडियाको सालिक प्रतिस्थापन गराउन महत्वपूर्ण भूमिका खेलेको कुरामा विश्वास गर्न सकिन्छ।  

प्रकाशित: ९ असार २०८० ०४:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App