१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

विभिन्न देशबाट ९६ वटा पुरातात्त्विक महत्वका वस्तु फिर्ता

पुरातात्त्विक महत्वका मूर्ति। फाइल तस्बिर

स्थानीय बिचाैलियाले डिप्लाेमेटिक ब्यागदेखि निर्यातका वस्तुबीच लुकाएर विभिन्न देशमा पुर्‍याएर गैरकानुनी रूपमा बिक्री गरेका ९६ वटा पुरात्तात्विक महत्वका वस्तुहरू नेपाल फिर्ता भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पुरातत्व विभागले ३८ वर्ष अवधिमा नेपालबाट चोरी भएर संसारभर पुगेका ९६ वटा पुरात्तात्विक महत्वका वस्तु नेपाल फिर्ता ल्याइएको जनाएको हो।

विभागकी पुरातत्व अधिकृत सरिता सुवेदीका अनुसार विभिन्न समयमा गैरकानुनी तरिकाले बेलायत, जर्मनी, इटाली, चीन, अमेरिकालगायत देशमा पुर्‍याइएका पुरातात्िवक महत्वका विभिन्न वस्तुमध्ये ९६ वटा नेपाल फिर्ता भएका छन्। ‘सन् १९५० अघि नेपालबाट चोरी, ओसारपसार र अवैध निकासी भएर विभिन्न देश पुगेका नेपालका सांस्कृतिक सम्पदाहरूको रेकर्ड पाइँदैन,’ उनले भनिन्, ‘सुरूवाती दिनमा नेपालबाट धेरै संख्यामा सांस्कृतिक सम्पदाहरू चोरी, ओसारपसार र अवैध निकासी विभिन्न देश पुगेका थिए। सन् २००० पछि भने सांस्कृतिक सम्पदा चोरी र निकासी कम हुँदै गएको देखिन्छ। चोरी भएका महत्वपूर्ण सम्पदाहरू सुरक्षा निकायहरूद्वारा बरामद गरी विभागमा पठाउने क्रमले निरन्तरता पाइरहेको छ।’

विभागमा दर्ता उजुरीका आधारमा २०६३ सालदेखि २०८० वैशाख मसान्तसम्म २३६ थान पुरात्तात्विक महत्वका वस्तुहरू चोरी, ओसारपसार भएको उनले जानकारी गराइन्।

स्थानीय बिचाैलियाले डिप्लाेमेटिक ब्यागदेखि निर्यातका वस्तुबीच लुकाएर विभिन्न देशमा पुर्‍याएर गैरकानुनी रूपमा बिक्री गरेका ९६ वटा पुरात्तात्विक महत्वका वस्तुहरू नेपाल फिर्ता भएका छन्।

सन् १९७० देखि १९९० को दशकमा नेपालबाट धेरै संख्यामा पुरात्तात्िवक महत्वका वस्तुहरू चोरी भएर विदेश पुगे पनि त्यसको तत्थांक पुरातत्व विभागसँग छैन। विभागले उपलब्ध गराएको विवरणअनुसार २०४२ सालमा भारतको कोलकाताबाट राष्ट्रिय संग्रहालय छाउनी फिर्ता भएको तारा, मंहाकाल, वाद्यवादन, भूस्पर्श बुद्ध, धर्मचक्र, बुद्ध (वैरोचन), प्रज्ञापारमिता, वज्रकिला (फुर्वा), लामा, बसुन्धरा, बुद्ध, स्तुपा र प्रभालगायत १३ थान धातुका मूर्ति हाल राष्ट्रिय संग्रहालय छाउनीमा संग्रहित छन्।

विसं. २०५३मा बेलायतको लन्डनबाट प्रस्तरको अगस्थमुनि, श्रीधर विष्णु (२ थान), कमलासनमाथि विष्णु र गरुडको पाउ तथा अप्सरा (२ थान), पद्यहस्ता देवी, बुद्धको शिर, बोधिसत्व बुद्धको मूर्ति, नाचिरहेको देवीको मूर्ति, विष्णु पूरा भाग नभएको तथा खुट्टाको भाग नभएको (२ थान), प्रस्तरको खण्डित श्रीधर विष्णुको (लक्ष्मीको भागमात्र भएको), टाउकोको भाग नभएको विष्णुको मूर्ति, काठको भैरव मुकुन्डको (२ थान), हस्तलिखित ग्रन्थ अष्टसहस्रिका प्रज्ञापारमिता र युजडित शिव परिवार यन्त्र लगायत १९ थान फिर्ता भएका मूर्ति राष्ट्रिय संग्रहालय छाउनीमा संग्रहित छन्।

