२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ताप्लेजुङमा तीनको मृत्यु तीन बेपत्ता

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा आएको पहिरोमा परी तीनजनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता छन्। पहिरोमा परी गम्भीर घाइते एकजनालाई उपचारका लागि हेलिकोप्टरबाट उद्धार गरी विराटनगरतर्फ लगिए पनि खराब मौसमका कारण हेलिकोप्टर पिनासेघाटमा अवतरण गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले हेलिकोप्टर पिनासेघाटमै रहेको जानकारी दिइन्।

पहिरोले बगाएका ४५ वर्षीय राजकुमार राईलाई स्थानीले घाइते अवस्थामा उद्धार गरेका थिए। हेलिकोप्टरले उनलाई उपचारका लागि विराटनगरतर्फ लैजाने गरी मेहेलेबाट लिएर उडेको थियो। सोमबार बिहान झरेको पहिरोमा परी बाबुछोराको मृत्यु भएको हो। मेहेले मुकुभञ्ज्याङका ६७ वर्षीय केशरबहादुर राई र उनका छोरा ३६ वर्षीय सुरेश राईको मृत्यु भएको छ। पहिरोले बगाएका छोरा सुरेशलाई घाइते अवस्थामा उद्धार गरिए पनि उद्धार भएको केही समयपछि उनको मृत्यु भएको थियो। बुबा केशरबहादुरलाई पहिरोले बगाएपछि स्थानीयले मृत अवस्थामा फेला पारेका थिए।

सुरेशसँगै उद्धार गरिएका उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत विराटनगर लगिएको छ। यसअघि पहिरोले बगाएका मेहेले भालुखोपका ३० वर्षीय गणेश तामाङको शव पनि भेटिएको छ। सोही ठाउँका एकाघरका ६३ वर्षीया भगीमाया बुढाक्षेत्री, उनकी बुहारी ३० वर्षीया सन्ध्या र नाति ९ वर्षीय प्रज्ज्वल बेपत्ता छन्। उनीहरूको सोमबार साँझसम्म पनि केही पत्तो लागेको छैन। दर्के पानी परिरहेको र जताततै पहिरो तथा बाढीको खतराका कारण उद्धारमा कठिनाइ भएको स्थानीय कमल कडरियाले जानकारी दिए। उनले भने, ‘मेहेलेको सबै क्षेत्र पहिरोको जोखिममा रहेको छ। कतै आउन–जान सक्ने अवस्था छैन।’ पहिरोको सन्त्रास बढेपछि जोखिम क्षेत्रका वासिन्दालाई नीलगिरि माविको प्रांगणमा सुरक्षित स्थानान्तरण प्रयास भइरहेको उनले जानकारी दिए।

सयौं घर जोखिमा, विस्थापित हुनेको संख्या बढ्यो

पहिरोले सबैभन्दा बढी सिदिङ्वा, सिरिजङ्गा, मैवाखोला, मेरिङदेन र आठराई त्रिवेणी गाउँपालिका र फक्ताङलुङ गाउँपालिकालाई प्रभावित पारेको छ। सिरिजङ्गा गाउँपालिका उपाध्यक्ष डाक्टर चित्र मावोका अनुसार अहिलेसम्मको संकलित तथ्यांकअनुसार याम्फुदिनमा १३, खेवाङमा ७ र पेदाङमा ६ घरपरिवार विस्थापित भएका छन्। अरू वडाको तथ्यांक संकलन र अद्यावधिक कार्य जारी रहेको छ। सिदिङ्वा गाउँपालिकाको मेहेलेमा मात्रै दर्जनौं परिवार विस्थापित भएका छन्। पहिरोले मेहेलेपछि आङखोप, सुरुम्खिम, सादेवा र साब्लाखुमा क्षति पुर्याएको छ। विस्थापित र जोखिममा परेका वासिन्दालाई सुरक्षित स्थानमा सार्ने र क्षतिको पूर्ण विवरण संकलन कार्य भइरहेको गाउँपालिका मानबहादुर राईले जानकारी दिए। मेरिङदेन गाउँपालिकामा करिब २७ घरपरिवार पूर्णरूपमा प्रभावित भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रत्नेश्वरप्रसाद शाहले जानकारी दिए। पहिरोले स्थानीय झोलुङ्गे पुलमा समेत क्षति पुर्याएको गाउँपालिकाले जनाएको छ।

मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार १० परिवार उच्च जोखिममा छन्। २४ घरपरिवार जोखिममा रहेका छन्। आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमु (दीपेन) ले बाढीपहिरोको सन्त्रास कायम रहेको र यहीबीच तथ्यांक संकलन तथा प्रभावित परिवारलाई राहत तथा उद्धार क्रम चलिरहेको जानकारी दिए। जिल्ला विपद् व्यवस्थापन समितिले आइतबार साँझ प्रकाशित गरेको तथ्यांकअनुसार पहिरोले ९ घरमा पूर्ण क्षति पुर्याएको छ। ५१ घरपरिवार जोखिममा रहेका र अरू तथ्यांकको अद्यावधिक हुने क्रम जारी रहेको विपद् व्यवस्थापन समितिले बताएको छ।

