१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जब लाग्छ बर्खा तब तात्छन् ठेकेदार

आकाशमा कालो बादल मडारिरहेको छ। सडकमा अलकत्रा खसालिँदैछ। वैकल्पिक सहायक राजमार्ग (साँखु–फटकेश्वर–बाहुनिपाटी) सडकमा दोस्रो लेयरको कालोपत्रे हुँदै गर्दा सर्वसाधारणको अनुहारमा पनि अन्योलको कालो देखिन्छ। ‘पानी परे पिच बिग्रन्छ,’ सडकमा पोखिएको अलकत्रा र आकाशको कालो बादल देखाउँदै शंखरापुरका नरेश श्रेष्ठ भन्छन्, ‘यही बर्खामा काम नसके ठेकेदारको हिसाब बिग्रन्छ।’

शंखरारपुरको जस्तै कथा गोकर्णेश्वरमा पनि देखिन्छ। मनसुन सुरु भएसँगै गोकर्णेश्वर नगरपालिका–१ नयाँपाटी पुल क्षेत्रमा कालोपत्रका लागि अलकत्रा हालिएको छ। शनिबार बेलुका निर्माण व्यवसायीले अलकत्रा हाल्यो तर त्यही रात ठुलो पानी परेपछि अलकत्रा बग्यो।

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार सुरु भएको आठ वर्षपछि कालोपत्रेको काम सुरु गरिए पनि बर्खा लागिसकेकाले स्थानीय दुःखी छन्। ‘आठ वर्षदेखि अलपत्र काम बल्ल सुरु भएको छ, त्यो पनि बर्खा लागेपछि,’ गोकर्णेश्वर नगरपालिकाका मोहन घिमिरे भन्छन्, ‘पिच त हुने भयो तर कति दिन टिक्ने हो, कुनै ठेगान छैन।’

आकाशमा कालो बादल मडारिरहेको छ। सडकमा अलकत्रा खसालिँदैछ। वैकल्पिक सहायक राजमार्ग (साँखु–फटकेश्वर–बाहुनिपाटी) सडकमा दोस्रो लेयरको कालोपत्रे हुँदै गर्दा सर्वसाधारणको अनुहारमा पनि अन्योलको कालो देखिन्छ।

संघीय सरकारले आयोजनाको ठेक्का सम्झौता गरेकाले निर्माण व्यवसायीले स्थानीय सरकारलाई नटेर्दा सडक जीर्ण बन्दै गएको गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदी बताउँछन्। आर्थिक वर्ष २०७५/७६ मा सक्ने गरी २०७२ सालमा ठेक्का भएको सात किलोमिटर सडक आठ वर्षदेखि अलपत्र छ। हिउँदमा कामको वास्ता नगर्ने अनि बर्खा लागेपछि हतारहतार काम थाल्ने प्रवृत्ति नौलो होइन, न त यी दुई ठाउँ नै नयाँ हुन्। बर्खाकै माझ देशभर विकास योजना सञ्चालन भइरहेका छन्। आर्थिक वर्ष सकिन लाग्दा सडक कालोपत्रे, भवन निर्माण, पुलपुलेसा, खानेपानी लगायत योजना तीव्र गतिमा अघि बढिरहे पनि त्यसको गुणस्तरप्रति कसैलाई चासो छैन।

बजेट कुम्ल्याउने नियतले नै असारमा काम हुने गरेको स्थानीयको आरोप छ। बजेट फ्रिज भएर जानुभन्दा जसरी पनि काम सिध्याउनुपर्छ भनेर असारमा हतारहतार काम गर्ने गरिएको उनीहरूको बुझाइ छ।

आर्थिक वर्षको अन्तिममा कामको चाप हँुदा प्राविधिकले समेत राम्रोसँग हेर्न पाउँदैनन्। ‘हतपतको काम लतपत भन्ने नेपाली उखान जिल्लाका अधिकांश विकास निर्माणको कामले पुष्टि गर्छ। असारे विकासको सबैभन्दा ठुलो प्रभाव सडक क्षेत्रमा परेको छ,’ डा. सुरेश आचार्य लेख्छन्, ‘अहिले सडक निर्माण, मर्मतर-सम्भार लगायत नाममा जिल्लाका विभिन्न स्थानमा सडक र नाली ठाउँठाउँमा भत्काइएका छन्।’