त्यस्तै २०५६ सालमा जर्मनबाट फिर्ता भएको धुलिखेलबाट हराएको प्रस्तरको उमामहेश्वरको मूर्ति १ थान पाटन संग्रहालयमा राखिएको छ। सोही वर्ष भदौमा अमेरिकाबाट फिर्ता भएका राजधानीको जैसिदेवलबाट हराएको प्रस्तरको गरुडासन विष्णुको मूर्ति १ थान, पाटनको भिन्छेबहादबाट हराएको प्रस्तरको बुद्धको मूर्ति १ थान, फर्पिङबाट हराएको सरस्वतीको शीर १ थान र पनौतीबाट चोरी भएको प्रस्तरको सूर्य मूर्ति १ थान हाल राष्ट्रिय संग्रहालयमा राखिएका छन्।

२०५७ मा इटालियन नागरिकबाट फिर्ता गरिएको प्रस्तरको उभिएको पद्मपाणि लोकेश्वरको मूर्ति १ थान राष्ट्रिय संग्रहालय छाउनीमा संग्रहित छ। २०५९ सालमा अष्ट्रियाबाट फिर्ता भएको तामामा सुनको जलप लगाएको दीपांकर बुद्धको मूर्ति १ थान हाल पाटनको पिम्बहालमा पुनःस्थापना गरिएको छ।

डोल्पाको यत्सेर जाङचुमलिङ गुम्बाबाट हराएका २८ थान मूर्तिहरू तथा चैत्यहरू २०६४ मा तिब्बतको ल्हासाबाट फिर्ता भई स्थानीयको आग्रहमा पूजाआजा गरी सोही गुम्बामा पुनःस्थापना गरिएको थियो।

युरोपियन कला संकलन रोबर्ट एको व्यक्तिगत संग्रहमा रहेको ताडपत्रमा लेखिएको मार्कण्डेय पुराण १ थान २०७१ सालमा नेपाल फिर्ता भएर राष्ट्रिय संग्रहालय छाउनीमा संग्रहित छ। अमेरिकी नागरिक लेरोय एलेन एरेनरिचको व्यक्तिगत संग्रहमा रहेको १५औं शताब्दीको ढलौटको ध्यानी बुद्ध तथा अमोघपास लोकेश्वर, १६औं शताब्दीको अमोघपास लोकेश्वर र १७औं शताब्दीको मञ्जुश्री गरी ४ थान मूर्ति उनको मृत्युपश्चात् २०७४ मा नेपाल फिर्ता भई राष्ट्रिय संग्रहालय छाउनीमा संग्रहित छन्।

सोही वर्ष चैतमा अमेरिकाको न्युयोर्कस्थित द मेट्रोपोलिटेन म्युजियम अफ आर्टबाट प्रस्तरको स्थानक बुद्ध र उमामहेश्वरको मूर्ति दुई थान फिर्ता भएका थिए। सोमध्ये स्थानक बुद्धको मूर्ति राष्ट्रिय संग्रहालय छाउनीमा संग्रहित भएका छन् भने उमामहेश्वरको मूर्ति पाटनको टंगलहिटीमा पुनःस्थापना गरिएको छ।

डोल्पाको यत्सेर जाङचुमलिङ गुम्बाबाट हराएका २८ थान मूर्तिहरू तथा चैत्यहरू २०६४ मा तिब्बतको ल्हासाबाट फिर्ता भई स्थानीयको आग्रहमा पूजाआजा गरी सोही गुम्बामा पुनःस्थापना गरिएको थियो।

२०७८ सालमा अमेरिकाको टेक्सासस्थित डालास म्युजियन अफ आर्टबाट फिर्ता भएको पाटनको मोमडु टोलको नारायण मन्दिरबाट हराएको प्रस्तरको वासुदेव कमलाज (लक्ष्मीनारायण) मूर्ति १ थान उत्पत्तिस्थलमा पुनःस्थापना गरिएको थियो। सोही वर्ष डिस्ट्रिक एटोर्नी अफिसको सहयोगमा नेपाल फिर्ता भएका ढलौटको सुनौलो बुद्धको मूर्ति, पोलिक्रोम काठको सालभञ्जिका टुँडाल र ढलौटको गणेशको मूर्ति गरी ३ थान राष्ट्रिय संग्रहालयमा संग्रहित छन्।