ठाउँठाउँमा पुल बगाएपछि ग्रामीण क्षेत्रमा यातायात ठप्प

पहिरोले ताप्लेजुङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ र २ जोड्ने मोटरेबल पुलको फुङलिङतर्फको भागमा क्षति गरेपछि यात्रा जोखिम हुन नदिन स्थानीयले बार लगाएका छन्। मैवाखोलाले बाटो बगाएपछि दोभान वारि र मैवाखोला र आठराई त्रिवेणी गाउँपालिका आउन–जान बन्द भएको छ। पहिरोले ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–४ मा रहेको पाँचथर ताप्लेजुङ जोड्ने इन्द्रावती खोलामा बनाएको पक्की पुलको ताप्लेजुङतर्फको पुलको साइडको सडक खोलाले बगाई बाटो अवरुद्ध भएको छ।

सिदिङ्वा र सिरिजङ्गा जोड्ने तावा खोला पुलको आधार एकातर्फ भत्किएपछि यातायात अवरुद्ध भएको छ। सिरिजङ्गा र फक्ताङ्लुङ गाउँपालिकातर्फ जाने बाटोका ठाउँका सडक भत्किएका छन्। अहिले सदरमुकाम फुङलिङ, पाथिभरा याङ्वरक गाउँपालिकाको केन्द्र थेचम्बु र मिक्वाखोलाको केन्द्र थलङ जान–आउन भने सकिन्छ। ‘त्यो पनि यात्रा कठिनै हुन्छ’,मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले भने।

पाँचथरमा पहिरोमा फसेका १२ जनाको उद्धार

नेपाली सेनाको हेलिकोप्टरले पाँचथरको याङवरक गाउँपालिका– १ फेदीको पहिरोमा फसेका १२ जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी स्थानीय विष्णु माध्यमिक विद्यालय पुर्याइएको छ। पाँचथरका प्रहरी प्रमुख (डिएसपी) हरि खतिवडाले शनिबार राति आएको पहिरो घर रहेको स्थानको चारैतर्फ फैलिएपछि फसेका १२ जनाको उद्धार गरी सुरक्षित स्थानमा लगिएको जानकारी दिए। उनका अनुसार ६० वर्षीया नरमाया गुरुङ, १६ वर्षीय सन्दिप गुरुङ, ९ वर्षीया हिमा गुरुङ, ८० वर्षीय कृष्णबहादुर गुरुङ, ६० वर्षीया डिकमाया गुरुङ, ३५ वर्षीय काजुहाङ गुरुङ, ३० वर्षीया सुनिता गुरुङ, ४३ वर्षीय मनबहादुर गुरुङ, ४४ वर्षीया मनकुमारी गुरुङ, १६ वर्षीया सुष्मा गुरुङ, ७० वर्षीय पदमबहादुर खालिङ र ६८ वर्षीया मनमाया खालिङलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

प्रधानमन्त्रीको स्थलगत अवलोकन संखुवासभामा मात्र

प्रधानमन्त्री पुष्पकमल दाहालसहितका सरकारका ३ मन्त्री, सम्बन्धित जिल्लाका सांसद र सुरक्षा अधिकारीको पहिरो तथा बाढीप्रभावित जिल्लाको सोमबार भएको स्थलगत भ्रमण खराब मौसमका कारण संखुवासभापछि टुंगिएको छ। प्रधानमन्त्री दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सहरी विकासमन्त्री सीता गुरुङ, भौतिक योजनामन्त्री प्रकाश ज्वाला, ताप्लेजुङबाट निर्वाचित सांसद योगेशकुमार भट्टराई, पाँचथरबाट निर्वाचित वसन्तकुमार नेम्बाङ, संखुवासभाबाट निर्वाचित दीपक खड्कासहित सुरक्षा अधिकारीको टोली संखुवासभापछि विराटनगर हुँदै काठमाडौं फर्किएको छ। यो टोलीले संखुवासभापछि पाँचथर र त्यसपछि ताप्लेजुङको पहिरोप्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्ने गरी कार्यतालिका बनाएको थियो। मौसममा आएको खराबीका कारण संखुवासभाबाट पाँचथर र ताप्लेजुङ नआई विराटनगर ‘डाइभर्ट’ भएको हेलिकोप्टर त्यसपछि काठमाडौं उडेको सोही टोलीमा रहेका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्रीले जानकारी दिए।

प्रकाशित: ५ असार २०८० ०१:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App