हिउँदभरि चुपचाप बसेका निर्माण व्यवसायी र सरकारी कर्मचारी असार लागेपछि निकै व्यस्त रहने उनी बताउँछन्। असार मसान्तसम्म काम सक्ने र भुक्तानी लिने–दिने चटारो निर्माण व्यवसायी र सरकारी कार्यालयलाई रहेको उनको बुझाइ छ।

बजेट कुम्ल्याउने नियतले नै असारमा काम हुने गरेको स्थानीयको आरोप छ। बजेट फ्रिज भएर जानुभन्दा जसरी पनि काम सिध्याउनुपर्छ भनेर असारमा हतारहतार काम गर्ने गरिएको उनीहरूको बुझाइ छ।

त्यसो त दुई वर्षअगाडि अर्थमन्त्री जनार्दन शर्माले असारे विकास खर्चको प्रवृत्ति हटाउने घोषणासमेत गरेका थिए। तर उनको प्राथमिकता र निर्देशनले कुनै काम गरेको लक्षण देखा परेन। बरु असारे विकास झनै मौलाएको देखिन्छ। असारमा भौतिक पूर्वाधारको काम हुँदा पानीका कारण कम गुणस्तरको हुने र अनुगमनमा समेत समस्या पर्ने कतिपयको बुझाइ छ। यस्तोमा कतिपय अवस्थामा ठेकेदारले पानीको कारण देखाउँदै कामको गुणस्तरमा ध्यान नदिने गरेको समेत भेटिने गरेको छ।

सडक इन्जिनियर अशिष गजुरेल असारमा कामै गर्न नहुनेभन्दा पनि अन्तिम समयमा मात्र आएर काम गर्न प्रवृत्ति बेठीक भएको बताउँछन्। ‘प्राविधिक कुरा मात्र होइन, हतारमा काम गर्दा अन्य पनि थुप्रै समस्या पक्कै पर्छ,’ उनले भने, ‘त्यसैले बर्खा छलेर काम गर्दा समय र गुणस्तर दुवै हिसाबले राम्रो हुन्छ।’

सडक विभागका प्रवक्ता रामहरि पोखरेल समयमा पैसा निकासा नहुँदा समस्या आएको स्विकार्छन्। ‘त्यही भएर जुन बेला पैसा आउँछ, त्यही बेला काम सुरु हुन थालेको हो,’ पोखरेलले भने, ‘आर्थिक वर्षको अन्त्यमा काम हुने मुख्य कारण यही हो।’

विनियोजित बजेट असार मसान्तभित्र खर्च गरिसक्नुपर्ने र ठेकेदार कम्पनीहरूले असार मसान्तभित्रै योजना सम्पन्न गरी भुक्तानी स्वीकृत गरिसक्नुपर्ने नियमले गर्दा असारे विकास रोकिने छाँट देखिन्न। ‘विनियोजित बजेट फ्रिज हुनबाट जोगाउने भन्दै हतारहतार लतरपतर तरिकाले विकासको कामले दिगो विकासलाई सघाउनभन्दा विनाश गरेको छ,’ सरोजराज पन्त लेख्छन्, ‘यसले बजेटको दुरूपयोग मात्रै बढाएको छैन ११ महिना सुस्ताएका ठेकेदार कम्पनीहरूलाई जुर्मुराउने र सरकार, सबद्ध निकायलाई विकासका नाममा बिरालो बाँध्ने संस्कार, जनताको आँखामा छारो हाल्ने व्यवहारस्वरूप जाँगर देखाउने प्रवृत्तिले प्रश्रय पाउँदै आएको छ।’

सडक इन्जिनियर अशिष गजुरेल असारमा कामै गर्न नहुनेभन्दा पनि अन्तिम समयमा मात्र आएर काम गर्न प्रवृत्ति बेठीक भएको बताउँछन्।

असार लागेपछि मात्र काममा जुर्मुराउने प्रवृत्तिभित्र कुनकुन असल र खराब प्रवृत्ति लुकेका छन् भन्ने कुराको गहन खोज–अनुसन्धान हुनुपर्ने खाँचो देखिएको उनको भनाइ छ। उनको भनाइमा धेरै स्थानीय सहमत छन् तर कोही बोल्न चाहँदैनन्। ‘आर्थिक वर्षको अन्तिम महिना भनेको भोजभतेर जस्तै हो,’ सडक निर्माणमा खटिएका एक ठेकेदार भन्छन्, ‘यसको मिठासले सबैको मुख थुनिएको हुन्छ।’

प्रकाशित: ८ असार २०८० ००:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App