विभागले सोही वर्ष अमेरिकाको रुबिन म्युजियम अफ आर्टबाट फिर्ता भएका इटुम्बहालको देवाली घरबाट हराएको काठको गन्धर्व (विद्याधर) १ थान र पाटन एम्पी महाविहारबाट हराएको मूलढोकामाथिको काठको तोरण एक थान सोही स्थानमा पुनःस्थापना गरिएको छ भने सो वर्ष अमेरिकाको म्याहटमस्थित तिब्बत हाउस कलेक्सनबाट फिर्ता भएको प्रस्तरको एक थान बुद्ध मूर्ति राष्ट्रिय संग्रहालय छाउनीमा संग्रहित छन्।

गत वर्ष अमेरिकाको डेनभर आर्ट म्युजियमबाट फिर्ता भएको पाटन गाःहिटीबाट हराएको १ थान प्रस्तरको उमामहेश्वरको मूर्ति, आर्ट इन्टिट्युट अफ सिकागोबाट फिर्ता भएको पशुपति परिसरबाट हराएको १ थान प्रस्तरको चतुर्मुखी शिवलिंग, निजी कम्पनी मार्लिन बी अल्स्डोर्फ ट्रस्टबाट फिर्ता भएको नक्साल क्षेत्रबाट हराएको प्रस्तरको नागराज र पद्मपाणि लोकेश्वरको मूर्ति र शाक्यमुनि बुद्ध गरी ३ थान राष्ट्रिय संग्रहालय छाउनीमा संग्रहित छन्।

येला युनिभर्ससिटी अफ आर्ट ग्यालरीबाट फिर्ता भएको भक्तपुर गोलमढी टोलबाट हराएको प्रस्तरको ताराको एक थान मूर्ति राष्ट्रिय संग्रहालयमा संग्रहित छ। अमेरिकाको एक नागरिकको व्यक्तिगत संग्रहमा रहेका अमेरिकाको एटोर्नी कार्यालयको सहयोगमा नेपाल फिर्ता भएका टेकुस्थित ह्युमत टोलको नारायण मन्दिरबाट हराएको पोलिक्रोम काठका पुरुष आकृतिका अंकित टुँडाल २ थान हाल राष्ट्रिय संग्रहालय छाउनीमा संग्रहित छन्।

गत वर्ष अमेरिकाको डेनभर आर्ट म्युजियमबाट फिर्ता भएको पाटन गाःहिटीबाट हराएको १ थान प्रस्तरको उमामहेश्वरको मूर्ति, आर्ट इन्टिट्युट अफ सिकागोबाट फिर्ता भएको पशुपति परिसरबाट हराएको १ थान प्रस्तरको चतुर्मुखी शिवलिंग, निजी कम्पनी मार्लिन बी अल्स्डोर्फ ट्रस्टबाट फिर्ता भएको नक्साल क्षेत्रबाट हराएको प्रस्तरको नागराज र पद्मपाणि लोकेश्वरको मूर्ति र शाक्यमुनि बुद्ध गरी ३ थान राष्ट्रिय संग्रहालय छाउनीमा संग्रहित छन्।

न्युयोर्कस्थित मेट्रोपोलिटेन म्युजियमबाट फिर्ता भएका इटुम्बहालको काठको सालभञ्जिका टुँडाल, काठमाडौंको कंकेश्वरीको प्रस्तरको दुई साधुबीचमा उभिएको शिवको एक थान मूर्ति सोही स्थानमा पुनःस्थापना गरिएको छ। त्यस्तै बेलायतको लन्डनबाट फिर्ता भएको कुमारीघरको काठको कलात्मक तोरण र ओमबहालको नमस्कार मुद्रामा घुँडा टेकेर बसेको प्रस्तरको भक्तको मूर्ति गरी २ थान राष्ट्रिय संग्रहालयमै संग्रहित छन्।

यस वर्ष वैशाखको अन्तिम सातामा अस्ट्रेलियाको सिड्नीस्थित आर्ट ग्यालरी अफ न्यु साउथ वेल्सबाट फिर्ता भएका पाटन रत्नेश्वर मन्दिरको १३औं शताब्दीको काठको सालभञ्जिका टुँडाल एक थान पाटन संग्रहालयमा संग्रहित गरिएको छ भने अमेरिकाका फिल्म निर्माता माइकल फिलिप्सको व्यक्तिगत संग्रहबाट फिर्ता भएको ललितपुरस्थित बुङमतीको मच्छिन्द्रबहाल टोलको तग चिवा (ठुलो चैत्य)को आठौं शताब्दीको प्रस्तरको बुद्धको मूर्ति १ थान र पूर्व अमेरिकी राजदूत पिटर बुर्लिचको व्यक्तिगत संग्रहबाट फिर्ता भएको पाटन इबहावहीको १५औं शताब्दीको काठको नृत्यदेवीको एक थान मूर्ति संरक्षणका लागि राष्ट्रिय संग्रहालयमै राखिएको छ।

