नेपालमा मनसुन भित्रिएको साता नपुग्दै पूर्वी भेगमा भारी वर्षाले मानवीय र भौतिक क्षति पुर्याइसकेको छ। बाढी पहिरोमा परेर कम्तीमा १० जनाको मृत्यु भएको र २६ जना बेपत्ता भएको सरकारले बत्ताइसकेको छ। धेरै घरहरु बाढी पहिरोको चपेटामा परिसकेका छन्।
जल तथा मौसम विज्ञान विभागले यो पटकको मनसुनमा सरदर भन्दा कम वर्षा हुने यसअघि नै बत्ताइसकेको थियो। तर पनि, मनसुन भित्रिएको साताभित्रै ठुलो मानवीय र भौतिक क्षति पुगिसकेको छ। गत मंगलबार मनसुन पूर्वी भेगबाट भित्रिएको थियो। मनसुन अझै पश्चिम क्षेत्रमा पुगिसकेको छैन।
पूर्वबाट भित्रिएको मनसुन पश्चिम सर्ने क्रममा आगामी दिनमा पश्चिमी क्षेत्रमा पनि थप भौतिक र मानवीय क्षति पुर्याउन सक्ने सम्भावना रहे पनि मनसुनी विपद्लाई न्यूनीकरण गर्ने तर्फको तयारी भने निकै नै कमजोर देखिएको छ। स्थानीय तह र प्रदेश सरकारले पूर्वको भोगाईलाई आधार मानेर पश्चिम क्षेत्रमा मनसुनी विपद्सँग जुध्नका लागि पर्याप्त तयारी गर्न सकिने समय रहे पनि उचित तयारीमा जुटेका छैनन्।
मनसुनी वर्षाले हरेक वर्ष जसो गण्डकी प्रदेशका जिल्लामा मानवीय र भौतिक क्षति पुर्याउँदै आएको छ। यो पटक पनि पूर्वी भेगमा क्षति पुर्याइरहेको मनसुन पश्चिम आइपुग्दा गण्डकी प्रदेशमा पनि उत्तिकै क्षति पुर्याउने जोखिम रहे पनि त्यसबाट जोगिने तयारी भने उत्ति सारो भएको छैन। पूर्वको भोगाईबाट सिकेर पश्चिम भेगमा पर्याप्त तयारी गर्न सकिने भए पनि त्यो तयारी नभएको सरोकारवालाको भनाई छ।
‘मनसुनजन्य विपद्बाट आइपर्ने जोखिमसँग जुध्नका लागि सामान्य आकारको तयारी मात्र छ। खोज र उद्धारका लागि आवश्यक पर्ने डोरी र हाते औजार किनेर राखेका छौ,’ कास्कीको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङ भन्छन्, ‘हामीले किनेको सामान नै पर्याप्त नहुन पनि सक्छ।’ उनका अनुसार गाउँपालिकाले घर भत्किएको खण्डमा बसोबासका लागि त्रिपाल, खानेपानी अवरुद्ध भएमा सुचारु गर्न पाइप खरिद गरिएको भए पनि खाद्यान्न, लत्ताकपडा लगायतका सामान नरहेको बताए। ‘अप्ठेरो आएपछि त्यही अनुसार गर्ने हो। सम्बन्धित निकायलाई सचेत बनाएका छौ। गाउँका प्रहरी, स्वास्थ्य चौकीलाई तयारी अवस्थामा रहन त भनेका छौ। तर, खाद्यान्न र लामो समय बसोबास आवश्यक परेमा के गर्ने भन्ने चाहिँ तयारी छैन,’ उनले भने।
तनहुँको घिरिङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेले पनि विपद्का लागि केही सामाग्री तयारी अवस्थामा राखेको जानकारी दिए। ‘खोज र उद्धारका लागि चाहिने, बेल्चा, कुटो, कोदालो लगायतका सामाग्री छन् । तर, ती अपुग छन्, थप सामाग्री किन्ने हो,’ उनले भने, ‘त्यसबाहेकका सामाग्री भने अहिलेसम्म छैनन्। तर, आवश्यक परेको बेला नजिकै बजार भएकोले किन्न सकिन्छ।’ परिस्थिति अनुसार तत्काल सामाग्री किन्न पाइने भएकोले मौज्दात नराखेको उनले बता।
‘विपद् कोषमा करिब ५० लाख रुपैयाँ बजेट छ। नजिकैको बजारमा सामान पनि किन्न पाइन्छ,’ उनले भने, ‘खरिद गरेको कतिपय सामान उपयोग नभएमा नोक्सान हुने भएकोले सबै सामान खरिद नगरेको हो। हामीले बजारको उपलब्धताबारे जानकारी लिएका छौ। आवश्यक पर्ने त्रिपाल, लत्ताकपडा, टेन्ट, खाद्यान्न सहजै किन्न सकिन्।’