‘कूटनीतिक पहलमार्फत गैरकानुनी रूपमा पुगेका नेपालका पुरात्तात्विक महत्वका वस्तुहरू स्वदेश फर्काउनका लागि परेका छौं,’ विभागका प्रवक्ता रामबहादुर कुँवरले भने, ‘सय वर्ष पुरानो पुरात्तात्विक महत्वका वस्तुहरू ओसारपसार र बेचबिखन गरेर नेपालबाहिर पुर्‍याउने गिरोहलाई पक्राउ गर्न विभागले प्रहरीको सहयोग लिए पनि चोरी कार्य रोकिन सकेको छैन।’

नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो १० वर्षमा देशभरबाट चोरिएका ५९२ थान पुरात्तात्विक महत्वका वस्तुहरूमध्ये १४५ थान अझ फेला परेका छैनन्। आर्थिक वर्ष २०७०÷७१ देखि वैशाख मसान्तसम्म देशभरबाट पुरात्तात्िवक महत्वका वस्तुहरू ५९२ थान चोरी भएका घटनामा १४५ थान फेला परेनन्।

नेपाल प्रहरीको तथ्यांकअनुसार चालु आव २०७९/८० को वैशाख मसान्तसम्म देशभरबाट ८ वटा पुरात्तात्विक महत्वका वस्तु चोरी भएको घटना दर्ता भएका छन्। नेपाल प्रहरीले धनुषाबाट तामाको गिलास तथा मरअंकित वस्तु, चाँदीको मूर्ति तथा मुकुटको टुक्रा र अंखरा गरी (४ थान) र बाँके जिल्लाबाट १ थान बुद्धको मूर्ति चोरी गर्ने ८ जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको तथ्यांकअनुसार चालु आव २०७८/७९ मा देशभरबाट ६० वटा पुरात्तात्विक महत्वका वस्तु चोरी भएको घटना दर्ता भएका थिए। त्यसमध्ये सोलुखुम्बु, सप्तरी, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, ललितपुर र काठमाडौंबाट १९ थान हिन्दुका मूर्ति, ३ थान तामा कलश, ४ थान शालिग्राम, २ थान पञ्चदियो, २ थान कलश, १ थान आरती थान, ८ थान मुगा दाना, ७ थान तुथादुना, २ थान पानस थाल, २ थान गजुर, १ थान जलौरी, ४ थान जलौरी, ४ थान शंख र १ थान अंखरा चोरी भएका थिए। प्रहरीले देशभरबाट २६ जनालाई पक्राउ गरे पनि १० पुरात्तात्विक महत्वका वस्तु फेला नपरेको जनाएको छ।

नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो १० वर्षमा देशभरबाट चोरिएका ५९२ थान पुरात्तात्विक महत्वका वस्तुहरूमध्ये १४५ थान अझ फेला परेका छैनन्।

आर्थिक वर्ष २०७७/७८ मा पुरात्तात्विक महत्वका १३ वस्तु चोरीको घटना प्रहरीमा दर्ता भएको थियो। त्यसमध्ये मकवानपुर, बाँके, रूपन्देशी र काठमाडौंबाट ९ थान हिन्दु मूर्ति, १ थान बुद्धको मूर्ति, २ थान घण्टी र १ थान सिक्का चोरी गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरे पनि ५ थान हिन्दु मूर्ति फेला परेका छैनन्।

आव २०७६/७८ मा पुरात्तात्विक महत्वका १४ थान वस्तु चोरी भएको घटना प्रहरीमा दर्ता भएको छ। १३ थान बुद्ध मूर्ति र १ थान हिन्दु मूर्ति चोरी घटनामा प्रहरीले १ जनालाई पक्राउ गरे पनि १३ थान बुद्धका मूर्ति अझ फेला परेका छैनन्।