रेडक्रस कास्कीका उपसभापति धर्मराज अधिकारी पश्चिम क्षेत्रका जिल्लामध्ये कास्की बाढी पहिरोको अधिक जोखिमयुक्त जिल्ला भएकोले विपद्सँग जुध्न पर्याप्त तयारी गर्नुपर्ने बताउँछन्। उनका अनुसार बाढी पहिरोले कास्कीमा सधैँ मानवीय क्षति पुर्याउने गरेको छ। उनका अनुसार रेडक्रस कास्कीसँग अहिले एम्बुलेन्स, खोज, उद्धार र राहतका लागि आवश्यक सामाग्रीको जोहो छ। कम्तीमा एक सय घरपरिवारका लागि पुग्ने त्रिपाल, जस्तापाता, खाद्यान्न, भाँडाकुँडा, लत्ताकपडा छन्। ‘एक सय परिवारलाई कम्तीमा एक साता पुग्छ। त्यसपछि पनि राज्यले व्यवस्थापन गर्न नसके थप सहयोग गर्न सकिन्छ,’ अधिकारीले भने, ‘खाद्यान्न, भाँडाकुँडा, लत्ताकपडा, अस्थायी बसोबासका लागि ब्ल्याङकेट, त्रिपाल नै त्यो बेला आवश्यक पर्ने हो। ती सामान रेडक्रसले तयारी अवस्थामा राखेको छ।’
सुरक्षाकर्मीसँग मिलेर खोज र उद्धारका लागि काम गर्ने गरी सामाग्री तयारी अवस्थामा राखेको उनले बताए। ‘जिल्ला स्तरमा एक सय घरपरिवारका लागि एक साता पुग्ने सामान छन्। त्यो भन्दा बढी भएमा भएमा रेडक्रसको क्षेत्र र केन्द्रको गोदाम घर पनि पोखरामै रहेकोले समस्या छैन,’ उनले भने, ‘प्रदेशका १५ सय परिवारका लागि सहयोग गर्न सकिने क्षमता रेडक्रससँग छ।’ उनका अनुसार प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा आवश्यक पर्दा खोज र उद्धारका लागि सुरक्षा निकाय परिचालन गर्ने सहितका योजना बनिसकेका छन्।
‘जिल्लातहमा केही तयारी छ। स्थानीय तहमा बजेट भएर पनि खासै गतिलो तयारी भएको देखिन्न,’ उनले भने, ‘स्थानीयतहमा विपद् व्यवस्थापन समिति भए पनि गोदामको तयारी छैन। विपद्का लागि बजेट दिएको छ तर, सामान छैनन्। स्थानीय तह बढी जिम्मेवार हुनुपर्ने भए पनि तयारी फितलो छ।’
भूगर्भविद् श्रीकमल द्विवेदी पहिरो आएपछि हल्ला मच्चाउने, तर, रोकथामका लागि पूर्व तयारी नहुने बताउँछ। ‘वर्षाको पानीले मात्र क्षति गर्ने होइन, निर्माण क्रममा गरिएका कतिपय कामलाई व्यवस्थापन गर्न नजान्दा पनि विपद् निम्तने गरेको छ,’ द्विवेदीले भने, ‘यतिसम्मकी ठाउँ ठाउँमा आवश्यक चेकड्याम बनाउने काम यही बेला गर्न सकिन्छ। त्यसो गर्दा भेलबाढीबाट जोगाउन सकिन्थ्यो।’ जोखिम पहिचान गरेर काम नगर्दा बर्सेनि क्षति हुने गरेको पनि उनले बताए।
‘पानी परेर मात्र क्षति भएको होइन, हिजोका दिनमा हामीले गरेको गलत कामले पनि नोक्सान थपेको छ। तर त्यसलाई रोकथाम गर्न चाँसो दिएनौ,’ उनले भने। उनका अनुसार यो बेला विपद्बाट जोगिने उपायबारे जनचेतना फैलाउने गरी कार्यक्रम गर्न सकिन्छ। विपद् आइपरेमा के गर्ने भनेर नागरिकलाई सचेत गराउनुपर्ने भए पनि त्यतातर्फ ध्यान नगएको उनले बताए। पूर्वाधार बाहेक जनचेतनाका काम गर्ने हो भने विपद्बाट जोगाउन सकिने उनले बताए।
‘आवश्यक सामान जुटाउने बाहेक अरू काम गर्न जरुरी छ घटना हुनै नदिन सचेतना जगाउन सकिन्छ। नाली सफा गरेर भेल टालिन नदिएर पनि रोकथाम गर्न सकिन्छ। त्यो विषयमा कसैले ध्यान दिएनन्,’ उनले भने, ‘क्षति भएपछि पानीलाई दोष दिने मात्र चलन छ।’
गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अन्त्रगतको आन्तरिक मामिला तथा सञ्चार समन्वय महाशाखाका प्रमुख बद्रीनाथ अधिकारीका अनुसार गण्डकी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक बस्ने र पूर्वतयारमा जुट्ने योजना बनेको छ। परिषद्को अध्यक्ष मुख्यमन्त्री हुन्छन्।
‘वर्षमा दुई पटक विपद् व्यवस्थापन परिषद्को बैठक बस्ने हो। यो असार भित्र बैठक बसेर तयारीलाई अझ सक्रिय बनाउने तयारी हुँदै छ,’ उनले भने, ‘यो पटक असारमा अहिलेसम्म बैठक बसेको छैन। अघिल्लो सरकार हुँदा बैठक भए पनि यो पटक बसेको छैन।’ उनका अनुसार विपद् पूर्व तयारी कार्ययोजना अनुसार प्रदेश सरकारले केही सामाग्रीको भण्डारण गरेको छ। उद्धार र राहतका सामाग्रीको जोहो गरेको छ। त्यसबाहेक जनचेतनाका कार्यक्रम पनि गरिरहेको उनले बताए।
प्रकाशित: ५ असार २०८० ११:१० मंगलबार