आर्थिक वर्ष २०७५/७६ मा पुरात्तात्विक महत्वका २०१ वस्तु चोरीको घटना प्रहरीमा दर्ता भएकोमा २ थान हिन्दु मूर्ति र ३ थान शालिग्राम फेला पर्न सकेका छैनन्। सो वर्ष दोलखा, चितवन, रूपन्देही, बाँके, काठमाडौं उपत्यकाबाट हिन्दु मूर्ति २ थान, शालिग्राम ३ थान, बौद्धको स्वर्ण लिपि ४९ थान, सिक्का २९ थान, घण्टी १ थान, तामाको प्रज्ञापारमिता सूत्र ९९ थान र विभिन्न आकार वस्तु १८ थान चोरी गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको थियो।

आव २०७४/७५ मा पुरात्तात्विक महत्वका १५२ वस्तु चोरी भएको घटना प्रहरीमा दर्ता भएको थियो। प्रहरीले नुवाकोट, दोलखा र काठमाडौं उपत्यकाबाट पुरातात्त्विक महत्वका वस्तु चोरी गर्ने १५ जना पक्राउ गरे पनि ३ थान हिन्दु मूर्ति फेला नपरेको जनाएको छ। सो वर्ष १५ थान हिन्दु मूर्ति, २१ थन बुद्धको मूर्ति, १०१ थान सिक्का, १० थान घण्टी, १ थान बौद्धको ग्रन्थ, १ थान ढलौटको मानो, १ थान पुतली, २ थान पाता र १ थान कण्ठी चोरी भएको थियो।

आर्थिक वर्ष २०७५/७६ मा पुरात्तात्विक महत्वका २०१ वस्तु चोरीको घटना प्रहरीमा दर्ता भएकोमा २ थान हिन्दु मूर्ति र ३ थान शालिग्राम फेला पर्न सकेका छैनन्।

आव २०७३/७४ मा पुरात्तात्िवक महत्वका १७ वस्तुको चोरी घटना प्रहरीमा दर्ता भएको थियो। सो वर्ष जुम्ला र काठमाडौं उपत्यकाबाट १० थान हिन्दु मूर्ति, ४ थान बुद्ध मूर्ति र ३ थान संश चोरी गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको थियो। आव २०७२/७३ मा पुरात्तात्िवक महत्वका १८ वस्तु चोरीको घटना प्रहरीमा दर्ता भएको थियो। सो वर्ष कपिलवस्तु र डोल्पासहित देशभरका विभिन्न स्थानबाट ५ थान हिन्दु मूर्ति र १३ थान बुद्धको मूर्ति चोरी गर्ने ३ जनालाई पक्राउ गरे पनि १३ थान बुद्धका मूर्ति फेला पर्न सकेनन्।

आव २०७१/७२ मा पुरातात्त्विक महत्वका २ वस्तु चोरी घटनामा प्रहरीले ४ जनालाई पक्राउ गरेको थियो। सो वर्ष १ थान हिन्दु मूर्ति र १ थान बुद्ध मूर्ति चोरी भएको थियो। आव २०७०÷७१ मा पुरातात्त्विक महत्वका २ बुद्ध मूर्ति चोरी घटनामा ५ जना पक्राउ परेका थिए।

पुरातत्व विभागकी पुरातत्व अधिकृत सरिता सुवेदीका अनुसार विभिन्न समयमा गैरकानुनी तरिकाले बेलायत, जर्मनी, इटाली, चीन, अमेरिकालगायत देशमा पुर्‍याइएका पुरातात्त्विक महत्वका विभिन्न वस्तुमध्ये ९६ वटा नेपाल फिर्ता भएका छन्। विभिन्न देशमा पुर्‍याइएका पुरातात्त्विक महत्वका ९६ वटा वस्तु ३८ वर्षको अवधिमा अर्थात् २०४२ सालयता नेपाल ल्याइएको हो।

‘सुरक्षा निकाय नेपालको सांस्कृतिक सम्पदाको संरक्षण गर्न लागि परे पनि चोरी निकासी रोकिन सकेको छैन,’ नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले भने, ‘खुला सीमामार्फत संगठित गिरोहले नेपालबाट चोरिएका पुरातात्त्विक महत्वका वस्तुहरू अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने गरेको देखिन्छ। त्यसलाई निरुत्साहित गर्न सुरक्षा निकाय खटिए पनि पुरातात्त्विक महत्वका वस्तुहरू चोरी हुने क्रममा कमी आउन सकेको छैन।’

प्रकाशित: ८ असार २०८० ०१:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App